शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

किन देखिन्छ शिशुमा पहेँलोपना ?

आइतबार, ०८ फागुन २०७३, १२ : २९
आइतबार, ०८ फागुन २०७३
डा. सुनीलराजा मानन्धर बालरोग विशेषज्ञ करिब ६० प्रतिशत नवजात शिशुको शरीरमा जन्मिएको २४ घन्टादेखि १४ दिनसम्म पहेँलोपना देखिन्छ । यो आफैँ आउने र १४ दिनसम्ममा आफैँ हराउने हुन्छ । यसलाई नवजात शिशुमा हुने पहेँलोपना भनिन्छ । जन्मँदा प्रायः सबै बच्चाको आँखामा पहेँलोपना देखिएको हुन्छ । तर, आँखाका साथै हत्केला र पैतालामा पनि पहेँलोपना देखियो भने जटिल हुन सक्छ । यस्तो पहेँलोपना सामान्य र जटिल गरी दुई प्रकारका हुन्छन् ।

सामान्य पहेँलोपना (फिजिओलोजिस)

सामान्य किसिमको पहेँलोपना शिशु जन्मिएको २४ घन्टादेखि १४ दिनसम्ममा आफैँ ठीक हुन्छ । यस्तो समस्या देखिएमा आमाको दूध प्रशस्त खुवाउनुपर्छ । समय नपुगी जन्मिएको बच्चामा कलेजो पनि परिपक्व भइसकेको हुँदैन । जसले गर्दा ब्लुरुबिन नियन्त्रण गर्न सक्दैन । ब्लुरुबिनको मात्रा बढ्दै गएमा पहेँलोपना बढ्दै जान्छ । बच्चाको कलेजोको वृद्धिस“गै रक्तकोषको सन्तुलन मिल्दै जान्छ र ब्लुरुबिन पनि कम भएर आफैँ ठीक हुन्छ । यस्तो अवस्थामा कुनै औषधि खुवाउनु आवश्यक छैन । तर, परीक्षण गर्दा रगतमा १५ मिलिग्राम प्रतिडेसिलिटर ब्लुरुबिनको मात्रा पाइएमा स्वास्थ्य संस्थामा लगी उपचार गर्नुपर्छ ।

असामान्य पहेँलोपना

यस्तो समस्या आमा र बच्चाको रक्त समूह नमिल्दा देखिन्छ । यस्तो समस्या भए बच्चा जन्मेको पहिलो २४ घन्टाभित्र थाहा हुन्छ । अर्को कारण भनेको जी सिक्स पिडी डिफिसेन्सी हो । यो रक्तकोषमा हुने संक्रमणको कारणले हुन्छ । यो समस्या भएकाहरूमा रक्तकोष नै नासिन्छ, शरीर पहेँलो देखिन्छ । बच्चामा विभिन्न किसिमको संक्रमणका कारणले पनि असामान्य किसिमको पहेँलोपना हुन सक्छ । यस्तो संक्रमण हुँदा बच्चालाई ज्वरो आउने, सुस्त हुने र आमाको दूध नचुस्ने हुन्छ । बच्चाको कुनै पनि भागमा रगत जमेमा पनि यस्तो समस्या हुन्छ । विशेषगरी, टाउकोमा रगत जम्ने (केफाइलोहोमोटोमिया) हुँदा यस्तो जोखिम बढी हुन्छ । प्रायः बच्चाको गिदी र टाउकाको बाहिर रगत जम्ने सम्भावना बढी हुन्छ । कुनै बच्चा भ्याकुम गरी निकालिएको छ, या लामो समय बेथा लागेर जन्मिएको छ भने टाउकोमा रगत जम्ने सम्भावना हुन्छ । जन्मँदा टाउकोमा कुनै किसिमको असर परेर रगत जमेमा आरबिसी मर्न गई पहेँलोपना देखिन्छ ।

रोकथाम/उपचार सामान्य

—आमाको दूध निरन्तर खुवाउने । —बिहान १० देखि १२ को बीचमा नांगो पारेर घाममा राख्ने । —असामान्य —अस्पतालमा नीलो लाइटले बच्चालाई सेकेर फोटोथेरापी गर्नुपर्छ । कहिलेकाहीँ बच्चाको रगत पूरै फेर्नुपर्छ । र, त्यसरी फेर्दा बच्चाको शरीरमा जति रगत छ, त्यसको दुईगुना रगत चाहिन्छ । त्यो रगत बच्चाको शरीरमा तीन महिनासम्म हुन्छ । त्यसपछि उसको आफ्नै रगत आउन थाल्छ । यो किन फेर्नु आवश्यक छ भने बच्चाको पहेँलोपना भएको रगत चाँडै दिमागमा रहन्छ । १५ एमजीभन्दा बढी ब्लुरुबिन भयो भने त्यो दिमागमा जम्छ ।  त्यसले कर्निटेरस (सुस्त हुने, लाटो हुने, चाँडो नहिँड्ने, जिउ अररो पार्ने) हुने सम्भावना हुन्छ ।

रोकथाम

—आमा र बच्चाको रक्तसमूह थाहा पाउने । —लामो सुत्केरी व्यथा नलगाउने । —समय–समयमा सुत्केरी —जाँच गराउने । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप