शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
संसद

छातीमा हात राखेर रवि लामिछानेको उद्घोष : कहीँकतै चुक्यौ भने पद र कुर्सीमा झुन्डिने छैनौँ (पूर्णपाठसहित)

सोमबार, २५ पुस २०७९, १५ : २०
सोमबार, २५ पुस २०७९

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनतासँग गरेको बाचा पूरा गर्न सरकारमा गएको प्रस्ट पारेका छन् । साथै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्ने दाबी समेत गरेका छन् । ती कामहरूले सुरुवात भैसकेको भन्दै लामिछानेले आफ्नो पार्टी र आफूमाथि समेत लाग्दै आएका आरोपहरूको सफाइ दिने प्रयास गरेका छन् ।

‘म छातीमा हात राखेर यो गरिमामय संसदमा भन्न चाहन्छु– म सम्बद्ध दलका कुनै पनि सांसदहरूबाट कुनै पनि किसिमको अनियमितता हुनेछैन । कहीँकतै नागरिकलाई दुख दिने काम हुनेछैन’, लामिछानेले भने, ‘कुनै काण्डहरूमा हामी मुछिनेछैनौँ । म बाचा गर्न चाहन्छु, मुलुक र मुलुकवासीका लागि हामीले हिजो गरेका बाचाहरू पूरा गर्न तयार भएर आएका छौँ । कुनै पनि दिन तपाईँहरूले हामीलाई साथ दिएका कारणले, हाम्रा सांसदहरूका कारणले आफ्नो शिर झुकाउनुपर्ने छैन ।’

यस्तो छ लामिछानेको मन्तव्य

पार्टीका रूपमा एउटा नयाँ पार्टीको उदय नेपाली राजनीतिक इतिहासमा त्यति ठुलो कुरा होइन होला । तर जुन समयावधिभित्र हामीले विश्वास प्राप्त गरेका छौ, त्यो विश्वास एउटा दललाई अथवा एउटा उम्मेदवारलाई कसैले दिएको मत मात्रै होइन । यो मुलुकमा अव परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बजाएका घण्टीको ध्वनि हो । यो ध्वनिलाई सम्मानित संसद र सिंगो देशले सुन्नेछ र नेपाली जनताको हितमा सदुपयोग गर्नेछ भन्ने कुरा म विश्वास राख्न चाहन्छु ।

हामीलाई लाग्ने गरेको स्याबासी लाञ्छना भनौँ–तपाईँहरूले प्राप्त गरेको यो मत निराशाको मत भन्नुभएको छ तर म यसलाई निराशाको मत होइन नेपाली जनताले दिनुभएको आशाको मत भन्न चाहन्छु । यो आशाको मत केवल हाम्रो दलका लागि मात्रै होइन,यो आशाको मत सम्पूर्ण राजनीतिक दलहरूमाथि फेरि पनि गरिएको आशाको मत हो म त्यसै गरी बुझ्न पनि अनुरोध गर्न चाहन्छु ।

नेपाली जनताले यस पटक जानेर नजानेर असाध्यै राम्रोसँग मतदान गरेको हामीले पाएका छौ । हामीजस्ता नयाँ राजनीतिक दलहरूलाई पनि नमात्तिने गरी त्यति सङ्ख्यामा मत दिनुभएको छ र पुराना राजनीतिक दलहरूलाई पनि अव त सच्चिनुपर्छ होला है भन्ने गरी घटाइदिनुभएको छ । यसर्थ पनि सचेत गराउने गरी आएको यो मतलाई हामीले स्वागत गर्नुपर्दछ भन्ने म ठान्दछु ।

जनमतअनुसारको सरकार बनेको कुरा पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यूले भन्ने गरेको कुरा म यहाँ स्मरण गराउन चाहन्छु । यस पटक आम नेपाली जनताले जस्तो जनमत दिनुभएको थियो त्यही जनमत अनुसारको सरकार बनेको छ । हुन त लामो समयदेखि मुलुक प्रतिपक्षविहीन भएको कुरा चुनावअघि हामीले उठाउँदै आएका विषय हुन् । प्रतिपक्षविहीन भयो यो संसद पनि भन्ने अनि मौका पाउनासाथ सरकारमा प्रवेश गरिहाल्ने भन्ने प्रश्न पनि हामीमाझ उब्जिएको छ । तर वास्तविकता त्यस्तो होइन । यस पटक नेपाली नागरिकले दिएको मतलाई सम्मान गर्दै साझा न्यूनतम कार्यक्रममार्फत सम्बोधन गर्ने गरी जसरी सरकार बनेको छ, त्यो नै जनमतको सच्चा कदर हो, सम्मान हो भन्ने हामीलाई लागेको छ र त्यसैअनुसार सरकार बनेको मैले ठानेको छु ।

न्यूनतम साझा कार्यक्रममार्फत हामीले कम्तीमा पनि जनजीविकाका सवालमा निर्मम भएर अघि बढ्ने बाचा गरेका छौ त्यसलाई इमानदारिताका साथ सम्पन्न गर्न सक्यौ भने जनताले महसुस गर्ने गरी परिवर्तन यो देशमा आउने छ भन्नेमा हामी निर्धक्क भएका छौ । यो न्यूनतम साझा कार्यक्रमले जनजीविकाका सवालमा खरो भएर काम गर्नेछ, जसको सार्वजनिक छोटो समयमै गर्ने तयारीमा छौ । 

संसद प्रतिपक्षको हो । प्रतिपक्ष दलले रचनात्मक रूपमा सुझाव सल्लाह दिन सकेको खण्डमा सरकारले त्यो खबरदारीलाई आत्मसात् गर्दै जनताको चाहानाअनुरूपको कार्य गर्न अघि बढ्दछ । म यो अपेक्षा पनि गर्दछु कि प्रतिपक्षबाट अड्काउने होइन सघाउने काम हुनेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा हामीजस्ता नयाँ दलको आगमनको कुरा हो । यो आगमन जनताले एउटा अपेक्षा गरिएकाले हो । त्यो अपेक्षामा कहीँ केही कारणले कुठाराघात भयो भने मुलुक चरम निराशामा जानेछ भन्ने हेक्का हामीलाई छ र सम्पूर्ण राजनीतिक दलहरूलाई पनि छ होला । नभए पनि भयो होला भन्ने मैले अपेक्षा गरेको छु । यसअगाडि यो मुलुकमा भएका तमाम बेतितीहरू र त्यसको जबाफदेहिता नेपाली जनताले खोजेका छन् । आज संविधान प्राप्त भैसकेपछिको दोस्रो पटकको संसद्को अधिवेशनको पहिलो दिनमा हामीले भन्नैपर्छ–वर्षौँदेखि भ्रष्टाचारका विभिन्न काण्डहरू मच्चाएको र जनता निराश भएको अवस्थामा अबको संसदले फेरि त्यो भारी बोकिरहन्छ कि बिसाउँछ र भ्रष्टाचारका पुराना सम्पूर्ण फायल खोल्नका लागि ऐक्यबद्धता कायम गर्छ ? मलाई विश्वास छ हामीले लिखित रूपमा साझा न्यूनतम कार्यक्रममार्फत कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको निर्मम छानबिन गर्ने भन्ने कुरा त्यसभित्र एउटा बुँदाका रूपमा राखेका छौ र त्यसलाई इमानदारिताका साथ पालना गर्नेछौ जसले जनमतको सच्चा सम्मान त्यतिखेर हुनेछ जुन लिखित वाचा पुरा गर्न हामी र विशेष गरेर अहिले सत्ता साझेदार दलहरूबाट बनेको सरकार सक्षम हुनेछ । हामी त्यो घडीको प्रतिक्षमा छौ हामीले आम नागरिकलाई बताउनै पर्नेछ । अर्थात कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका विरुद्ध सरकार निर्मम भएर खडा हुन्छ । आज यो गरिमामय सदनबाट स्वदेश विदेशबाट समेत हेरिरहनुभएका सम्पूर्ण नागरिकहरूलाई हामीले बताउनै पर्ने हुन्छ ।

सरकारका प्राथमिकताहरूलाई मध्यनजर राख्दै आफूले सम्हालेको मन्त्रालयमा केही कामहरूको सुरुवात भैसकेका छन् जसले आम जीवनलाई सकारात्मक प्रभाव पार्नेछ । यो गरिमामय सदनमा एक जिम्मेवार गृह मन्त्रालय सम्हालेको मन्त्रीका रूपमा पनि, सांसद र जनप्रतिनिधिका रूपमा पनि मैले भन्नै पर्ने हुन्छ कि–हामी जनप्रतिनिधिहरू जिम्मेवार हुन सक्यौ भने सरकारलाई न्यूनतम साझा कार्यक्रम पुरा गर्न निकै ठुलो मद्दत मिल्नेछ । हामीले सुन्नुपर्ने आम सर्वसाधारणको गुनासो हो । हामीले थाहा पाउनुपर्ने सर्वसाधारणको पिर मर्का हो । हामीले हल गर्नुपर्ने समस्याहरू आम सर्वसाधारणको हो । तर हामी आफ्नै समस्या,पिर मर्का र तानातानमा अल्झियौँ ठुलो संख्याका नागरिक यसबाट छुटे त्यस्तो नहोस् भन्नका लागि यहाँहरूमाझ एउटै मात्र आग्रह चाहन्छु । कुनै पनि भ्रष्टाचारका विषयमा भएको छानबिन र अनुसन्धानमा यहाँहरूले प्रभाव नपारिदिनुहोला । कुनै पनि आपराधिक गतिविधिमा यदि छानबिन भई रहको छ भने त्यसलाई प्रभाव पार्नका निमित्त आफ्ना मान्छे छुटाउनुपर्‍यो भन्ने दबाब सिर्जना नगरिदिनुहोला । जे हो त्यसलाई मान्ने, नीति नियमलाई पालना गर्ने र ल एन्ड अर्डरलाई पालना गर्ने हो भने त्यो सुरुवात यो गरिमामय संसदमा उपस्थित हामी सवैबाट हुनुपर्दछ । म छातीमा हात राखेर यो गरिमामय संसदमा भन्न चाहन्छु– म सम्बद्ध दलका कुनै पनि सांसदहरूबाट कुनै पनि किसिमको अनियमितता हुनेछैन । कहीँकतै नागरिकलाई दुख दिने काम हुनेछैन । कुनै काण्डहरूमा हामी मुछिनेछैनौ । म वाचा गर्न चाहन्छु, मुलुक र मुलुकवासीका लागि हामीले हिजो गरेका बाचाहरू पुरा गर्न तयार भएर आएका छौ । कुनै पनि दिन तपाईँहरूले हामीलाई साथ दिएका कारणले, हाम्रा सांसदहरूका कारणले आफ्नो शिर झुकाउनुपर्ने छैन । मेरो दलका कुनै पनि सांसदहरूले कुनै पनि किसिमको अनियमिततामा आफूलाई सहभागी गराउने छैनन् । यो बाचा गरिमामय संसद्को रोष्ट्रममा उभिएर छातीमा हात राखेर गर्न चाहन्छु । कुनै पनि किसिमका अनियमितताको काम हामीबाट हुनेछैन । भएको भए निर्ममभन्दा निर्मम सजाय दिनका लागि तयार भएको यो वाचा आज पहिलो दिनमा छातीमा हात राखेर गर्न चाहेको छु ।

अन्त्यमा सभामुख महोदय ! हामीले गरेको राजनीतिले आम सर्वसाधारणको जीवनलाई छुनुपर्ने हो । तर आम सर्वसाधारणको जीवनमा हामीले गरेको राजनीतिले कति छोयो कति छोएन ? अव निर्मम समीक्षा गर्नुपर्नेछ । र, सरकारमा सहभागी हुने हाम्रो यो निर्णयमा विशेष गरेर दुई ठुला राजनीतिक दलका शीर्ष नेताज्युहरुसँगको बैठकमा जुन प्रतिबद्धता व्यक्त भयो त्यसबाट हामी हौसिएका छौ । कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी जनताले महसुस गर्ने गरी हामी काम गर्न प्रतिबद्ध र कटिबद्ध छौ भनेर दुई शीर्ष नेताले गर्नुभएको छ त्यो विश्वासमा हामी अडिएका छौ । त्यो विश्वास एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई गरेको विश्वासमात्रै होइन,सरकार बनाउन र सङ्ख्या पुर्‍याउनका लागि जोडिएको हिसाबमात्रै होइन । यो हिसाव नेपाली जनताले खोज्नेछन् र त्यो जनतालाई बुझाउनका निमित्त यस पटक कुनै कसर बाँकी राख्नेछैनौँ भनेर शीर्ष नेताज्यूहरुबाट जुन वचनबद्धता आएको छ यो बचनबद्धताले काम गर्नेछ भन्ने विश्वस्त छु । र, नेपाली जनताले महसुस गर्नसक्नेगरी सरकार अगाडि बढ्नेछ । यसर्थमा हाम्रो सरकारमा सहभागिता रहेको छ । यो प्रतिबद्धता कुनै कमीकमजोरी आएको खण्डमा हामी सरकारमा या पदमा टाँसिरहने लोभमा रहनेछैनौ यो वाचा पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई यहीँबाट गराउन चाहान्छौँ । हामी आफ्नो कर्तव्य पुरा गर्ने शिलशिलामा कहींकतै चुक्यौ भने त्यो पद र कुर्सीको लोभमा झुन्डिने छैनौँ, यसमा यहाँहरू (सत्ता साझेदार ) निर्धक्क हुनुहोला । अन्त्यमा यो गरिमामय संसदमा आउनुको पछाडि आम सर्वसाधारणको अपेक्षा, माया छ, विश्वास छ त्यो विश्वासको दियोलाई हामी कहिल्यै निभ्न दिने छैनौँ चाहे जतिसुकै ठुलो आँधीहुरी नै किन नआओस् त्यो दियोलाई बालीराख्नेछौ,जोगाइराख्नेछौ तबसम्म जोगाइराख्नेछौ हामीले गरेको वाचा पुरा गर्न सक्दैनौँ । यो संसदको कार्यकाल मात्र होइन सरकारको कार्यकाल पनि पूर्णरुपमा सफल हुनेछ भन्नेमा विश्वस्त हुने र त्यसमा आफ्नो तर्फबाट इमानदार योगदान दिने बाचा गर्दै यहाँबाट बिदा हुन्छु नमस्कार ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप