शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेड इन चाइना’ क्यामरा हटाउने अस्ट्रेलियाको बयानमा चीनले के भन्यो ?

शुक्रबार, २७ माघ २०७९, १४ : ०२
शुक्रबार, २७ माघ २०७९

अस्ट्रेलियाले ‘मेड इन चाइना’ क्यामरा हटाउने निर्णय गरेपछि चीनको जवाफ आएको छ । 

चिनियाँ विदेश मन्त्रालयले कडा आलोचना गर्दै राष्ट्रिय सुरक्षाको माग गर्दै चिनियाँ कम्पनीलाई रोक्न खोज्नु गलत भएको बताएको छ ।

बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा चिनियाँ सरकारले चिनियाँ कम्पनीहरूलाई बजार नियम र अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनको दायराभित्र रहेर काम गर्न प्रोत्साहन गर्ने प्रयास गरेको बताए ।

उनले भने, ‘राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाइचढाइ गर्ने र चिनियाँ कम्पनीको काम रोक्न बल प्रयोग गर्ने र उनीहरूमाथि भेदभाव गर्ने कुराको हामी कडा आलोचना गर्छौँ ।’

‘हामी आशा गर्छौँ कि अस्ट्रेलियाली पक्षले चिनियाँ कम्पनीहरूलाई सञ्चालन गर्न निष्पक्ष, न्यायोचित र भेदभावरहित वातावरण प्रदान गर्नेछ र दुई देशहरूबीच आपसी विश्वास र सहयोग अभिवृद्धि गर्न थप कदमहरू चाल्नेछ ।’

हालै अस्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रमा जडान गरिएका ‘मेड इन चाइना’ सेक्युरिटी क्यामेरा हटाउने बताएका थिए ।

उनले भनेका थिए, ‘यो एउटा महत्त्वपूर्ण तथ्य हो जुन सार्वजनिक भएको छ र हामी यसबारे काम गरिरहेका छौँ । हामी निगरानी प्रविधिको समीक्षा गर्नेछौँ र हाम्रा ठाउँहरू पूर्ण रूपमा सुरक्षित छन् भनेर सुनिश्चित गर्नेछौँ ।’

पत्रकार सम्मेलनमा, समाचार एजेन्सी एएफपीले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङलाई अस्ट्रेलियाली रक्षा मन्त्रीको भनाइप्रति प्रतिक्रिया दिन आग्रह गरेको थियो र अस्ट्रेलिया सरकारको यो कदमले सेक्युरिटी क्यामरा बनाउने हिकविजन र दाहुआजस्ता चिनियाँ कम्पनी प्रभावित हुने बताइएको थियो ।

chineseहालै एउटा अडिट रिपोर्ट सार्वजनिक भएको थियो जस अनुसार २५० भन्दा बढी सरकारी भवनमा कम्तीमा चीनमा बनेको सेक्युरिटी क्यामरा राखिएका छन् । यी भवनमा रक्षा मन्त्रालय, विदेश मन्त्रालय, अर्थ मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय समावेश छन् ।

समाचार एजेन्सी निक्केई एसियाका अनुसार अघिल्लो वर्ष नोभेम्बरमा बेलायती सरकारले सबै सरकारी विभागसँग राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै संवेदनशील स्थानमा चीनसँग सम्बन्धित सर्भिलान्स क्यामरा नलगाउन भनेको थियो । 

यसअघि अमेरिकाले पनि सुरक्षाको कुरा उठाउँदै केही चिनियाँ कम्पनीको उपकरणको प्रयोगमा रोक लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप