बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रगति विवरण सार्वजनिक

मङ्गलबार, २६ पुस २०७९, २० : ३८
मङ्गलबार, २६ पुस २०७९

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले यो अवधिमा चार सय  किलोमिटर सडक कालोपत्रे, सात सय ६९ किमी सडक ग्राभेल र एक हजार २३ किमी कच्ची सडक निर्माणमा सफलता मिलेको बताए । 

प्रगति विवरणमा प्रदेश सरकारले काम थालेपछि ५२ मोटरेबल पुल निर्माण पूरा हुनुका साथै चालु वर्षको अन्त्यसम्ममा थप दुई सय किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न हुने चरणमा रहेको जनाइएको छ । 

सिँचाइतर्फ ३० किलोमिटर सिँचाइ कुलो निर्माण, दुई लाख बढी नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध र शिक्षातर्फ एक सय ३३ विद्यालयका भवन निर्माण पूरा गरिएको उल्लेख छ । “पाँच वर्षमा विकास निर्माणका कार्यका अतिरिक्त लोकसेवा आयोगको कार्य प्रारम्भका साथै शिक्षामा पनि धेरै काम गरेका छौँ”, पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले भने, “आउने सरकारका लागि धेरै सहज हुनेछ ।”

प्रगति विवरणमा सेती प्रादेशिक अस्पताललगायतका अस्पतालमा स्वास्थ्य उपकरणको व्यवस्थाका साथै भवनलगायतका पूर्वाधार जुटाइएको, कृषितर्फ भएका गतिविधिले झण्डै पाँच सय नागरिकले रोजगारी पाएको, बीउबिजन उत्पादनमा उपलब्धि हासिल भएको जनाइएको छ ।

“पाँच वर्षमा प्रदेशको राजधानी घोषणा र नामकरण भयो, सङ्घीय सरकारले भूमिको स्वामित्व प्राप्तिमा सहयोग नगर्दा भने राजधानीका संरचना निर्माणको काम अगाडि बढ्न सकेन”, मुख्यमन्त्रीले थपे, “सुरुमा हामी आउँदा पूर्वाधार, कानून, कर्मचारीको अभाव भए पनि पाँच वर्षमा सङ्घीयताको आधारशीला स्थापना गर्न सफल भएका छौँ ।” 

गएको पाँच वर्षमा अन्य कतिपय प्रदेशमा मुख्यमन्त्री फेरिएर राजनीतिक अस्थिरता देखिए पनि त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकार पूरै अवधि काम गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप