शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

धनगढी उपमहानगरले निजी क्षेत्रलाई दिएको जग्गा खाली गराउँदै

आइतबार, २४ पुस २०७९, १२ : ५३
आइतबार, २४ पुस २०७९

धनगढी । धनगढी उपमहानगरपालिका–४, चटकपुरस्थित १ बिगाहा जमिनमा रहेको कृषि हाट बजारको संरचना खाली गराउने भएको छ । उपमहानगरपालिकाले पशु वधशाला निर्माणसहित व्यवस्थित तरकारी, फलफूल तथा माछामासु बजार बनाउन १२ वर्ष अगाडि निजी क्षेत्रलाई दिएको संरचना खाली गर्न लागेको हो ।

साबिकको स्थानीय विकास मन्त्रालयको स्वामित्वमा रहेको कित्ता नं. ४१०, ४११ र १०२९ रहेको सो जग्गा धनगढी उपमहानगरपालिकाको भोगाधिकार छ । धनगढी उपमहानगरपालिकाले २०६७ चैत्र १४ गते सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत धनगढी उपमहानगरपालिका–२ का ओमराज पाठकलाई १५ वर्षका लागि उक्त जग्गा दिएको थियो ।

तर पाठकले जग्गामा सम्झौता अनुसार कुनै पनि संरचना नबनाएको तथा काम नगरेको धनगढी उपमहानगरपालिकाको ठहर छ । उपमहानगरपालिकाले २०७६ साउन ३१ गते नै दीगो स्रोत व्यवस्थापन गर्नका लागि बहुउद्देश्यीय सपिङ मल निर्माण गर्ने निर्णय गर्दै सहमतिका लागि मन्त्रालयमा पठाएको छ । सहमतिको प्रक्रिया जारी रहेकाले सो जग्गामा रहेका संरचना खाली गराउन निजी क्षेत्रलाई पत्राचार गरिएको हो ।

धनगढीकै मुटुमा रहेको सो जग्गामा निजी पक्षबाट केवल व्यक्तिगत लाभ हुने मनसायका साथ त्यहाँस्थित गोदाम घरमा एउटा कोल्ड स्टोर, तरकारी तथा फलफूलको थोक पसल, होटल, किरानालगायतका पसल सञ्चालन गरिएका छन् । जहाँबाट निजी पक्षले महिनामा भाडामात्रै असुल्ने माध्यम बनाएको स्थानीयको भनाइ छ ।

सो जग्गामा किराना पसल सञ्चालन गरेका हेमराज मल्लले पसल सञ्चालन गरेको संरचना आफूले केही वर्ष अगाडि अर्को व्यक्तिबाट ५ लाखमा खरिद गरेको बताए । भाडा रकम भने उनले निजी पक्ष भनिएका पाठकलाई बुझाउँदै आएका छन् ।

वर्षौंदेखि सम्झौता अनुसार व्यवस्थित नभएको सो जमिन निजी पक्ष र कर्मचारीको दुहुनो गाई मात्र बन्न पुगेको समेत आरोप लाग्दै आएको छ ।

dhangadi upamahanagar

उपमहानगरपालिकाको दोहोरो चरित्र

यसैबीच सडक क्षेत्राधिकार तथा सरकारी जग्गा खाली गराउनमा धनगढी उपमहानगरपालिकाले द्वैध चरित्र देखाएको छ ।

धनगढीको मुख्य सडकको क्षेत्राधिकार खाली गराउन उपमहानगरले ३५ दिने सूचना जारी गरी कार्य आरम्भ गरेको थियो । अहिले जग्गा खाली गराउने तथा पुननिर्माणको कार्य धमाधम चलिरहेको छ ।

तर नगरकै मुटुमै अवस्थित तथा हाल निजी पक्षको चङ्गुलमा रहेको १ बिगाहा जग्गा खाली गराउनमा भने उपमहानगरपालिकाले लचकता अपनाएको हो । त्यहाँस्थित संरचना खाली गराउन ६ महिने समय दिइएको छ ।

पुस १८ गतेदेखि लागु हुने गरी उपमहानगरपालिकाले दोस्रो पक्ष मानिएका पाठकलाई २०८० असार १७ गतेसम्म संरचना हटाउन समयावधि दिएको छ । धनगढीका ओमकार जोशीले बिचौलियाको चङ्गुलमा रहेको अति मूल्यवान् जग्गा खाली गराउनमा हदैसम्मको लचकता देखाएको आरोप लगाए ।

उपमहानगर प्रमुख गोपाल हमालले संरचना हटाउन पत्राचार गरेको भए पनि दिइएको समयावधिवारे द्विविधा प्रकट गरे । उपमहानगर प्रमुख हमालले आफैलाई ६ महिने अवधि असान्दर्भिक लागेको आशय व्यक्त गरे ।

उता उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दीपक भण्डारीले भने, ‘पहिलेको सम्झौता अवधि बाँकी छ । सो जग्गा उपमहानगरपालिकाको स्वामित्वमा छैन । भोगााधिकार मात्रै रहेकोले संरचना हटाइ उपमहानगरपालिकालाई सहयोग गरिदिन उहाँ (निजी पक्ष)लाई अनुरोध गरेका हौँ । उहाँले पनि म विकास विरोधी होइन भन्नु भएको छ ।’

Letter of DHN

के थियो सम्झौतामा ?

सम्झौता अनुसार सो जग्गाभित्र न्यूनतम ३५ वटा तरकारी, १४ वटा फलफूल, १० वटा माछा मासुको खुद्रा बजार, बायोग्यास प्लान्टलगायतका पसलहरू निर्माण गर्नुपर्ने उल्लेख छ । कोल्ड स्टोरसहितको २ वटा रात्रिकालीन भण्डारण कक्षको निर्माण तथा सञ्चालन गर्नुपर्ने पनि भनिएको छ ।

निर्धारित जग्गाभित्रै पशुपक्षीको फरक–फरक वध स्थल निर्माण गर्नुपर्ने र वधस्थलबाट निस्कने फोहरमैलालाई व्यवस्थापन गर्न सो भवनको पछिल्लो भागमा बायोग्यास प्लान्ट निर्माण गर्नुपर्ने सो सम्झौतामा उल्लेख छ ।

सम्झौतामा बढीमा १ वर्ष निर्माण अवधि कायम गरिएको छ । तर सम्झौता अनुसार हालसम्म कुनै संरचना निर्माण गरिएको थिएन । दोस्रो पक्ष मानिएका पाठकले आफ्नो लगानीमा भाडा असुलीको उद्देश्यले केही टहरा निर्माण गरेको पाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप