शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रश्न गरेपछि भण्डारीलाई मेयर शाहले भने–‘तिमी जस्तो पैसामा बिकाउलाई जवाफ दिन चाहन्न’

शनिबार, ०७ माघ २०७९, १३ : ०४
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीबीच फेसबुकमा जुहारी चलेको छ । भण्डारीले मेयर शाहले महानगरमा भत्काउने बाहेक अरू के काम गरेका छन् भनेर सामाजिक सञ्जालमा प्रश्न गरेपछि मेयर शाहले आक्रोश व्यक्त गरेका हुन् ।

भण्डारीले ‘रक्षक नै भक्षक’ शीर्षक राखेर विभिन्न प्रश्न उठाएपछि असंयमित बन्दै बालेनले सामाजिक सञ्जालमै प्रतिउत्तर फकाएका छन् । भण्डारीले अब भत्काउन पुग्यो बनाउनतिर लागौँ भन्दै महानगरमाथि प्रश्न सोझ्याएपछि मेयर बालेनलाई उनलाई बिकाउको संज्ञा दिएका छन् । 

बालेनले भण्डारीको पहिलो पोष्टमा प्रतिउत्तर दिँदै भनेका छन्–‘तिम्रो शो पैसाको भोटले जितिन्छ, तिमी पैसा कमाउन आको हौ, तिम्रो अस्तित्व पैसा बाहेक केही छैन, तिमी जस्तो बिकाऊ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

मेयर शाहको सो भनाइको प्रतिउत्तर दिँदै भण्डारीले लेखेका छन्–‘अब ईश्वरले भन्नु त्यही नै सत्य होला । सत्यलाई प्रश्न उठाउने हामी को ? जसले प्रश्न उठाउँछ, जसले हो कि हैन भनेर भन्छ उ रक्षक अरू सबै हनुमान ।’

आफ्नो दोस्रो स्टाटसमा भण्डारीले मेयर शाहलाई कटाक्ष गर्दै लेखेका छन्–‘मैले प्रश्न सोधेको माफ पाउ श्री ८ बालेन शाह । भत्काउनु बाहेक के बनाउनुभयो ????’

सो प्रश्नको जवाफ दिँदै शाहले लेखेका छन्–‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिरहेको मान्छेलाई, दारु खाएर राती राती दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ था छ ??’

मेयर बालेनलाई भण्डारीले जवाफ फर्काएका छन्–‘म तपाईंकै काठमाडौँ ३२ नम्बरको भोटर हुँ । त्यहाँ तपाईले पाएको मतान्तर याद होला नि ।’

यी दुई सेलीब्रेटीले सामाजिक सञ्जालमा गरेको तर्क बिर्तक यतिबेला चर्चामा रहेको छ । मेयर शाहका आलोचकले भण्डारीको पक्षमा समर्थन जनाएका छन् भने शाहका पक्षधरहरू भने भण्डारीमाथि खनिएका छन् । 

मेयर शाहमाथि के प्रश्न उठाएका थिए भण्डारीले ? 

कार्यक्रम निर्माता भण्डारीले मेयर शाहमाथि विभिन्न प्रश्न उठाएपछि दुईबीच सामाजिक सञ्जालमा जुहारी चलेको हो । भण्डारीले भत्काउने काम बाहेक बनाउने काम चाहिँ के भयो भन्दै प्रश्न उठाएका थिए । यस्तो भण्डारीले शाहमाथि उठाएका प्रश्नहरू : 

–कर चाहिँ असुल्ने निजी सम्पत्ति बिना पुर्जी बिना अधिकार गुण्डागर्दी शैलीमा डोजर आतङ्क गर्ने ? 

–आफ्नो स्वामित्वको जग्गा ठेक्कामा दिने अनि भएको बाँकी सार्वजनिक खुल्लामञ्च हडप्न खोज्ने ? 

–फोहरमैला व्यवस्थापन कहाँ पुग्यो ?

–कम्प्लेक्सको हकमा अन्डरग्राउन्ड पार्किङ अभियान कहाँ पुग्यो ?

–होडिङ्गवोर्ड हटाउने अभियान कहाँ पुग्यो ?

–आफ्नो सार्वजनिक शौचालय व्यवस्थित नगर्ने अझ शुल्क उठाउने अर्काको निजी शौचालय सार्वजनिक गर्नु पर्ने ?

–टुकुचा बिगार्ने अनि लापरबाही तरिकाले छोड्ने ? 

–वास्तविक सुकुम्वासी व्यवस्थापन गरी स्थानान्तरण गर्ने अभियान कहाँ पुग्यो ? 

–हिँड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहाँ पुग्यो ? 

–सुनधारामा पुरातात्त्विक हिटी प्रणाली बिगार्ने कम्प निलाई कारबाही खै ? 

–सम्माननीय, माननीय भेट्न सजिलो तर महानगरको मेयर महानगरवासीले भेट्न गाह्रो किन ? 

यस्तै कमेडियन सजन श्रेष्ठले मेयर शाहले दिएको जवाफप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

उनले भनेका छन्–‘एउटा जनताको प्रश्नको जवाफ पनि सिधा ढंगले दिन नसक्नेलाई के मेयर भन्ने खै । यो हो हामीले खोजेको नयाँ परिवर्तन ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप