बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नै गल्तीले कमजोर हुन्छ मेरुदण्ड

बुधबार, १९ माघ २०७३, ११ : १२
बुधबार, १९ माघ २०७३

आमनेपालीमा ढाड तथा कम्मर दुख्ने समस्या ठूलो जटिलताका रूपमा देखिएको पाइन्छ । सहरियाहरूको दैनिकी टेबुल वर्कमा बित्ने तथा गाउँतिरका व्यक्तिको दैनिकी शरीरले थेग्न नसक्ने भार बोक्ने कारण मेरुदण्डमा समस्या पर्ने गरेको छ । आजकाल त अल्छी जीवनशैली र खराब खानपानले पनि उमेरमै शारीरिक अशक्तता निम्त्याउने गरेको छ । त्यसो त ढाड तथा कम्मर दुख्ने ७० प्रतिशत समस्या हरेक व्यक्तिले आफैँ सचेत भएर समाधान गर्न सक्ने चिकित्सक बताउँछन् । स–साना गल्तीले अधिकांशमा यस्तो समस्या निम्तिने गरेको बताउँछन् प्रा.डा. अशोकरत्न बज्राचार्यः

१ ढाड दुख्ने समस्याको प्रमुख कारणमध्ये मोटोपन एक हो । अस्वाभाविक मोटोपनले मेरुदण्ड कमजोर बनाउनमा भूमिका खेल्छ । अनावश्यक मोटोपनले शरीरलाई अतिरिक्त भार दिन्छ र ढाड तथा कम्मर दुख्ने कारण बनिदिन्छ । मोटा व्यक्तिमा ढाड दुख्ने कारण यही हो । त्यसैले मोटोपन घटाउनुहोस् । बोसोयुक्त खानामा नियन्त्रण गरेर र नियमित व्यायाम गरेर मोटोपन घटाउन सकिन्छ । तर, मोटोपन घटाउने नाममा अस्वाभाविक खाना घटाउने तथा शरीरमा पीडा हुने गरी कसरत गर्नु पनि गलत हुन्छ । यही काम ढाड दुख्ने अर्को कारण बन्न पनि सक्छ ।

२ काम गर्दा, उभिँदा, बस्दा र सुत्दाका आसन अधिकांशको गलत हुन्छ । यही गलत आसन नै ढाड तथा कम्मर दुख्ने कारण बन्ने गर्छन् । बस्दा र उभिँदा ढाड कुप्रो गरेर बस्नु मेरुदण्ड कमजोर हुने महत्वपूर्ण कारण हो । यो आसनमा बस्दा या उभिँदा नसामा सहज तरिकाले रक्तसञ्चालन हुन पाउ“दैन र ढाड दुख्छ । त्यसैले जहिल्यै सीधा ठाडो भएर बस्ने कुरामा सचेत हुनुपर्छ । त्यसैगरी, उत्तानो परेर सुत्ने बानी छ भने कम्मरपछाडि सानो तकिया राख्नु राम्रो हुन्छ । तकियाको सहयोगले ढाड कुप्रो पर्न दिँदैन र दुख्ने सम्भावना रह“दैन ।

३ लामो समयसम्म एकै ठाउँमा बसिरहँदा गोडाको बोझ कम्मरले व्यहोर्नुपर्छ र यही भारले कम्मर दुख्ने समस्या निम्तिन्छ । यस्तो अवस्थामा वेला–वेला बसिरहेको आसन परिवर्तन गर्नुपर्छ । उठेर यताउति जिउ तंग्य्राउनु राम्रो हुन्छ । लामो समयसम्म एकै ठाउँमा बसिरहनुपर्ने काम छ भने केही चिजमा अडेस लगाएर बस्ने तथा सिरानीले ढाडमा सहायता दिनु उत्तम हुन्छ ।

४ सुत्ने ओछ्यान सही नहुँदा पनि ढाड दुख्ने समस्या निम्तिन्छ । धेरै नरम या धेरै कडा दुवैखाले ओछ्यान सुत्नका लागि राम्रा मानिँदैनन् । यस्ता ओछ्यानमा सुत्दा टाउकोदेखि पैतालासम्मै असहज महसुस हुन्छ र ढाड तथा कम्मर दुख्ने समस्या हुन्छ ।

५ शारीरिक गतिविधिले पनि ढाड र कम्मर दुख्ने समस्या बढाउँछ । अल्छी जीवनशैली, लामो दूरीमा निरन्तर सवारी चलाउनु, निहुरिएर टाढासम्म भारी बोक्नु, जिउ बटारेर वजन उठाउनु पनि मेरुदण्ड कमजोर बनाउने कारण बन्छन् । दैनिक यस्ता शारीरिक क्रियाकलाप गर्दा सचेत हुनुपर्छ । निहुरिँदा ढाड कुप्य्राएर होइन, घुँडा खुम्च्याएर निहुरिनुपर्छ । गाडी चलाउँदा घुँडा नितम्बको उचाइमा राख्दा मेरुदण्डमा असर पर्दैन ।

६हरेक काम गर्दा शरीरको पूरै भार पैतालामार्फत जमिनमा पर्छ । यसैले गोडाको सहजताले शारीरिक सहजता पैदा गर्ने हो । गोडामा पीडा हुनु भनेको मुख्यगरी मेरुदण्डमा असर पर्नु हो । त्यसैले शारीरिक भारलाई सहज ढंगले अड्याउन पैतालामा लगाउने जुत्ता आरामदायी हुनुपर्छ । हिँड्दा, दौडिँदा र खेल्दा लगाउने जुत्ताको तलुवा बाक्लो हुनुपर्छ भने जुत्ता लचकदार खालको हुनुपर्छ । हेर्दा मात्रै राम्रो लाग्ने जुत्ताले मेरुदण्ड कमजोर बनाउन भूमिका खेल्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप