शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हरियो धूमकेतु : ५० हजार वर्षपछि पृथ्वीको नजिकबाट गुज्रिने धूमकेतु कस्तो देखिएला ?

बिहीबार, १९ माघ २०७९, ११ : ३२
बिहीबार, १९ माघ २०७९

आजकाल पृथ्वी नजिकैको आकाशमा नयाँ पाहुना आएका छन् ।

हरियो धूमकेतु भनेर चिनिने यो धूमकेतु करिब ५० हजार वर्षपछि पृथ्वीको नजिक आएका कारण विश्वभर चर्चाको विषय बनेको छ ।

अर्थात्, यो धूमकेतु आउनुभन्दा अघि यहाँ पृथ्वीमा नियन्डरथल (४० हजार वर्ष अघि पृथ्वीमा बस्ने मानिसको लोपोन्मुख प्रजाति) बस्थे र यो धूमकेतुले आफ्नो कक्षामा एक चक्कर पूरा गर्ने बेलासम्म आधुनिक मानवको पूरा प्रजाति विकसित भइसकेको छ ।

त्यसैले यो धूमकेतुलाई धेरै मानिसले विशेष मान्छन् । तर धूमकेतु खासमा के हो ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार धूमकेतुहरू सौर्यमण्डलका अवशेषबाट बनेका हुन् ।

सरल शब्दमा भन्नुपर्दा, अन्तरिक्षमा रहेको चट्टान र बरफको मिश्रणबाट बनेका केही गोलो वस्तुलाई धूमकेतुहरू भन्न सकिन्छ ।

धूमकेतु धेरैजसो सूर्यको चारैतिर अण्डाकार कक्षामा परिक्रमा गर्छन् र जब यसले आफ्नो कक्षामा सूर्यको नजिकै आउँछ तब यसका पुच्छर देखिन्छन् । पुच्छरको निर्माण धूमकेतुमा सूर्यको तातोका कारण बरफ पग्लिएका कारण हुन्छ ।

सन् २०२० मा उत्तरी गोलार्धका धेरै ठाउँमा देखेको नियो वाइज कमेटको पुच्छर मानिसहरूले खुला आँखाले देखेका थिए ।

cometकस्ता–कस्ता धूमकेतु

केही धूमकेतुहरूको तुलनात्मक रूपमा छोटो परिक्रमा हुन्छ, जबकि अरूहरू यति लामो हुन्छन् कि तिनीहरूले सूर्यको वरिपरि एक परिक्रमा पूरा गर्न हजारौँ वर्ष लिन्छन् । त्यस्ता धूमकेतुहरूलाई ‘दीर्घकालीन धूमकेतु’ भनिन्छ ।

वैज्ञानिकहरूका अनुसार अधिकांश ‘दीर्घकालीन धूमकेतु’ हाम्रो सूर्यको वरिपरि करिब ३०६ अर्ब किलोमिटर टाढा एक हिउँको बादलबाट आउँछन् ।

सूर्यको वरिपरि रहेको यो बादल हिउँका टुक्राहरूबाट बनेको एक आवरण हो र यसलाई ऊर्ट क्लाउड भनिन्छ ।

वैज्ञानिकहरूका अनुसार धूमकेतु C/2022 E3 (ZTF)  पनि यही उर्ट क्लाउडमा जन्मिएको थियो । यो हरियो रङ भएका कारण, मानिसहरू यसलाई ग्रिन कमेट वा हरियो धूमकेतु भन्छन् ।

comet1धूमकेतु कहिले पत्ता लाग्यो ?

यो धूमकेतु मार्च २०२२ मा पत्ता लागेको थियो । वास्तवमा, यो बृहस्पतिको नजिक नआउन्जेलसम्म वैज्ञानिकहरूले यस बारे थाहा पाउन सकेनन् ।

यसको हरियो रङको कारण के हो ?

यस धूमकेतुमा डाय एटोमिक कार्बन (दुई कार्बन परमाणुको जोडी) प्रचुर मात्रामा छ । वैज्ञानिकहरूका अनुसार यसै कार्बन तत्त्वका कारण यो धूमकेतुले सूर्यको पराबैजनी किरणबाट आउने हरियो प्रकाशलाई प्रतिबिम्बित गर्छ र यो हरियो देखिन्छ ।

जनवरी २०२३ मा, इन्डियन इन्स्टिच्युट अफ एस्ट्रोफिजिक्सले सूर्यको नजिक पुग्दा धूमकेतुको तस्बिर जारी गरेको थियो ।

हिमालयन चन्द्र टेलिस्कोपले यी तस्बिरहरू लद्दाखको हान्ले गाउँबाट खिचेका थिए र यो धूमकेतु हरियो रङको छ भन्ने तस्बिरबाट स्पष्ट हुन्छ ।

वैज्ञानिकका अनुसार यो धूमकेतु फेब्रुअरी २ मा पृथ्वीको सबैभन्दा नजिक हुनेछ भने फेब्रुअरी १० र १२ को बीचमा मङ्गल ग्रहमा पुग्ने छ । त्यसपछि यो उत्तरी गोलार्धबाट  देख्न सकिन्छ ।

मुम्बईको नेहरू प्लेनेटेरियमका निर्देशक अरविन्द पराञ्जपेले भने, ‘यो धूमकेतु पृथ्वीबाट करिब ४.२ करोड किलोमिटरको दूरीमा आउनेछ, जुन सूर्यबाट बुधको दूरी बराबर छ ।’

अरविन्द पराञ्जपे भन्छन्, ‘अहिले यो राती १० बजेतिर उत्तरी क्षितिजको नजिक उदाइरहेको छ । यो बिहान ११ बजेसम्म देखिनेछ । यो धूमकेतुलाई दूरबीनबाट देख्न सकिन्छ ।’

तर अहिले यो धूमकेतुलाई धेरै कम मानिसले खुल्ला आँखाले देख्न पाएका छन् । यसको कारण बताउँदै पराञ्जपे भन्छन्, ‘यो सोचेजस्तो उज्यालो भएको छैन । धूमकेतु वैज्ञानिकले धेरैजसो के भन्छन् भने धूमकेतु बिरालोजस्तै हुन्छन् । यसले कस्तो व्यवहार गर्छ भनेर कहिल्यै थाहा पाउन सक्नुहुन्नँ ।’

महानगरमा प्रदूषणका कारण पनि धूमकेतु देख्न सम्भव छैन । तर यदि तपाईँ अँध्यारो ठाउँमा हुनुहुन्छ भने, तपाईँ निश्चित रूपमा यो धूमकेतु हेर्न प्रयास गर्न सक्नुहुन्छ ।

comet2धूमकेतुहरू किन महत्त्वपूर्ण छन् ?

धूमकेतुहरू हाम्रो सौर्य मण्डलको प्रारम्भिक तत्त्वहरू हुन् ।

धूमकेतुहरूको अध्ययनबाट सौर्य मण्डलको निर्माणको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यसले ब्रह्माण्डका धेरै रहस्यहरू खोल्न सक्छ ।

धूमकेतुको पुच्छरका अवशेषहरू कहिलेकाहीँ पछाडि छोडिन्छन् । जब पृथ्वी यी अवशेषहरूबाट गुज्रन्छ, यी अवशेषहरूबाट उल्का वर्षा देखिन्छ ।

धूमकेतुको कक्षाको अध्ययनबाट यो पनि जानकारी पाउन सकिन्छ कि धूमकेतु कुनै ग्रहबाट ठोक्किनेछ वा पृथ्वीबाट ठोक्किन सक्छ । यसै कारण पनि धूमकेतुहरुको अध्ययन आवश्यक छ ।

६.५ मिलियन वर्ष अघि, मेक्सिकोको चिक्सुलब क्षेत्रमा एक विशाल ज्वालामुखी विस्फोट भयो जसका कारण एउटा ठुलो खाडल बन्यो जुन आज पनि छ । एक सिद्धान्तका अनुसार यही विस्फोटका कारण नै डायनासोर प्रजातिको अन्त्य भयो । केही वैज्ञानिकको के मत छ भने पृथ्वीमा जुन विशाल चट्टान खसेको थियो, त्यो कुनै क्षुद्र ग्रह वा धूमकेतु थियो ।

केही वैज्ञानिकहरूका अनुसार धूमकेतुका कारण पृथ्वीमा पानी पुग्यो र पछि त्यसबाट जीवनको जन्म भयो ।

comet3केही प्रसिद्ध धूमकेतुहरू

हेली धूमकेतु – हरेक ७६ वर्षपछि आउने यो धूमकेतु मानव इतिहासमा धेरै घटनाको साक्षी रहेको छ । यसलाई खुला आँखाले देख्न सकिन्छ । विभिन्न संस्कृतिहरूले यसलाई विभिन्न समयमा रेकर्ड गरेका छन् ।

धूमकेतु शूमेकर–लेवी – जुलाई १९९४ मा, यो धूमकेतु बृहस्पतिसँग ठक्कर पछि नष्ट भएको थियो ।

हेल–बोप धूमकेतु – सन् १९९७ मा यो धूमकेतुको निकै चर्चा भएको थियो ।

धूमकेतु टेम्पल–टटल – प्रत्येक ३३ वर्षमा सूर्यको चारैतिर एक परिक्रमा पूरा गर्ने यस धूमकेतुको भग्नावशेषले प्रत्येक नोभेम्बरमा पृथ्वीमा उल्का वर्षा हुन्छ ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप