बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता हुँदै : बाबुराम र प्रचण्डबीच बालुवाटरमा सहमति

शनिबार, २३ पुस २०७९, १२ : २४
शनिबार, २३ पुस २०७९

काठमाडौँ ।  माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकीकरण हुने भएको छ । छिट्टै पार्टी एकीकरण हुने विषयमा माओवादी केन्द्रका अध्यक्ष र नेसपाका अध्यक्ष भट्टराईबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा झन्डै १ घण्टा छलफल भएको छ ।  दुई पार्टीबीचमा एकता गर्नेबारेमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल भएको नेसपाका नेता गंगा श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । नेता श्रेष्ठले भने– ‘पार्टी एकता छिट्टै गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ । यस्तै संसदमा विश्वासको मत लिने र अन्य समसामयिक विषयमा छलफल भएको हो । 

शनिवार दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने र आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा प्रस्ताव गरेर ती बैठकबाट पार्टी एकतालाई मूर्त रुप दिएर जाने सहमति भएको नेता श्रेष्ठले बताए ।  अलि छिट्टै पार्टी एकता गर्ने दुवै अध्यक्षको चाहना रहेको उनको भनाई छ । एकतापछिको पार्टीमा अध्यक्ष भट्टराईको स्थान कुन रहन्छ भन्नेबारेमा अहिले निर्क्यौल नगरेको भोली एकता हुने बेलामा तय गरिने भएको छ । 

एकतापछिको पार्टीको नाम के राख्नुपर्छ भनेर नेसपाको तर्फबाट प्रस्ताव गरेपनि पछि छलफलबाट टुङ्गो लाग्ने र पार्टी एकताका लागि एउटा कार्यदल बन्न सक्ने नेता श्रेष्ठको भनाई छ ।  यस्तै समाजवादी धारका सबै दलसँग पार्टी एकताका विषयमा छलफल गरेर जाने सहमति भएको युवा नेता विश्वदीप पाण्डेले बताए । पार्टी एकता गरेर जाने कुरामा दुवै अध्यक्षबीच सकारात्मक ढंगले कुरा भएको उनले बताए । अन्य दलसँग एकता प्रक्रिया अघि नबढेपनि नेसपा र माओवादीबीच एकता गरेर जाने निश्चित भएको नेता पाण्डको भनाई छ ।

शनिवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग नेसपाका अध्यक्ष बाबुराम भट्टराई नेताहरु गंगा श्रेष्ठ र विश्वदीप पाण्डे सहभागी भएका थिए । नयाँ संविधान जारीपछि माओवादी केन्द्र छोडेर डा.भट्टराईले २०७३ जेठ ३० गते दशरथ रंगशालामा सभा गरेर नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए । 

२०७६ साल बैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा उपेन्द्र यादवसँगपनि छुट्टिएर भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप