सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सुनसरी घटना : सीडीओसहित सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय

सोमबार, ११ साउन २०८३, १७ : ४७
सोमबार, ११ साउन २०८३

सारांश

  • सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कोशी प्रदेशका डीआईजी सहितका सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको छ ।
  • सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर त्यहाँ संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ ।

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) र कोशी प्रदेशका डीआईजी सहितका सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर त्यहाँ संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ। सुनसरीमा बासुदेव घिमिरे प्रजिअ थिए।

कोशी प्रदेशका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ। कोशी प्रदेशमा डीआईजी डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेलाई त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। सुनसरीमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ। मल्ल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए।

सशस्त्रको कप्तानगञ्ज स्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई  फिर्ता बोलाएर त्यहाँ डीएसपी मदन नाथलाई पठाइएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

सो घटना छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दुको झण्डा राखेको विषयमा विवाद भएको थियो । 

घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र १० जना सशस्त्रका सुरक्षाकर्मी घाइते भएका छन् । घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेध आदेश जारी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप