शान्ति पुरस्कार विजेता सुकीको देशमा मुस्लिममाथि नरसंहार : यो तस्विरपछि सुन्ला विश्वले ?
रखाइन – हिलोमा मुख गाडिएको अवस्थामा एउटा अबोध बालक खोलाका किनारमा ढलिरहेको छ ।
उसको नाम हो, मोहमद सोहायेत ।
१६ महिनाका यी बालक म्यान्मारको रखाइन राज्यमा भइरहेको हिंसाबाट भागेर आफ्ना आमा, काका र ३ वर्षीय दाईसँग बंगलादेश आइरहेका थिए । तर, यो यात्रा कहिलै पूरा भएन । डुबेर उनीहरुको निधन भयो ।
‘जब म यो तस्विर देख्छु, मलाई मर्न लाग्छ,’ मोहमदका पिता जाफोर आलमले सिएनएनसँग कुरा गर्दै भने ।
ठीक यस्तै तस्विर एक वर्षअघि सन् २०१५ को सेप्टेम्बरमा सार्वजनिक भएको थियो । सिरियाका एक बालक अलान कुर्दीको शव यसै गरी टर्कीको समुद्र तटमा भेटिएको थियो । आफ्नो देशमा जारी गृहयुद्धबाट भागेर आउने क्रममा उनको पनि डुबेर मृत्यु भएको थियो । उक्त तस्विर सार्वजनिक भएपछि पूरा विश्वको ध्यान तानिएको थियो ।
दुई बालक दुई भिन्न देशबाट भए पनि उनीहरुका परिवारले आफ्नो देश छोड्नु परेको कारण र नियति एकै छ ।
म्यानमारका मुस्लिम अप्संख्यक रोहिन्ग्या विश्वमा सबैभन्दा धेरै सताइएका अल्पसंख्यकहरु मध्येमा पर्दछन् । म्यानमार सरकारले उनीहरुलाई बंगलादेशबाट आएका आप्रवासी ठान्छन्, जबकी उनीहरु त्यहाँको रखाइन राज्यमा पुस्तौँदेखि बसोबास गर्दै आइरहेका छन् ।
‘हाम्रो गाउँमा हेलिकप्टरबाट गोली बर्साइयो । म्यानमारका सेनाले हामीमाथि अन्धधुन्द गोली प्रहार गरे,’ आलमले भने, ‘हामी आफ्नो घरमा बस्ने अवस्था रहेन । हामी त्यहाँबाट भाग्यौँ र जंगलमा लुकेर बस्यौँ ।’
उनले थपे, ‘मेरो हजुरवुवा र हजुरआमालाई जिउँदै जलाइयो । पूरै गाउँलाई नै सेनाले आगो लगाइदिए । केही बाँकी छाडेनन् ।’
‘रोहिन्ग्यालाई खोज्दै सेना’
हिंसाबाट बच्न आफूहरु एक गाउँबाट अर्को गाउँ भाग्दै बस्नु परेको आलम सुनाउँछन् ।
‘म ६ दिनसम्म हिँडे । चार दिनसम्म त खाना पनि खान पाइँन, उनले भने, ‘हामीले लगातार बसेको स्थान बदलिरहनु पथ्र्यो । सेना रोहिन्ग्यालाई खोज्दै आइरहेका थिए ।’
यसरी एक ठाउँबाट अर्को ठाउँ भाग्ने क्रममा आलम आफ्नो परिवारबाट छुट्टिनुपर्यो । उनी म्यान्मार र बंगलादेशको सीमामा रहेको नाफ नदीमा पुगे । आफ्नो परिवारलाई नदी वारी छाडेर त्यहाँबाट पौडेर बंगलादेश पुग्न खोज्दा बंगलादेशका माझीले फेला पारेर सीमा तर्न मद्दत गरे ।
सीमा पारी बंगलादेश पुगेपछि उनले आफ्नो परिवारलाई पनि त्यहाँ ल्याउने प्रयास शुरु गरे ।
‘मैले एक माझीलाई आफ्नो पत्नी र छोरालाई नदी पारीबाट ल्याइदिन मद्दत मागे । उनीहरु नदी पारी पर्खिरहेका थिए । उनले सहयोग गर्ने बताए,’ आलमले भने ।
‘मैले डिसेम्बर ४ मा आफ्नो परिवारलाई फोन गरे र सहयोग आउन लागेको जानकारी दिएँ,’ आलमले भने, ‘त्यही नै मेरो अन्तिम कुराकानी हुन पुग्यो । जब म मेरो पत्नीसँग कुरा गर्दै थिएँ । पछाडी मेरो छोरा अब्बा अब्बा भन्दै कराउँदै थियो ।’
फोनमा कुराकानी भएको केही घण्टापछि उनीहरुले त्यहाँबाट भाग्ने प्रयास गरे । ‘तर म्यानमारको प्रहरीले यसको सुइँको पाएपछि डुंगामा नदी तर्न खोजिरहेकाहरु माथि गोली वर्षाउन थाले,’ आलमले भने, ‘हतार–हतार माझले सबै मानिसलाई डुंगामा चढाएर त्यहाँबाट भगाउन खोजे । तर, ढुंगामा धेरै मानिस भए । त्यो पल्टियो र डुब्यो ।’
आलमले यस घटनाबारे एक दिनपछि मात्र थाहा पाए ।
‘कसैले फोन गरेर मलाई मेरो छोराको शव भेटिएको जानकारी दिए,’ उनले भने, ‘उसले मेरो मोबाइलमा मेरो छोराको फोटो पनि पठायो । म निःशब्द भएँ ।’
नदीलाई मात्र थाहा छ रोहिन्ग्याको कथा
आलमको परिवारको कथा म्यानमारबाट भागेर बंगलादेश आउने कयौँ परिवारसँग मिल्छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइज्रेसनका अनुसार पछिल्लो केही महिनामा म्यानमारबाट करिब ३४ हजार रोहिन्ग्याहरु भागेर बंगलादेश आइपुगेका छन् ।
‘सायद उक्त नदीमा कतिले ज्यान गुमाए भन्ने कुरा त्यही नदीलाई मात्र थाहा होला,’ आलमले भने ।
‘अब मसँग कोही छैन । मेरो दुई छोरा र पत्नी गुमाइसके । सबै सकियो,’ उनले भने ।
‘हामीलाई यहाँ पनि दुःख नै छ । बस्नलाई घर छैन, खानलाई खाना छैन । लामो समयदेखि क्याम्पमा बसिरहेका छौँ’ उनले भने, ‘जे होस्, यहाँ हिंसाबाट छुटकारा पाएका छौँ । सुत्नलाई टेन्ट पाएका छौँ ।’
आलम भन्छन्, ‘म्यानमारमा हुँदा कहिले मरिन्छ भन्ने लाग्थ्यो । यहाँ त्यो डर छैन ।’
सिएनएनले यो कथा प्रकाशित गरेको हो । तर, उसले आलमको कथालाई अझै स्वतन्त्र पुष्टि गर्न सकेको छैन । किनभने रखाइन राज्यमा कसैलाई जान दिइएको छैन ।
सिएनएनले यसबारे म्यानमार सरकारकी प्रवक्तालाई पत्र लेख्दा उनले आलमको बयान ‘प्रापोगान्डा’ मात्र भएको बताए ।
आय आय सोइले गत नोभेम्बर १२ मा म्यानमारको सेनाले हेलिकप्टरबाट गोली बर्साएको स्वीकार गरे पनि त्यो सर्वसाधारण भन्दा गाउँहरुमा आक्रमण गरिरहेका समूहमाथि लक्षित भएको बताइन् ।
म्यानमारको सरकारले बारम्बार रखाइन क्षेत्रमा मानवअधिकारको उल्लंघनका घटनाको खण्डन गर्दै आइरहेको छ ।
उनीहरुले गत अक्टोबर ९ मा म्यानमारको सेनामाथि आक्रमण गर्ने माथि कारवाही मात्र गरिरहेको बताइरहेका छन् ।
केही दिनअघि सुरक्षाकर्मीले रोहिन्ग्याका गाउँलेहरुलाई पिटिरहेको भिडियो सार्वजनिक भएको थियो । जसको प्रतिक्रियामा सरकारले यसबारे छानविन गर्ने बताएको थियो ।
केही बदलिएन
गत सेम्टेम्बरमा सरकारले कोफी अन्नानको नेतृत्वमा त्यस क्षेत्रमा भइरहेको घटनाको अध्ययन गर्न समिति बनाएको थियो । तर, आलम उक्त समिति देखावटी मात्र भएको बताउँछन् ।
‘त्यो समिति विश्वको आँखामा छारो हाल्न मात्र बनाइएको हो,’ उनले भने, ‘समिति कुनै गाउँको अनुगमनमा जानुअघि नै सेनाले गाउँ नै खाली बनाइसकेको हुन्छ ।’
उनले भने, ‘गत निर्वाचनमा आङ सान सुकीले जितेपछि केही परिवर्तन होला भन्ने लागेको थियो । तर, सपना र वास्तविकतामा फरक हुने रैछ । उनी शक्तिमा आए पनि केही बदलिएको छैन । हामी अझै सताइरहिएका नै छौँ ।’ ‘सुकी र उनको सेना रखाइनबाट रोहिन्ग्याको अस्तित्व समाप्त पार्न चाहन्छन् । त्यही भएर उनी रखाइनमा सेनाबाट कुनै ज्यादती नभएको भन्दैछिन्,’ उनले भने ।
एम्नेस्टी इन्टरनेसनले भने रखाइन राज्यमा भइरहेको मानवअधिकार उल्लंघनको घटनाबारे लामो रिपोर्ट प्रकाशित गरेको थियो । तर, सरकारकी प्रवक्ताले त्यसको पनि खण्डन गरिन् ।
म्यानमारकी स्टेट काउन्सिलर रहेकी सुकीले अघिल्लो महिना एसोसिएनस अफ साउथ इस्ट एसिएन नेसन (एसिएन) का विदेश मन्त्रीहरुसँग रखाइन क्षेत्रको अवस्थाबारे छलफल गरेकी थिइन् । जसमा उनले आफू त्यहाँको समस्या समाधान गर्न प्रतिबद्ध रहेको र आफ्नो पहलबाट ‘फल पाक्न’ समय लाग्ने बताएकी थिइन् ।
तर, जाफर सरकारले मागेको ‘समय’ भित्र रखाइनबाट रोहिन्ग्याको अस्तित्व समाप्त हुने बताउँछन् । ‘म विश्वलाई भन्न चाहन्छु,’ उनले भने, ‘म्यानमार सरकारलाई थप समय नदेऊ । यदी तपाइँहरुले तुरुन्तै सहयोग गर्नु भएन भने उनीहरुले रोहिन्ग्यालाई मारेर सिध्याउने छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण