शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला विमानस्थलमा हालसम्म ३ विमान दुर्घटना, १३ जनाको मृत्यु

विमानस्थल स्तरवृद्धिमा सरकारको ध्यान पुगेन
बिहीबार, ०५ माघ २०७९, १५ : २७
बिहीबार, ०५ माघ २०७९

जुम्ला । २०५५ साल माघ ३ गते जुम्ला विमानस्थलमा नेकोन एअरको सिङ्गल इन्जिन भएको विमान रनवेमै दुर्घटना भएको थियो । जुम्लाबाट नेपालगन्जका लागि उडेको विमान धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तरवृद्धिको एजेण्डा नउठेको होइन । तर त्यसपछि पनि जुम्लामा दुई वटा अन्य विमान दुर्घटना भए । विमानस्थलको अवस्था भने अझै उस्तै छ ।

२०६३ असार ७ गते यती एरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका ३ जनासहित ८ जनाको मृत्यु भएको थियो । सुर्खेतबाट जुम्ला उडेको विमान जुम्ला विमानस्थलमै दुर्घटना भएको हो ।

२०७५ जेठ २६ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको नाइएन एइभी विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान भने पुरै ध्वस्त हुन गयो ।

जहाजको प्राविधिक समस्यासँगै धावनमार्ग स्तरीय नहुनु विमान दुर्घटनाको मुख्य कारण रहेको जुम्लाका पत्रकार नवराज शाही बताउँछन् । अहिलेसम्म जुम्लामा भएका ३ वटा विमान दुर्घटनामा १३ जनाले ज्यान गुमाइ सकेका छन् ।

जुम्लावासीले सरकारलाई विमानस्थलको अवस्था सुधार गर्न अनुरोध गर्दै आइरहे पनि माग सम्बोधन नभएको नागरिक समाजका जुम्लाका संयोजक राजबहादुर महतले गुनासो गरे ।

नेकोन एयरको विमान दुर्घटना भएको माघ ३ गते मंगलबार २४ वर्ष पूरा भयो । पत्रकार नवराज शाहीले भने, ‘मैले २०५५ सालमा विमान दुर्घटनाको रिपोर्टिङ गरेको थिएँ, त्यसपछि विमानस्थल स्तरवृद्धि गर्ने, नियमित उडान गर्ने भनिए पनि विमान दुर्घटनाको साढे दुई दशक बित्दासमेत समस्या ज्युँका त्युँ छन् ।’

सुविधायुक्त टर्मिनल भवन बन्ने

जुम्ला विमानस्थलमा नयाँ सुविधायुक्त टर्मिनल भवन बन्ने भएको छ । चालु आर्थिक वर्षमा नेपालका सात विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नति गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना अनुसार जुम्ला विमानस्थलमा पनि सुविधायुक्त टर्मिनल भवन निर्माण हुने विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए ।

उनले भने, ‘जग्गा अभावका कारण विमानस्थल स्तरबृद्धि सम्भव छैन, विमानस्थल स्तरवृद्धि आवश्यक छ, तर लगानी छैन ।’

दैनिक सयौँ यात्रुको चाप हुने जुम्ला विमानस्थलमा टर्मिनल भवन बन्नु राम्रो कुरा भए पनि हालसम्म विमानस्थल स्तरवृद्धि र नियमित उडान नहुनु दुःखद् कुरा भएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही बताउँछन् ।

अहिले दिनमा मुस्किलले दुई, नत्र एक उडान मात्र हुने गरेको उनले बताए । तारा, समिट, नेपाल एयरलाइन्स, सीता लगायतका विमानले जुम्लामा उडान भरिरहेका छन् ।

विमानस्थल प्रमुख अधिकारीले तत्कालका लागि सर्वसाधारणलाई राहत दिन नियमित उडानमा जोड दिन जरुरी रहेको र विमानस्थल स्तरवृद्धि पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप