बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा एयर होस्टेससहित रुपन्देहीका दुई जनाको मृत्यु

सोमबार, ०२ माघ २०७९, १५ : ४५
सोमबार, ०२ माघ २०७९

बुटवल । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा रुपन्देहीको  तिलोत्तमा घर एक चिकित्सक र सैनामैना घर भएकी एयर होस्टेसको निधन भएको खुलेको छ । पोखराको ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत तिलोत्तमा नगरपालिका–४ निवासी डा. गणेश थापा र सैनामैना नगरपालिका–५, सेरवा निवासी एयर होस्टेस सिर्जना हुङचुङ (सिर्जु थापा) उक्त विमानमा सवार थिए ।

डाक्टर थापा २ साताको बिदा सकिएपछि आइतबार काठमाडौंबाट पोखरा जाँदै थिए । तिलोत्तमा नगरपालिका–४ स्थित आफ्नै घर अगाडिको सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसीसम्म र बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु अध्ययन गरेका ३६ वर्षीय थापाले सरकारी छात्रवृत्तिमा चीनमा चिकित्साशास्त्र अध्ययन गरेका थिए ।

केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका उनी पछिल्ला दिन ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत थिए । पोखरास्थित ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा. थापा पोखरामा बस्दै आए पनि चिकित्सक समेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी काठमाडौंमा बस्थे । उनका बाबुआमा भने तिलोत्तमामै बस्दै आएका छन् ।

डा. थापा बुबा पदम बहादुर बुचा र आमा सुर्य कुमारी बुचाका एकमात्र छोरा थिए । शव बुझेपछि दाहसंस्कारका लागि तिलोत्तमामै ल्याउने तयारी रहेको आफन्तले बताएका छन् । सैनामैना–५ घर भएकी सिर्जना भने बुटवलमै एयर होस्टेस तालिम लिएपछि २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्दै थिइन् । परिवारमा बुबा, आमा, दुई वटा दाइ र भाउजू र एउटा भाइ रहेकी सिर्जना परिवारकी एक्ली छोरी हुन् ।

उनले सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीबाट विद्यालय पढेपछि  बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक गरेकी मामा एक बहादुरले रातोपाटीलाई बताए । २९ वर्षीय सिर्जना दसैँपछि भाइको उपचारका लागि रुपन्देही आएर केही हप्ता बसेकी थिइन् । भाइलाई भैरहवा मेडिकल कलेजमा उपचार गराएर उनी काठमाडौं फर्किएकी थिइन् ।

उनका बुबा भारतीय सेनाबाट अवकास प्राप्त भइसकेका छन् । शनिबार बेलुका मात्र सिर्जनाले परिवारका सबै सदस्यसँग भिडियोमा कुरा गरेकी थिइन् । भिडियो कलमा भोलिपल्ट आफ्नो पोखरा फ्लाइट रहेको उनले बताएकी थिइन् ।

विमान दुर्घटनामा मृत्यु भएकी सिर्जनाको सनाखत पोखरामै रहेका आफन्तले गरेका छन् । उताबाट खबर आएपछि आफूहरू अहिले काठमाडौं जाँदै गरेको मामा एक बहादुरले बताए । उनले भने, ‘भान्जी विमान कर्मचारी भएको नाताले कम्पनीसँग छलफल हुन्छ, त्यसपछि सायद उतै काठमाडौंतिरै दाहसंस्कार हुन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप