शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

भुवन केसीलाई प्रश्न : तपाईंका निर्णय किन सधैँ विवादमा पर्छ ?

‘नीति, नियम फलो नगर्नेले मेरो विरोध गरिरहेका छन्’
मङ्गलबार, १९ पुस २०७९, ११ : ०६
मङ्गलबार, १९ पुस २०७९

सधैँ फिट र चिटिक्क भएर हिँड्ने अभिनेता भुवन केसीको ‘लाइफ स्टाइल’ लोभलाग्दो छ । सोही कारण पनि फिल्म क्षेत्रमा उनलाई सदाबहार अभिनेताको रूपमा चिनिन्छ । भुवन भनेपछि अहिले पनि युवतीहरू भुतुक्कै हुन्छन् । 

केसी अहिले चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको नेतृत्वमा छन् । ६ महिना अगाडि बोर्ड अध्यक्ष बनेका उनको बोर्ड यात्रा सुरुको समयदेखि नै कुनै न कुनै कारणले विवादित बन्दै आएको छ । 

पछिल्लो समय उनी रिलिजको ७ दिन पहिल्यै फिल्म सेन्सर गर्नुपर्ने नियमले विवादमा फसेका थिए । उक्त नियममा केही संशोधन गर्दै विवाद छिट्टै मिलाएका थिए । प्रस्तुत छ, बोर्ड अध्यक्ष भएपछिका विवाद र बोर्डमा गरेको गतिविधिको विषयमा केन्द्रित रही रातोपाटीले भुवन केसीसँग गरेको छोटो कुराकानी: 

चलचित्र विकास बोर्डमा तपाईं आएपछि भएका निर्णय किन सधैँ विवादमा पर्छ ?

– म बोर्डमा जागिर मात्र खाने काम गरेको भए सबैको हाईहाई हुन्थे, मैले त्यो गरिनँ । म आएपछि नियम, कानुन मिचेर बोर्डबाट कुनै पनि निर्णय भएको छैन । जति काम भएका छन्, सबै नियम र कानुनमा रहेर भएको छ । त्यसलाई पालना गराउँदा विवाद निम्त्याएका हुन् । नीति, नियम फलो नगर्नेले अप्ठ्यारो पर्‍यो भनेर मेरो विरोध गरेका हुन् ।

रिलिजको ७ दिन पहिले फिल्म सेन्सर गर्नुपर्ने नियम ल्याएको केही दिनमै किन पछि हट्नुभयो ?

–नियमबाट पछि हटेको होइन । बोर्ड सबै चलचित्रकर्मीको अभिभावक संस्था हो । यसले सबैलाई माया गर्नुपर्छ । भर्खरको फिल्म रिलिजको ७ दिन पहिले सेन्सर गर्नुपर्ने नियमले चलचित्र संघले हामीलाई केही अप्ठ्यारो पर्‍यो । अलिकति सहजीकरण गरिदिनुपर्‍यो भनेकोले केही परिमार्जन गर्दै ४ दिनमा झारेका हौँ । यो विषयमा हामी आफ्नो निर्णयबाट पछि हटेको भन्न मिल्दैन । 

हामीले लगाएको ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियम एकदमै राम्रो थियो । यो नियमको चलचित्र संघबाहेक सबै संघ संस्थाले समर्थन गरेका थिए ।  यो नियम स्वदेशी र विदेशी सबै फिल्मका लागि थियो । 

के यो नियम आवश्यक थियो त ?

– सेन्सर समय नहुँदा कतिपय फिल्म सेन्सर नहुँदा नहुँदै हलमा लगाउनुपर्ने अवस्था आयो । त्यसमा राष्ट्र, राष्ट्रियतामाथि आघात हुने खालको भए के गर्ने ? भन्ने कुरोपनि सबैबाट उठेको विषय हो । 

फिल्मको सेन्सर विकास बोर्डले गर्ने होइन, सेन्सर बोर्डले गर्ने हो । विकास बोर्डले सेन्सर सिफारिस मात्र गर्छ ।सेन्सरका कारणले हलमा फिल्म नरोकियोस् भनेर हामीले नियम ल्याएका हौ । हलमा टिकट काटेपछि फिल्म हेर्न नपाउँदा दर्शक तोडफोडमा उत्रिएलान् । त्यो अवस्था आउन नदिन पनि बोर्ड जिम्मेवार बनेको हो ।

अर्को कुरो हरेक फिल्मले सेन्सरका लागि पहिले स्क्रिप्ट दिनुपर्छ । त्यो स्क्रिप्ट अध्ययनका लागि ४÷५ दिन त लाग्छ नि । यो हिसाबले पनि एक साता अगाडि सेन्सर गर्नुपर्ने निर्णय हुनु स्वाभाविक र जायज हो । यो नियमले दीर्घकालीन रूपमा हामी सबैलाई राम्रो गर्छ । 

भोलिको दिनमा प्रचार भैसकेको फिल्म नलाग्ने, राष्ट्र, राष्ट्रियताका मुद्दाले विवाद उब्जने विषयमा समयमै फिल्म सेन्सर गर्नु भनेको गलत हो र ? नियम बनाउँदा हामीलाई यो कुरो आउँछ भन्ने थाहा थियो । 

चलचित्र विकास बोर्डले सबैको हितका लागि काम गर्ने हो । राम्रोको लागि निर्णय गर्ने हो, कसैलाई बिगार्न होइन । कहिलेकाहीँ राम्रो सोचेर काम गर्दा कसैलाई अप्ठ्यारो पर्न सक्छ । त्यो समय निर्णय सच्याउन हिच्किचाउनु हुँदैन ।

नियम ल्याउनु पूर्व छलफल गर्नुपथ्र्याे कि ?

– चलचित्र विकास बोर्डको बोर्ड मिटिङले पास गरेको कुरो हो । त्यो अध्यक्ष एक्लैले लगाएको नियम होइन । चलचित्रसम्बन्धी सबै संस्थाले नियमको स्वागत गर्दै सबैको हितमा रहेको भनेका थिए । यसले नेपाली फिल्मलाई राम्रो गथ्र्याे । यो नियमले विदेशी फिल्म कम भित्रिन्थ्यो । धेरैको सुझावअनुसारै नियम बनेको थियो ।

चलचित्र सम्बन्धी धेरै संस्थाले स्वागत गरेको नियम, एउटाले विरोध गर्दैमा कि परिमार्जन गर्नुभयो नि ?

– यो कुरो सही हो । तर मैले पहिले पनि भने कि चलचित्र विकास बोर्ड चलचित्रसँंग सम्बन्धित सबैको अभिभावक हो । त्यसैले कसैलाई अप्ठ्यारो नपरोस् भनेर हामीले नियममा केही परिमार्जन गरेका हौ ।

यसरी निर्णयबाटपछि हट्दा बोर्डको गरिमामा प्रश्न उठ्दैन र ?

– चलचित्र विकास बोर्डले सबैको हितका लागि काम गर्ने हो । राम्रोको लागि निर्णय गर्ने हो, कसैलाई बिगार्न होइन । कहिलेकाहीँ राम्रो सोचेर काम गर्दा कसैलाई अप्ठ्यारो पर्न सक्छ । त्यो समय निर्णय सच्याउन हिच्किचाउनु हुँदैन । चलचित्रसम्बन्धी धेरै संस्था छन् । एउटाको राम्रो गर्दा अर्कोलाई मर्का पनि पार्नु हँुदैन । भोलिका दिनमा पनि अहिलेका निर्णयले अप्ठ्यारो पर्छ भने फुकाउनुपर्छ । कुनै पनि परिवर्तन राम्रो लागि गरिन्छ भने त्यसले कसैको गरिमामा असर पर्दैन ।

तपाईं बोर्डमा आएको ६ महिना बित्दा पनि फिल्मकर्मीले खासै काम भएको महसुस गर्न नपाएको गुनासो गरेका छन् नि ?

– म बोर्डमा आएदेखि अहिलेसम्म त्यत्तिकै बसेको छैन । थुप्रै काम भएका छन् । बोर्डका आफ्नै नियम कानुन, क्षेत्राधिकार छन् । धेरै कुरो चाहेर पनि गर्न नसकिने अवस्था छ । केही गर्नुपर्‍यो भने मन्त्रालय लगेर विभिन्न निर्णय गराउनुपर्ने हुन्छ । चलचित्रकर्मीका बोर्डबाट धेरै अपेक्षा छन् । केही कुरो गर्न मन्त्रिपरिषद्को निर्णय गर्नुपर्छ । त्यसमा बोर्डको स्वायतत्तादेखि धेरै विषय छन् ।

विकास बोर्ड कला क्षेत्रको एउटा अभिभावक हो । यो ठाउँमा कुनै पनि कलाकारले आउने चाहना राख्नु स्वाभाविक हो । त्यसका लागि प्रक्रियामा लाग्नु सबैको अधिकारको कुरो हो । त्यसको म सम्मान गर्छु । 

के के काम भए भन्नुस् न त ?

– म आएपछि बोर्डबाट बाहिर देखिने भन्दा भित्री काम धेरै भएको छ । जसमा चलचित्रकर्मीको विभिन्न समस्याको विषयमा दीर्घकालीन योजनाहरु बनाएर मन्त्रालय पठाउनेदेखि दोलखा, काभ्रे, सुर्खेतलगायत स्थानमा स्टुडियो निर्माण प्रक्रिया अगाडि बढेका छन् । दोलखाको त हामीले भ्रमण समेत गरिसकेका छौ ।

नेपाली फिल्मलाई विदेशमा कसरी लैजाने, फिल्म हल कसरी व्यवस्थित गर्ने, निर्माता र हलको दूरी कसरी घटाउने, निर्माताको लगानी कसरी सुरक्षित गर्ने, हल व्यवस्थापनका रियलटायम बक्स अफिस, राजस्व सङ्कलनमा व्यवस्था, हलको मापदण्ड, कलाकारको दुर्घटना, सुरक्षित बुढ्यौली जीवन, स्वास्थ्य बीमा, पेन्सन, नेपाली फिल्मलाई विदेशमा कसरी लैजाने, सुटिङ, पोष्टप्रोडक्सनलगायत धेरै विषयमा काम भएको छ ।

यसको अलावा विदेशी फिल्म सुटिङमा आउँदा हामीले दिने सुविधा, प्रविधि दिन र विदेशी रकम आम्दानी गर्नसमेत काम गरिरहेका छौ । फिल्मको साइबर सेक्युरिटी, फिल्म फेस्टिभलमा पनि काम गरिरहेका छौ । अहिले मेरो काम बाहिर धेरै नआएकोले नदेखिएको हो, सबै बिस्तारै देखिनेछ । 

तपाईंको कार्यकाल सकिने समयसम्म नेपाली फिल्म क्षेत्रले एउटा नयाँ युग महसुस गर्न पाउँछ त ?

– हामीले जानेको र बुझेको कुरो गर्नुपर्छ भनेर बोर्डमार्फत् मन्त्रालय पठाएका छौ । मैले गर्न आँटेको सबै काम पुरा भयो भने मेरो कार्यकाल निश्चय पनि नेपाली फिल्मका लागि स्वर्ण युग हुनेछ । त्यसका लागि सरकारले पनि सपोर्ट गर्छ भन्ने आस लिएको छु ।

कलाकर्मीले बोर्डको नेतृत्व गरिरहँदा कलाकर्मीबाटै विरोध सुनिन्छ, किन ?

– विकास बोर्ड कला क्षेत्रको एउटा अभिभावक हो । यो ठाउँमा कुनै पनि कलाकारले आउने चाहना राख्नु स्वाभाविक हो । त्यसका लागि प्रक्रियामा लाग्नु सबैको अधिकारको कुरो हो । त्यसको म सम्मान गर्छु । 

मैले पनि ४० वर्ष कलाक्षेत्रमा बिताएँ, पुरै जीवन यसैमा समर्पित गरेको व्यक्ति हो । एक व्यक्ति नियुक्त भएपछि सबैले सहयोग गर्नु कर्तब्य पनि हो । म अध्यक्ष नभएर जो आएको भए पनि नतमस्तक भएर सहयोग गर्थे, एकताको सन्देश दिन्थे । विडम्बना केही साथीहरूले मेरो विरोध गरेका हुन् । त्यसको कुनै तुक छैन ।

विकास बोर्डलाई स्वायत्तता दिलाउन सक्नुहुन्छ त ?

– बोर्ड स्वायत्तताको कुरो धेरै पहिलेदेखि नै उठेको हो । बोर्ड स्वायत्त भयो भने धेरै काम गर्न सकिन्थ्यो । विभिन्न काममा एक्सन लिन सजिलो हुन्थ्यो । हलवाल, फिल्मकर्मी, कलाकार सबैको लागि उपयुक्त काम गर्न सकिन्थ्यो । हामी अन्य सरकारी निकायजस्तै एक्सनमा जान सक्थ्यौ ।

हामीसँग काम धेरै छ, अधिकार छैन । थोरै अधिकारमा काम गर्नुपर्ने भएकोले हरेक काम गर्दा मन्त्रालयको चक्कर लगाउनुपर्ने बाध्यता छ । 

म अगाडिका अध्यक्षले पनि बोर्ड स्वायत्तताका लागि पहल गरेका हुन्, म पनि गर्छु । यो कुरो सरकारले बुझ्नुपर्छ । बोर्ड स्वायत्त भयो भने नेपाली फिल्म उद्योगको रातारात विकास हुन्छ । नेपाली कलाकर्मीको भविष्य उज्ज्वल हुन्छ । नेपाली कलाकारले देश छोडेर बाहिर जानपर्दैन ।

तपाईं निर्माता, निर्देशक, कलाकार पनि भएको हिसाबले  फिल्मको बिग्रँदो अवस्थाको साक्षी हुनुहुन्छ । यस विषयमा केही सोच्नु भएको छ कि ?

– कुनै पनि चलचित्र राम्रो बन्न खर्च धेरै लाग्छ । तर हाम्रो फिल्मको बजार सानो छ । बजारको हिसाबले हामीले पहिले ६० देखि ७० लाख र अहिले डेढ देखि २ करोडसम्म बजेटमा फिल्म बनाउनुपर्छ । त्यसमा हामी टेक्निकल रूपमा पनि सबल बन्नुपर्छ र दर्शकको रुचिमा पनि ध्यान दिनुपर्छ । यो नै हाम्रो अग्निपरीक्षा हो । यति थोरै पैसामा कसरी फिल्म निर्माण भएका छन्, बाहिर मानिस अचम्मित छन् । 

थोरै पैसामा केही मौलिक चलचित्र बनेको छ । त्यसलाई हामीले स्वीकार्नु पर्छ । सधैँ यसमा रमाएर पनि भएन । हामीले राम्रो फिल्म बनाएर अन्तर्राष्ट्रिय फिल्मसँग प्रतिस्पर्धा गर्ने कहिले ?  त्यसका लागि हामीले माहौल बनाउने, टेक्निकल टिमलाई प्रशिक्षण लिन पठाउने लगायतका क्रियाकलाप गर्नुपर्छ । त्यसपछि विदेशी भन्दा हाम्रो फिल्म अगाडि बढ्न सरकारले, फिल्म हलले र दर्शकले प्राथमिकता दिनुभयो भने यसको मार्केट बढ्दै जान्छ । जति मार्केट बढ्दै गयो फिल्म राम्रो र स्तरीय हुन्छ ।

निश्चय पनि फिल्मकर्मीले मबाट धेरै अपेक्षा गरेका छन् । मेरो पुरै जीवन फिल्म क्षेत्रमा बितेकोले फिल्मकर्मी मात्र होइन, सर्वसाधारणको पनि भुवन केसीले बुझेको र जानेको व्यक्ति छ । केही गर्छ भनेर भन्ने गरेका छन् ।

भर्खर सरकारको नेतृत्व परिवर्तन भयो । नयाँ सरकारमा तपाईंलाई काम गर्न अप्ठ्यारो पर्छ कि ?

– सरकार परिवर्तनलाई मैले सहज तवरबाट लिएको छु । मलाई लाग्छ, सरकारको नेतृत्व परिवर्तनले मेरो काममा अप्ठ्यारो पर्दैन । किनभने जुनै पार्टीको नेतृत्व सरकारमा भए पनि फिल्म क्षेत्रलाई हेर्ने दृष्टिकोण सबैको राम्रो छ । 

फिल्मलाई माया गर्ने, फिल्म बुझेको र यो क्षेत्रलाई अगाडि बढाउँछु भनेर आएको सरकारबाट म जतिको मानिसलाई सपोर्ट हुन्छ र गर्नु हुन्छ ।

एउटा सुपरस्टार बोर्डमा रहँदा फिल्मकर्मीको अपेक्षा धेरै हुन्छ । यो कुरोले कतिको प्रेसर गर्छ ?

– निश्चय पनि फिल्मकर्मीले मबाट धेरै अपेक्षा गरेका छन् । मेरो पुरै जीवन फिल्म क्षेत्रमा बितेकोले फिल्मकर्मी मात्र होइन, सर्वसाधारणको पनि भुवन केसीले बुझेको र जानेको व्यक्ति छ । केही गर्छ भनेर भन्ने गरेका छन् । तर, यहाँ आएपछि धेरै कुरा मैले नियम कानुनमा बाँधिएर गर्नुपर्ने हुँदो रहेछ ।

म बोर्डमा रहँदा साथीभाइ, यो आफ्नो, यो पराई, यो नजिक यो टाढा भनेर केही हेर्दिन । नियम कानुनमा रहेर सबैलाई समान रूपमा हेर्छु । मैले यो हिसाबले काम गर्दा कतिपयले भुवन दाइले राम्रो गर्नु भएको भनेर भनिरहनु भएको छ । म माथि विश्वास गर्नु भएको छ । म बोर्डमा आएको राम्रो गर्न हो । चलचित्र क्षेत्रको भलो गर्न आएको हो । त्यो प्रेसर मलाई पनि फिल भएको छ ।

 हाम्रा फिल्म गाउँमा पुग्न नसकेको गुनासा छन् नि ?

– हो, त्यसका लागि हामीले एउटा समिति बनाएका छौ । नयाँ हल खोलेर हुन्छ कि, अन्य केही गरेर हुन्छ भनेर पहल गरिरहेका छौ । घुम्ती सिनेमा लगायतका विभिन्न योजना बनिरहेका छन् । 

तपाईंको फिल्म निर्माण, अभिनय पनि जारी रहन्छ कि ब्रेक लाग्यो ?

– मेरो पहिलो परिचय कलाकार हो । त्यसपछि निर्माता निर्देशक । म बाँचुन्जेल यो कर्म गरिरहन्छु । राम्रो फिल्म बनाउने, दर्शकको मन जित्ने अभियान जारी रहनेछ । भोलि विकास बोर्डबाट बाहिर रहँदा पनि फिल्मकर्मीका हिसाबले राष्ट्रका लागि केही न केही गरिरहन्छु । देशका लागि राम्रो फिल्म दिने कोसिस मेरो सधैँ रहन्छ । अहिले त ब्रेक झैँ लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप