शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता १५ लाख

७५ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या ३ पुग्यो
सोमबार, १८ पुस २०७९, ०७ : ०९
सोमबार, १८ पुस २०७९

नेपालमा अन्तर्राष्ट्रिय उडान सुरु करिब भएको ७४ वर्षपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । सन् १९४९ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) सञ्चालनमा आएको थियो । त्यसको करिब ७५ वर्षपछि नेपालमा विमानस्थलको सङ्ख्या ३ पुगेको हो । 

नेपालमा र्राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानको भार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै थेग्दै आइरहेको थियो । अब भने त्रिभुवन विमानस्थलसहित नेपालमा लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत सञ्चालनमा आइसकेका छन् । बुद्ध जयन्तीको अवसर पारेर वैशाखदेखि लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकोमा नयाँ वर्षको अवसर पारेर पुसदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

अर्थात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ९ महिना भित्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै औपचारिकरुपमा यस विमानस्थलबाट उडान सुरु भइसकेको छ । यतिबेला दिउँसोको समयमा मात्रै उडान भर्न मिल्ने यस अन्तर्राष्ट्रिय विमानस्थलबाट यही फेब्रुअरी २३ देखि दैनिक १८ घण्टासम्म उडान भर्न र अवतरण गर्न मिल्ने नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ ।

विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै विगत ५० वर्षअघिदेखि गण्डकीवासीले देखेको सपना साकार भएको बताए । उनले गण्डकीवासीको सपना साकार भएसँगै यस क्षेत्रको विकास र समृद्धिको आधार समेत तयार भएको बताए । भने, ‘विगत लामो समयदेखि प्रतीक्षामा रहेको यस विमानस्थल आइतबारदेखि सञ्चालनमा आएको छ । अब पोखरा सिधै विश्वसँग जोडिएको छ र विकास तथा समृद्धिको आधार खुलेको छ ।’ 

प्रधानमन्त्री प्रचण्डले थपे, ‘पहिलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ७ दशकपछि तेस्रो विमानस्थल सञ्चालनमा आएको छ । अब छिट्टै चौथो विमानस्थलकारुपमा निजगढको काम अघि बढाउन पहल गर्नेछु ।’ प्रचण्डले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखराको विकासको ढोका खोलिएकाले निजगढमा समेत विमानस्थल निर्माण भएपछि त्यस क्षेत्रमा समृद्धि र विकासको काम तीव्रताको साथ अघि बढ्ने बताए ।

यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरा पर्यटन केन्द्रकारुपमा विकास हुने बताए । उनले पोखरा सिधै विश्वसँग जोडिएकाले अब यस क्षेत्रलाई नेपालका विभिन्न भूभागसँग सडक मार्गबाट समेत जोड्न सरकारले पहल थाल्ने बताए । भने, ‘हवाई माध्यमबाट संसारसँग जोडिएको पोखरालाई भावी दिनमा सडकमार्फत चितवन र लुम्बिनी लगायतका अन्य भूभागसँग जोड्ने आयोजनाहरू अघि बढ्दै छन् । अब पोखरा विमानस्थल सञ्चालनमा आएसँगै गण्डकी प्रदेशसँगै सिंगो देश आर्थिक विकासमा अघि बढ्ने छ ।’ यस्तै, अर्थमन्त्री पौडेलले पोखरा विमानस्थललाई पूर्णरुपमा चलाउनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको समेत बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय र आन्तरिक हवाई यात्रुको चाप कम हुने प्राधिकरणको आङ्कलन छ । प्राधिकरणका अनुसार यतिबेला नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी वार्षिक सरदर ९० लाख हवाई यात्रु छन् । यसमध्ये अन्तर्राष्ट्रियतर्फ ४४ लाखले यात्रा गरेका छन् भने आन्तरिकतर्फ ५० लाख हाराहारीले हवाई माध्यमबाट यात्रा गरेका छन् । र, नेपालमा हवाई यात्रुको वृद्धिदर वार्षिक सरदर १० प्रतिशतका दरले बढिरहेको छ । यसमा अन्तर्राष्ट्रियतर्फ १० प्रतिशत र आन्तरिकतर्फ २० प्रतिशतको वृद्धि भइरहेको छ ।

‘यही दरमा नेपालको हवाई यात्रु बढ्दै गएमा अबको २० वर्षपछि नेपाली आकाश थप १ करोड ८० लाख यात्रु थपिन्छन्,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘अहिले नै ८०–९० लाख जनाले हवाई माध्यमबाट यात्रा गर्छन् । यसमध्ये अन्तर्राष्ट्रियतर्फको ४४ लाखको भार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक्लैले सम्हाल्छ ।’ यस्तै, गत आर्थिक वर्ष २०७८÷७९ अनुसार आन्तरिकतर्फको ४०–५० लाखमध्ये ३३ लाख यात्रु त्रिभुवन विमानस्थललाई नै आधार बनाएर ओहोरदोहोर गर्छन् । यस आधारमा वार्षिक १० प्रतिशतको वृद्धिदर राख्दा पनि अबको २० वर्षपछि १ करोड ८० लाख हवाई यात्रु थपिने निरौलाको भनाइ छ ।

यसमध्ये, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय गरेर अधिकतम वार्षिक यात्रु व्यवस्थापन क्षमता ९० लाख हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वार्षिक ९० लाखभन्दा धेरै बढाउन सकिँदैन । यसै गरी, वैशाखदेखि सञ्चालनमा आइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम क्षमता वार्षिक ३० लाख मात्रै हो । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता १५ लाख हो । यी तीनै वटा विमानस्थलको कूल क्षमता जोड्दा वार्षिक १ करोड ३५ लाख यात्रुको चाप धान्न सक्छन् ।

आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको ऋण र अनुदानमा निर्माण भएको हो । करिब २२ अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो विमानस्थलमा चीन सरकारले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको छ । आइतबारदेखि विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने सरोकारवालाहरूको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप