सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अध्यागमनका कर्मचारी र अमेरिकी नागरिकविरुद्ध अख्तियारले चलायो मुद्दा

सोमबार, ११ साउन २०८३, १७ : ५४
सोमबार, ११ साउन २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका कर्मचारी र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • तत्कालीन कम्प्युटर अपरेटर राजीव महतोले अध्यागमन सूचना प्रणालीको दुरुपयोग गरी अमेरिकी नागरिक डिन जय रोबिन्सनलाई गैरकानुनी रूपमा भिसा उपलब्ध गराएको अभियोग छ ।
  • महतोलाई ऐनको दफा ९ र ११ बमोजिम सजाय र जरिवाना तथा रोबिन्सनलाई मतियार बनेको अभियोगमा मुख्य कसुरदार सरह सजाय माग गरिएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका एक कर्मचारी र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सूचना प्रणालीको दुरुपयोग गरी गैरकानुनी रूपमा भिसा उपलब्ध गराएको अभियोगमा आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतोले ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणालीको ‘ट्राभलर सेन्ट्रलाइजेशन’ सुविधाको दुरुपयोग गरेको आयोगको भनाइ छ ।

महतोले लक्जेम्बर्गका नागरिक पाउल क्रिस्टियन पियरे गेडिट्जको नाममा पहिले नै जारी भइसकेको आवासीय भिसालाई आवश्यक प्रक्रिया पुरा नगरी र राजस्वसमेत दाखिला नगरी अमेरिकी नागरिक डिन जय रोबिन्सनको नाममा सार्ने काम गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानका क्रममा महतोले कुनै अधिकार प्राप्त अधिकारीको निर्णयबिना नै प्रणालीमा रहेका सरकारी अभिलेखहरू सच्याउने, केरमेट गर्ने र थपघट गरी नक्कली विवरण प्रविष्ट गरेको भेटिएको छ । सोही कीर्ते विवरणका आधारमा अमेरिकी नागरिक रोबिन्सनले आफ्नो राहदानीमा भिसा टाँस गरी नेपालमा अवैध रूपमा बसोबास गर्दै आएका थिए ।

अख्तियारले कर्मचारी राजीव महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा सजाय र जरिवानाको मागदाबी गरेको छ ।  त्यसैगरी, अमेरिकी नागरिक डिन जय रोबिन्सनलाई भ्रष्टाचारका लागि मतियार बनेको र सरकारी कर्मचारीलाई प्रलोभनमा पारी गैरकानुनी लाभ लिएको अभियोगमा सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरह नै कैद र जरिवाना सजायको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप