मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कलाकार

‘पुरानो हुँदै जाँदा अभिनयको लोभ बढ्ने रहेछ’

सोमबार, २३ माघ २०७९

अब हिरो भएर हलको पर्दामा छाउने लोभ लागेको छ–  कलाकार विजय बरालले रातोपाटीसँग अभिनयमा आफूलाई पछिल्लो समय पलाएको लोभ सुनाए । थिएटर हँुदै फिल्मी क्षेत्रमा छाउन सफल विजयलाई पछिल्लो समय निर्माण भएका थुप्रै फिल्ममा देख्न सकिन्छ । तर अधिकांश फिल्ममा उनले हिरोको साथी, काकालगायतको भूमिकामै  सीमित हुनुपरेको छ । विभिन्न चरित्रमा भिज्दै जाँदा हिरो अर्थात् मुख्य भूमिकाको पनि लोभ पलाउन थालेको विजयले बताए ।

‘कलाकारका रूपमा फरक फरक फिल्म खेल्दै जाँदा नयाँ चरित्र र मुख्य भूमिकाको लोभ अहिले लाग्न थालेको छ,’ विजयले भने, ‘चरित्रले दियो भने हिरो पनि बन्छु ।’ पछिल्लो समय हिरोका लागि आकर्षक अनुहार, मिलेको शारीरिक जिउडालभन्दा पनि फिल्ममा निर्वाह गर्ने चरित्र बन्दै गएको छ । त्यसैले पनि आफूमा हिरो हुने लोभ पलाएको बरालले सुनाए ।

फिल्मका मुख्य कलाकारको बाहिरी चर्चा र पब्लिसिटीले उनका त्यो लोभ पलाएको हो । अहिले उनलाई अभिनेत्रीसँग छमछमी नाचौँ र उडेर केही व्यक्ति ढालौँ भन्ने पनि लाग्छ । ‘कलाकारिता जति पुरानो हँुदै गयो त्यति अभिनयको भोक जाग्ने र लोभ पलाउने रहेछ,’ उनले अनुभव राखे ।

थिएटरले निखार्छ, फिल्मले चिनाउँछ

थुप्रै नाटक, फिल्म र केही म्युजिक भिडियो अभिनय गरिसकेका उनलाई दर्शकले चिन्ने भनेको ‘कबड्डी’ सिरिजका फिल्मबाट हो । ‘कबड्डी’का सबै सिरिजमा उनी मुख्य कलाकार दयाहाङ राईको सहयोगीका रूपमा देखा पारेका थिए । अभिनयका कारण कतिपयले दर्शकले त उनलाई रिलमा मात्र होइन, रियलमा पनि सहयोगी जस्तो ठान्न थालेका छन् । 

‘कबड्डी’मा दयाहाङको साथीका रूपमा देखिए पनि आफ्नो भूमिका हिरोकै रहेको उनी सुनाउँछन् । ‘चरित्रको हिसाबले ‘कबड्डी’को म पनि हिरो हो । काजीलाई मैले धेरै साथ दिएको छु । मेरो साथबिना काजीको भूमिका अधुरो लाग्छ,’ उनले थपे । 

328281303_912150283315623_1923799435151096098_n

नाटकका खारिएका कलाकारमा पर्ने उनी ८ कक्षा पढ्दा क्यारिकेचर कलाकार बन्ने सोचमा थिए । त्यो समय उनी गीतमा पनि नाच्थे । कमेडियन बन्ने रहरले अभिनयमा होमिएका उनी सुरुमा थिएटर आर्टिस बने, त्यसपछि फिल्म कलाकार र म्युजिक भिडियो मोडल ।

फिल्म, म्युजिक भिडियो र थिएटर सबैमा छाउन सफल उनलाई अभिनयमा सबैभन्दा बढी आनन्द थिएटरले दिन्छ रे । ‘थिएटर अभिनय समय दिएर गर्न पाइन्छ । फिल्मको कस्तो भूमिका कतिखेर गर्नुपर्छ थाहा नै हँुदैन,’ उनले सुनाए । थिएटर र फिल्म अभिनयको बुझाइ उनको अर्काे पनि छ । त्यो हो फिल्मले लोकप्रिय बनाउँछ, थिएटरले अभिनय निखार्छ । थिएटर करिब एक हजारले हेर्ने र फिल्म लाखौँले हेर्ने भएकाले चर्चा र लोकप्रिय कलाकारलाई थिएटरले भन्दा फिल्मले दिलाउने उनले सुनाए ।

बलिउड छिर्न मन छ 

विजय पछिल्लो समय एकदमै व्यस्त छन् । फिल्म ‘ह्यारी कि प्यारी’, थिएटर घर मण्डलाको गतिविधि उनको व्यस्तताका कारण हो । ‘फिल्म ह्यारी कि प्यारी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । सामाजिक कथा र कमेडी विषयवस्तुमा निर्माण भएको फिल्ममा उनी  फिल्मको मुख्य क्यारेक्टर ‘ह्यारी’ जितु नेपालको काका बनेका छन् । अन्य फिल्मभन्दा यसमा आफ्नो भूमिका फरक रहेको उनले बताए । भन्छन्, ‘कबड्डी’देखि अन्य केही फिल्मबाट साथीका रूपमा बनेको मेरो परिचय ‘ह्यारी कि प्यारी’को काकाले फेर्छ । किनभने यो फिल्मको चरित्र सबैको मनमा बस्नेछ ।

327959451_553706660158892_679370781075059564_n

हरेक फिल्म अभिनयमा विजयलाई फरक फरक चरित्र निर्वाह गर्न मन छ । तर समस्या, जति पनि निर्माता निर्देशक उनलाई फिल्म अफर गर्छन् । प्रायः उस्तै खालको भूमिका दिन्छन् । केही फरक होस् भनेर उनी अफर आएका मध्ये पनि फरक देखिने भूमिका रोज्ने गर्छन् ।

केही नेपाली कलाकार बलिउडमा सङ्घर्षरत छन् । अभिनेता विपिन कार्कीले पनि एउटा बलिउडको फिल्म पाएका थिए । तर समय अभावका कारण उक्त फिल्म छोडे । उनलाई पनि अहिले बलिउड फिल्ममा पनि काम गर्न मन लागेको छ । त्यसैले बलिउड छिर्ने माध्यमको खोजीमा छन् उनी ।

एक दिन आफूलाई त्यो अवसर प्राप्त हुने विश्वास उनमा छ । बलिउडको अलवा एकदमै इन्ट्रोभर्स, कम बोल्ने, इमोसनल भूमिकामा आफूलाई देखिन मन लागेको उनी बताउँछन् । ‘एकै चरित्रले वर्षाैं वर्षसम्म दर्शकको मनमा बस्ने भूमिका अझै मैले गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया