शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पेट्रोलियम पाइपलाइन थप विस्तार गर्दै निगम

अमलेखगञ्जलाई चितवनसम्म लम्ब्याउने, सिलिगुडीबाट झापासम्म ल्याइने
आइतबार, १५ माघ २०७९, १६ : ०१
आइतबार, १५ माघ २०७९

काठमाडौँ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन आयोजना सफल बनेपछि नेपाल आयल निगमले देशभर पाइपलाइन विस्तारको काम अघि बढाउने भएको छ । कूल ६९.२ किलोमिटर भूमिगत पाइपलाइनबाट यतिबेला निगमले भारतबाट डिजेल आयात गरिरहेको छ । 

अमलेखगञ्ज डिपोले देशको ७० प्रतिशतसम्म डिजेलको माग धान्दै आइरहेको छ । २०७६ सालदेखि सञ्चालनमा आएको उक्त पाइपलाइनबाट डिजेल ल्याउँदा निगमको ढुवानी खर्च वार्षिकरुपमा २ अर्ब रुपैयाँ हाराहारी बच्छ । पाइपलाइन निर्माण हुनुअघि नेपालबाट भारततर्फ पुगेर ट्यांकरहरुले डिजेल गर्दै आइरहेका थिए । तर, पाइपलाइन सञ्चालनमा आएपछि भारततर्फ ट्यांकर जान नपर्दा उक्त रुपैयाँ बराबरको ढुवानी लागत बच्ने गरेको हो ।

डिजेल ल्याउन सुरु गरेको करिब ३ वर्षपछि निगमले अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोल, मट्टितेल र खाना पकाउने एलपीजी ग्यास आयात गर्ने तयारी थालिसकेको छ । यही वर्ष सन् २०२३ को अन्त्यसम्ममा पेट्रोल रमट्टितेलभण्डारण गर्ने ट्यांकीको निर्माण सकेर २०२४ को जनवरीदेखि नै पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत ल्याउने तयारी निगमको छ । निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले पाइपलाइनको दोस्रो चरणको काम सुरु भइसकेको र यसको निर्माण छिट्टै सम्पन्न हुने जानकारी दिएका छन् ।

उनले सन् २०२४ को सुरुदेखि नै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु हुने जानकारी दिए । यसबापत निगमले मासिक १५ करोड र मासिक १ अर्ब ८० करोड ढुवानी खर्च बचत गर्ने यादवको भनाइ छ । यसअनुसार, पेट्रोलियम पाइपलाइनमार्फत डिजेल, पेट्रोल र मट्टितेलको आयात गर्दा वार्षिक कूल ३ अर्ब ८० करोडभन्दा बढी बचत हुने निगमको प्रक्षेपण छ । पाइपलाइन निर्माण सम्पन्न हुनुअघि २० हजार लिटर डिजेल लिन ४०० लिटर डिजेल खर्च गरेर ट्यांकर भारत पुग्थे । यस्तै, यतिबेला २० हजार लिटर पेट्रोल लिन ४०० लिटर डिजेल खपत गरेर ट्यांकर भारत पुग्दै आइरहेका छन् ।

अमलेखगञ्ज पाइपलाइन लोथरसम्म लम्बिने

अमलेखगञ्जसम्म विस्तार गरिएको पाइपलाइन सफल बनेसँगै यसलाई थप लम्ब्याउने प्रक्रिया अघि बढेको छ । ढुवानी लागत र प्राविधिक घाटा (पेट्रोलियम पदार्थ उड्ने क्रम) रोकिएपछि निगम थप उत्साहित बनेको छ । सोही कारण, भारतको मोतिहारीबाट ६९.२ किलोमिटरसम्म फैलिएको पाइपलाइनलाई चितवनको लोथरसम्म ल्याउने गरी काम अघि बढाउने तयारीमा निगम छ । यसका लागि अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटर दूरीमा जमिनमुनि पाइपलाइन विस्तार गर्नुपर्ने छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले चितवनको लोथरमा निगमको नाममा २० बिघा जग्गा रहेको र सोही स्थानमा आधुनिक भण्डारण केन्द्र निर्माणको काम अघि बढिरहेको जानकारी दिए । उनले चितवनमा निर्माण गरिने भण्डारण केन्द्र अत्याधुनिक हुने र उक्त भण्डारण केन्द्रमा १ लाख किलोलिटर पेट्रोल र ४० हजार मेट्रिक टन एलपीजी ग्यास राखिने छ । ६२ किलोमिटर उक्त पाइपलाइनको प्राविधिक अध्ययन सम्पन्न भइसकेको छ । र, प्रारम्भिक अध्ययनअनुसार उक्त पाइपलाइन विस्तार गर्न करिब ५ अर्ब रुपैयाँ लाग्ने देखिएको थियो । तर, अध्ययन सकिएयता महँगी बढेकाले लागत झनै बढ्न सक्ने अनुमान निगमको छ ।

हाल अमलेखगञ्जदेखि लोथरसम्म विस्तार गरिने पाइपलाइनको अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छ । मन्त्रालयबाट निर्णय भएपछि कुन मोडलमा लगानी गर्ने भन्ने विषय समेत टुङ्गो लाग्ने छ । हालसम्म उक्त पाइपलाइन विस्तारमा लाग्ने खर्च कसले ब्यहोर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

सिलिगुडीदेखि चारआलीसम्म अर्को पाइपलाइन 

निगमले यही समयमा भारतको सिलिगुडीदेखि झापाको चार आलीसम्म पाइपलाइन विस्तारको काम समेत अघि बढाइरहेको छ । निगमले भारतको पश्चिम बंगलालको सिलिगुडीदेखि झापाको चार आलीसम्म दक्षिण एसियाको दोस्रो पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना रहेको उपाध्यायले बताए । दक्षिण एसियाको पहिलो पेट्रोलियम पाइपलाइन भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म सञ्चालनमा आइसकेको छ ।

पेट्रोलियम पाइपलाइनको अध्ययन समितिका संयोजक रहेका वीरेन्द्र गोइतका अनुसार झापाको चार आलीमा बन्ने भण्डारण केन्द्र ४४ हजार किलोलिटर क्षमताको हो । र, यो पाइपलाइनको दूरी कूल ५० किलोमिटरको हुनेछ । जसमध्ये १५ किलोमिटर नेपालतर्फ र ३५ किलोमिटर भारततर्फ रहनेछ । यो पाइपलाइनको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार करिब ८ अर्ब भारु लागत अनुमान रहेको छ । जुन, महँगीसँगै बढ्ने सम्भावना छ ।

चार आलीसम्मको र चितवनसम्मको पाइपलानमा कुन मोडलमा लगानी गर्ने भन्ने विषय टुङ्गो लागिसकेको भने छैन । यसको निर्णय दुवैतर्फका सरकारले जूटीजू प्रक्रियामा टुङ्गो लगाउनुपर्ने गोइतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप