शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

सरकार नढल्ने माओवादीको बुझाइ, एकीकृत समाजवादी र जसपामाथि भर

राष्ट्रपतिको निर्वाचन पर्खिँदै कांग्रेस
सोमबार, २३ माघ २०७९, १९ : ०४
सोमबार, २३ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको आज ४३ दिन पुग्यो । गत पुस १० गते राष्ट्रपतिबाट नियुक्त भएका प्रचण्ड पुस ११ गते शपथ लिएका थिए ।

यसै क्रममा ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ४२ औं दिनमै संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ ।

रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्ड सरकारका विषयमा अनेक टीकाटिप्पणी हुन थालेको छ । सरकारले पूर्णता नपाउँदै रास्वपा बाहिरिनुलाई प्रचण्ड सरकार धरमराउन थालेको विश्लेषण हुन थालेको छ ।

अहिले प्रधानमन्त्री प्रचण्डले ५ मन्त्रालय आफैले राखेका छन् । जसमा गृहसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय छन् ।

प्रधानमन्त्री प्रचण्डले लामो समय ५ मन्त्रालयको जिम्मेवारी एक्लै सम्हाल्दा प्रभावकारी काम गर्न सकस हुनेछ । साथसाथै कुनै दलले साथ छाडेमा सरकार अफ्ठ्यारोमा पर्ने कतिपयको भनाइ छ ।  तर, एकीकृत समाजवादी र जसपा सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेकाले परिस्थिति सहज हुने सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रको बुझाइ छ ।

नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले सरकार कम्फर्ट जोनमै रहेको जिकिर गरे । ‘हाम्रो नेतृत्वको सरकार अप्ठ्यारोमा छैन । कम्फर्ट जोनमै छ । सत्तापक्ष विपक्ष सबैले विश्वासको मत दिएकाले ढुक्क छौं,’ पोखरेलले भने, ‘एकीकृत समाजवादी र जसपा सरकारमा सहभागी हुने भन्ने विषयमा छलफल भएकाले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा आशावादी छौैं ।’

रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन कायम भएकाले प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था कायमै देखिएको पोखरेलले बताए ।

सरकारमा सहभागी हुने विषयमा एकीकृत समाजवादी र जसपाका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग नियमितजसो संवादमा छन् ।  रवि लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिने चेतावनी दिएलगत्तै एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल हालै प्रचण्डलाई भेट्न पेरिसडाँडा पुगेका थिए ।

माओवादी स्थायी समिति बैठक जारी रहेकै बेला सरकारमा सहभागी हुने विषयमा छलफल गर्न उपमहासचिव पौडेल प्रचण्डलाई भेट्न पुगेका थिए । त्यस भेटमा प्रचण्डले उनलाई परिस्थितिको चित्र स्पष्ट नभएकाले सरकारमा सहभागी हुने विषयमा पछि संवाद गर्नुपर्ने बताएका थिए ।

अहिले लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएपछि एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुने वातावरण सहज बन्दै गएको छ ।

यस्तै, प्रधानमन्त्री नजिक रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई समेत सरकारमा सहभागी हुने विषयमा सहज हुने देखिएको छ ।

उता, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी हुन परिस्थिति अनुकूल हुन थालेको छ ।

तर, प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार सरकारमा सहभागी हुने विषयमा राष्ट्रपतिको चुनावपछि मात्रै हुनसक्ने बताए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नजिकै आइसक्यो । राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा समझदारी बनाएर जानुपर्ने अवस्था छ,’ ती सदस्यले भने, ‘राष्ट्रपति उपराष्ट्रपतिमा एउटा अन्डरस्ट्याण्डिङ बनाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने दिशातिर जान सक्छ ।’

राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने भएकाले तत्काल मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको ती सचिवालयका सदस्यको दाबी छ ।

रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएको ३२ दिनमै राजीनामा दिन बाध्य भएका छन् । गैरसांसदको रुपमा गृह मन्त्रालय फर्किन खोजेपनि प्रचण्ड तयार नभएपछि रास्वपा सरकारबाटै बाहिरिएको छ ।

शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डीपी अर्याल र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की १९ दिनमै सरकारबाट बाहिरिएका छन् ।

राष्ट्रपतिको निर्वाचन पर्खिँदै कांग्रेस

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस प्रतिपक्षबाट विमुख हुँदै सत्तातिर नजिकिँदै गएको छ । एमाले विरुद्ध प्रतिस्पर्धाको नीति लिएको काँग्रेस माओवादीसँग भने सहकार्यको नीति अपनाउँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिएर सहयोग गरेको छ । काँग्रेसले उम्मेदवारी नदिएपछि माओवादीकी उर्मिला अर्याल सर्वसम्मत रुपमा चयन भइसकेकी छन् ।

यस्तै लुम्बिनी प्रदेशका सभामुख, प्रदेशको १ को उपसभामुख लगायत प्रदेशका पदहरुमा उम्मेदवारी नदिएर काँग्रेसले माओवादीलाई सहयोग गरेको थियो ।

राष्ट्रपति चुनावमा माओवादीबाट सहयोग पाउने काँग्रेसको अपेक्षा छ । काँग्रेसले माओवादीलाई निरन्तर सहयोग गर्नु, माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्ने अडानले दुई पार्टीको दूरी घट्दै गएको देखाउँछ ।

उता कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले र काँग्रेसबीच द्वन्द्व बढ्दै गएको छ । राष्ट्रपतिको चुनावमा च्याँखे थापेर काँग्रेस एमालेलाई सरकारबाट बहिर्गमन गराएर आफू पस्ने दाउमा छ । त्यसैले, भूमिगत रुपमा काँग्रेस र माओवादी नेताहरुबीच संवाद जारी छ ।

रास्वपा सरकारबाट बाहिरिएपछि राष्ट्रपतिको चुनावसम्म ऊ एमालेबाट टाढिने अनि काँग्रेससँग नजिकिने विश्लेषण छ ।

माओवादीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्ने मुद्दाले एमाले टाढिएमा परिस्थिति सहज बन्ने काँग्रेसको विश्लेषण छ ।

त्यसैले, कांग्रेसले माओवादीसँग सहयोगको नीति तथा एमालेसँग प्रतिस्पर्धाको नीति अंगीकार गरेको छ । राष्ट्रपतिको चुनावसम्म परिस्थिति कस्तो बन्ला ? त्यसैको आधारमा कांग्रेस सरकारमा सहभागी हुने या नहुने तय हुने परिस्थिति देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप