बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

खासमा पैदलयात्रीको हिँड्ने साइड कता ?

मङ्गलबार, १० फागुन २०७३, ११ : ५१
मङ्गलबार, १० फागुन २०७३
विष्णु थापा, ट्राफिक प्रहरी नायब निरीक्षक धेरै पैदलयात्री सडकमा हिँड्ने क्रममा गाडीजस्तै बायाँ साइडबाट हिँड्नुपर्छ भन्ने मान्यता राख्छन् । यो बिल्कुल गलत तथा खतरनाक पनि हो । यसरी व्यस्त सडकको बायाँ दिशाबाट हिँड्दा सवारीसाधन पनि सोही दिशामा पछाडिबाट आइरहेको हुन्छ । जसले गर्दा सवारीसाधनको अवस्था (चालकको नियन्त्रणबाहिर गएको, लापरबाहीपूर्वक सवारीसाधन चलाएको) देख्न सकिँदैन । यस्तो अवस्थामा पछाडिबाट मानिसलाई सवारीसाधनले ठक्कर दिने सम्भावना बढी हुन्छ । त्यसैले सडकमा यात्रा गर्दैगर्दा यस्ता विषयमा विचार पुर्‍याउनुपर्छः —फुटपाथ भएको सडक भएमा आफूलाई जुन साइडमा हिँड्न सजिलो र उपयुक्त हुन्छ सोही साइडमा हिँड्दा हुन्छ । फुटपाथ छुट्याएको स्थानमा सवारीसाधन नआउने हुनाले खतरामुक्त भइन्छ । —फुटपाथ नभएको स्थानमा भने पैदलयात्रु पनि सवारीसाधनसँगै सडकबाट नै हिँड्नुपर्ने बाध्यता हुन्छ । त्यसैले बाटोमा हिँड्दा सधैँ गाडी गुड्नेभन्दा विपरीत तथा सडकको दायाँतर्फबाट हिँड्नुपर्छ । —दायाँ साइडबाट हिँड्दा सवारीसाधन अगाडिबाट आएको देखिन्छ । जसले गर्दा विपरीत दिशाबाट आएको सवारीसाधन अनियन्त्रित, तीव्रगति या लापरबाहीपूर्वक चलाएको देखिएमा सडकयात्रुले तुरुन्त निर्णय लिएर सुरक्षित हुन सक्छन् । —यदि बायाँ साइडबाट सडकमा हिँडियो भने सवारीसाधन सधैँ पछाडिबाट मात्रै आउँछ । यस्तो अवस्थामा सवारीसाधनको वस्तुस्थिति पनि थाहा हँुदैन । जसले गर्दा यात्रु सजग हुन पनि पाउँदैन । सवारीले ठक्कर दिने सम्भावना बढी हुन्छ । —गन्तव्य तय गर्दा बाटो पार गर्नुपर्ने अवस्थामा जेब्रा क्रसिङ, सब–वे, आकाशेपुल, टेलिकन लाइट भएका स्थानबाट मात्र बाटो काट्नुपर्छ । उल्लेखित पूर्वाधार नभएका स्थानहरूमा भने ग्रिन क्रस कोडको सिद्धान्त प्रयोग गर्न सकिन्छ । ग्रिन क्रस कोडअन्तर्गत चारवटा काम गर्नुपर्छ ।

के हो ग्रिन क्रस कोड

स्टप (रोकिने)

भन्नाले सबैभन्दा पहिला सडकको किनारामा उभिने ।

लुक (हेर्ने)

त्यसपछि दायाँतर्फ हेर्ने । सवारीसाधन नजिकै आएको वा तीव्र गतिमा भएमा पहिला सवारीसाधनलाई जान दिनुपर्छ ।

लिसन (सुन्ने)

सवारीसाधन गयो भन्दैमा तत्कालै बाटो काट्नुहुँदैन । सडकमा आकस्मिक सेवाका सवारीसाधनहरू जस्तैः एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन साइरन बजाउँदै तीव्र गतिमा आएका हुन सक्छन् । यदि त्यस्तो सवारी देखिएमा पहिलो प्राथमिकता दिनुपर्छ ।

गो (जाने)

यदि सवारीसाधनजति सबै गइसकेपछि र अन्य सवारी पनि धेरै टाढा छन् भने बाटो पार गर्न सकिन्छ । याद राख्नुहोस् यसरी बाटो पार गर्ने क्रममा सर्वप्रथम दायाँतर्फको हात स्पष्ट देखिने गरी उठाउनुपर्छ । सडकको बीच भागमा पुगेपछि फेरि बायाँतर्फको हात उठाएर अगाडि बढ्नुपर्छ । नयाँ पत्रिकाबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप