बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जग्गा भाडामा लिएर कृषिबाली लगाउनेले बीमाको दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह

सोमबार, २५ पुस २०७९, १५ : ५९
सोमबार, २५ पुस २०७९

पर्सा । जग्गा भाडामा लिएर कृषि बाली लगाउने कृषकहरुले नै बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न कृषकहरुले माग राखेका छन् । आइतबार नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयको आयोजनामा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा कृषिकहरुले यस्तो माग राखेका हुन् ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरुले जग्गाधनी एक व्यक्ति र जग्गा भाडामा लिएर खेती गर्ने अर्को व्यक्ति भएको अवस्थामा कृषि बीमा दाबी जग्गाधनीले नभई कृषिबाली लगाउने व्यक्तिले नै पाउने व्यवस्था गर्न बीमा प्राधिकरणलाई आग्रह गरेको छ । 

सरकारी निकायमा धानको बिउ सूचिकृत नभएको सोना मनसुली धानको पनि बीमा गर्न पाउने व्यवस्था गर्न, कृषि प्राविधिकहरू सहजरुपमा उपलब्ध हुने व्यवस्था गर्न र कृषकहरुलाई गाउँ गाउँमा नै बीमा सम्बन्धी जानकारी दिने व्यवस्था गर्न समेत कार्यक्रममा सहभागी कृषकहरुले प्राधिकरणसँग आग्रह गरेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले गाउँ गाउँमा गएर सबैलाई बीमाका बारेमा जानकारी दिने दायित्व निर्वाचित जनप्रतिनिधिहरुको भएको उल्लेख गर्दै बीमा गरेपछि हानी नोक्सानी भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति प्राप्त हुने व्यवस्था गर्नुपर्ने बताए । त्यसबाटैआर्थिक अभाव पूरा गर्न सहयोग पुग्ने भएकाले सबैलाई बीमा गर्न आग्रह समेत उनले गरे ।

नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी कार्यक्रम तर्जूमा र बीमा सचेतनामूलक कार्यक्रम संचालनमा गाउँपालिकालाई आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप