शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

टेकु अस्पताललाई १ सयबाट ३ सय शय्याको बनाइँदै

नयाँ भवन निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रवाहमा चुनौती
शुक्रबार, १३ माघ २०७९, ११ : ०५
शुक्रबार, १३ माघ २०७९

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्याको बनाइने भएको छ । हाल एक सयशय्याको टेकु अस्पताललाई तीन सय शय्या बनाइने कार्यक्रम दुई वर्षअघि सारिएको थियो । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाइएकामा अबको तीन महिनापछि निर्माण कार्य सुरु हुने अस्पतालका निर्देशक डा मनीषा रावलले बताइन् । 

१९९० को भूकम्पपछि कलेरा अस्पतालको रुपमा यो अस्पताल स्थापना गरिएको थियो । यस अस्पतालले वीर अस्पतालको सरुवारोग शाखाको रूपमा समेत काम गरेको थियो । कलेरा अस्पतालको रूपमा खोलिएको यस अस्पताललाई २०५३ सालदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामकरण गरिएको थियो । देशको दोस्रो पुरानो अस्पतालको रूपमा चिनिएको यस अस्पतालले पुराना भौतिक संरचना भत्काएर नयाँ भवन निर्माण गर्न लागेको हो ।  

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले ०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ६ वटा भवनबाटै स्वास्थ्य सेवा दिँदै आएको छ । ४० वर्षदेखि पुरानो भवन त्यसमा पनि भूकम्पले क्षति पुर्‍याएका भवनबाट नै ओपीडी, आइसियु, इमरजेन्सी, प्रशासनलगायत सञ्चालन हुँदै आएको छ । 

नयाँ भवन ६ तल्लाको रहनेछ । जसमध्ये ग्राउन्ड फ्लोरमा ओपीडी, इमरजेन्सी, रेडियोलोजी विभाग रहनेछ । यस्तै, पहिलो तल्लामा ओपीडी, फिभर वार्ड र प्रयोगशाला राखिनेछ । 

दोस्रो तल्लामा जनरल वार्ड, इमरजेन्सी आइसोलेसन, तेस्रो तल्लामा हेमाटोलोजी, पोषण, प्रत्यारोपण वार्ड, चौथो तल्लामा रेबिज, टिबी, छालारोग विभाग, पाँचौ तल्लामा आइसीयू, शल्यक्रिया कक्ष, सेमिनार कक्ष राखिने भएको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको टेकु क्षेत्रमा ७२ रोपनी  छ । 

नयाँ भवन निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रदानमा चुनौती भने रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. रावलले नयाँ भवन बनाउने क्रममा सेवा प्रदानमा चुनौती महसुस गरेको बताइन् । सेवा प्रवाहका लागि मन्त्रालय समन्वय गर्न तयार रहेको बताइएको छ ।

कोरोना महामारीमा खटिएर स्वास्थ्य सेवा प्रदान गरी चर्चामा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा विभिन्न किसिमका सरुवा रोगहरुको उपचार हुँदै आएको छ ।

२०७६ सालबाट ४ शय्याको आईसियूबाट २४ शय्या बनाइएको यस अस्पताल विगत लामो समयदेखि झाडापखाला, हैजा, मलेरिया, कालाजार, टिटनस, एचआइभी जस्ता सरुवा रोगको उपचार, कुकुर, सर्पले टोकेकालाई एन्टी रेविज खोप दिँदै आएको छ । यस्तै डेंगु जस्ता सरुवा तथा ट्रपिकल रोगमा काम गर्र्दै आएको छ । 

कोरोना महामारी कालमा यस अस्पतालमा २३ सय १८ जना सङ्क्रमित  भर्ना भएका थिए । जसमा आइसीयूमा ९ सय जनाको उपचार गरिएको थियो । आइसियु भेन्टिलेटरमा राखेर ४७५ जनाको उपचार गरिएको थियो ।

काठमाडौँ उपत्यकामा ४ वर्षपछि देखिएको हैजा ०७९ असार २ गते पहिलो केस देखिएको थियो । त्यसपछि २७ जना हैजाका बिरामीको उपचार गरिएको डा. निर्देशक रावलले बताइन् । डेंगुका बिरामी ७ हजार ९ सय जनाको जाँच र उपचार गरिएको थियो । जसमध्ये ६१० जनालाई भर्ना गरेर उपचार गरिएको थियो । 

टेकु अस्पतालमा प्रथम एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरमा २१ सय ५० जना सङ्क्रमितले एआरटी सेवा लिइरहेको उनले सुनाइन् ।  कुष्ठ रोगीहरुका लागि ल्याप्रोस्कोपी रिफरल सेन्टर स्थापना गरिएकाले अब आनन्द वन जानुपर्ने बाध्यता अन्त्य भएको डा रावलले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप