बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सीआइएका पूर्व एजेन्ट जसले सद्दामलाई केरकार गरे

बिहीबार, २१ पुस २०७३, १७ : ०६
बिहीबार, २१ पुस २०७३

सन् २००३ मा इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई जब पक्राउ गरियो तब सीआइएलाई एक विशेषज्ञको आवश्यकता थियो जसले उनलाई पहिचान गर्न सकून् र सोधपुछसमेत । ती विशेषज्ञ थिए जोन निक्सन ।

निक्सनले सन् १९९८ मा सीआइएमा भर्ना हुनुभन्दा पहिलेदेखि सद्दाम हुसेनमाथि अध्ययन गरिरहेका थिए । बिबिसीको एक कार्यक्रममा उनले सद्दामलाई पहिचान गर्नका लागि आफूले के गरे त्यसबारे कुराकानी गरेका छन् ।

सिआइएमा रहँदा निक्सन संसारभरीका नेताहरुमाथि गहिरो जानकारी राख्ने काम गर्दथे ।

उनी भन्छन्, ‘जब नीति निर्माताहरु कोही व्यक्ति वा नेताका कारण संकटमा पर्छन्, तब उच्च अधिकारी केही प्रश्नसहित हामी भएको ठाउँ आउँछन् । उनीहरुले ती व्यक्ति को हुन्, आखिर उनीहरु के चाहन्छन् र उनीहरुले यस्तो किन गरिरहेका छन् भन्ने प्रश्न सोध्छन् ।’

निक्सन ‘डिब्रिफिङ द प्रसिडेन्टः द इन्टेरोगेसन अफ सद्दाम हुसेन’ किताबका लेखक पनि हुन् । उनले आफ्ना किताबमा पूर्व इराकी नेता सद्दाम हुसेन विरोधाभासले भरिएका व्यक्तिको संज्ञा दिएका छन् ।

जब अमेरिकी सैनिकले नेता सद्दाम हुसेनलाई खोजी गरिहेका थिए, तब निक्सन इराकमा थिए । सद्दाम आफ्ना गृहनगर तिकरित नजिकै कोठाजस्तो एक भूमिगत गुफामा भेटिएका थिए ।

जब सद्दाम हुसेन पक्राउ परेको खबर सार्वजनिक भयो तब अमेरिकाले पक्राउ परेका ती व्यक्ति सद्दाम नै हुन् कि होइनन् भन्ने पुष्टि गर्न चाहन्थ्यो । यो काम निक्सनलाई सुम्पिइयो ।

त्यतिबेला नक्कली सद्दाम हुसेनको बिगबिगी भएको समाचार यत्रतत्र छाइरहेको थियो । यद्यपि, सन् २०११ मा सीआइए छोडेका निक्सनलाई भने सद्दामलाई पहिचान गर्न कुनै दुविधा नभएको बताए ।

निक्सनले भने, ‘जब मैले उनीसँग कुराकानी गर्न सुरु गरें तब उनले त्यही रवैया देखाए जसको तस्विर वर्षौंदेखि मेरो टेबुलको किताबमा छरिएका थिए ।’

सद्दाम हुसेनसँग सोधपुछ गर्ने जिम्मेवारी निक्सनलाई नै दिइयो । निक्सन पहिला व्यक्ति हुन् जसले सद्दाम हुसेनसँग बिस्तारमा सोधपुछ गरे । निक्सनले थुप्रै दिनसम्म यो काम दोहोराइरहे ।

निक्सनले भने, ‘संसारका ‘मोस्ट वान्टेड’ व्यक्तिसँग सवाल जवाफ गर्दै छु भनी मैले आफूले आफैंलाई प्रेरित गरें । मलाई के नमिले जस्तो लागिरहेको थियो ।’

सद्दाम हुसेनसँग सोधपुछ गर्दै गर्दा उनलाई यी पूर्व राष्ट्रपतिमा व्यापक विरोधाभास भएको अनुभव सुनाए ।

उनले भने, ‘मैले सद्दाममा एक मानवीय पक्ष पनि देखें । अमेरिकी मिडियाले उनीबारे जुन छवी पेश गरेको छ त्यो पूर्ण रुपमा गलत थियो । उनी एक चमत्कारी व्यक्ति थिए र यस्ता व्यक्ति मेरो सामू कहिले परेको थिएन । हुनसक्छ उनी आकर्षक, राम्रो र विनम्र बनेको देखाउन चाहन्थे ।’

तर, उनको अर्को पाटो पनि थियो । निक्सनले भने, ‘कहिले काहीँ सद्दाम अशिष्ट, घमण्डी र खराब पनि देखिन्थे । उनी बेलाबेला निकै डरलाग्दा देखिन्थे ।’

‘मेरा दुई वा तीनवटा प्रश्नले उनको त्यो नराम्रो पक्ष छताछुल्ल भयो, निक्सन भन्छन्, ‘जब उनीसँग सोधपुछ गरिँदै थियो तब उनी त्यो फोहोर कोठामा निकै असंयमित देखिन्थे ।’

पहिलो भेटघाटमा निक्सनले सद्दामसँग निकै राम्रो वातावरण बनाएर कुराकानी गर्ने कोसिस गरे । निक्सनका अनुसार उनलाई महिनौंका लागि लुकाएर राखिएको थियो । उनी भन्छन्, ‘कुराकानीको सुरुवात निकै सकारात्मक थियो तर जतिजति उनीसँग कुराकानी हुन थाल्यो त्यति नै उनको व्यवहार शंकास्पद हुन थाल्यो । मैले जतिपनि मानिसलाई भेटें सद्दामजस्तो व्यक्ति कोही पनि भेटिँन ।’

सीआइएले सद्दामसँग कुराकानीको क्रममा सद्दामलाई प्रलोभन पनि देखाएको निक्सनले स्वीकार गरे । उनले भने, ‘उनको इतिहासबोध र विचार संसारको सबैभन्दा ठूलो शक्तिलाई सुनाउनका लागि रेकर्ड गराउन लागिएको भनी उनलाई अपिल गरेका थियौं ।’

‘सद्दाम हुसेनसँग सीआइएले भनेअनुसारको विशेष विषयमा कुरा गर्नुपर्दथ्यो अन्यथा उनलाई आफ्नो शर्तमा छोडिनुपर्दथ्यो । मलाई थाहा थियो मैले उनीबाट उत्तर निकाल्नुपर्ने थियो । एजेन्सीको लागि काम गर्दा सोधपुछ कसरी गर्नुपर्छ र व्यक्तिलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरा सिकाइन्छ । तर, तपाइँ निकै सतर्क रहन पनि आवश्यक छ । सही सूचना निकाल्न तपाइँले जोखिम उठाउनै पर्छ ।’

निक्सनले भने, ‘सोधपुछको क्रममा मेरो लागि सबैभन्दा महत्वपूर्ण विषय थियो जनसंहारक हतियार । अमेरिका र बेलायतले इराकसँग ठूलो परिमाणमा त्यस्तो हतियार रहेको आरोप लगाउँदै युद्ध शुरु गरेको थियो । ह्वाइट हाउस यी सबै कुरा जान्न चाहन्थ्यो । युद्धको औचित्यलाई जसरी भए पनि पुष्टि गराउन चाहन्थ्यो ।’

निक्सनले भने, ‘पूर्व इराकी नेताले देशमा परमाणु कार्यक्रमलाई वर्षौं पहिले रोकिदिएको र त्यसलाई पुनः सुचारु गर्ने कुनै अभिप्राय नभएको मैले निष्कर्ष निकालें ।’ त्यतिबेला उक्त कोठामा निक्सनसँगै पोलिग्राफर र एक अनुवादकको उपस्थिती थियो ।

उनको यो निश्कर्षलाई ‘असफलता’ को संज्ञा दिइयो । उनी र उनको साथीहरुलाई असफल भनियो । निक्सनलाई राष्ट्रपति जर्ज डब्लु बुससामु आफ्नो निश्कर्ष सुनाउने मौका कहिले दिइएन ।

पाँच वर्षपछि एफबिआईले फरक निश्कर्षसहितको प्रतिवेदन जर्ज बुसलाई बुझायो ।

निक्सन आफू बुस र सद्दाम दुवैसँग हात मिलाउने अवसर पाउने निकै कम व्यक्तिहरुमा पर्ने बताउँछन् । तर उनी बुसभन्दा सद्दामसँग हात मिलाउन पाएकोमा बढी खुसी हुने जिकिर गर्छन् ।

उनी भन्छन्, ‘बुसलाई उनका सल्लाहकारहरुले वास्तविकता भन्दा टाढा गुमराहमा राखे ।

‘मलाई लाग्थ्यो सिआइए देशको प्रमुख अंग हो । र, हामीले भनेको कुरा राष्ट्रपतिले सुन्नेछन् । तर, गुप्तचरभन्दा पनि राजनीति ठूलो कुरा हुने रहेछ ।’

सद्दाम हटाइएपछि पछिल्लो समय इराकको स्थितिप्रति आफू लज्जित भएको निक्सन बताउँछन् । उनका अनुसार सद्दामको अन्त्यपछि इराकमा के हुन्छ भन्ने कुरामा बुस सरकारले कुनै ध्यान नै दिएन । जसले गर्दा इस्लामिक स्टेट जस्ता चरमपन्थी समूहहरुको जन्म भयो ।

उनको निश्कर्ष छ, इराकमा सद्दामकै राज्य कायम भएको भए, स्थिति राम्रो हुने थियो ।

बीबीसीबाट साभार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप