बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड फकाउन देउवाको ‘दूत’ बने गगन

राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किनेमा कांग्रेस आशावादी
शुक्रबार, २७ माघ २०७९, १९ : ०९
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । पुरानो गठबन्धन ब्युँताउन नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफललाई तीव्रता दिएका छन् । सत्ता गठबन्धनमा खटपट देखिएपछि यसअघिको पाँच दलीय गठबन्धन ब्युँताउन कांग्रेस र एकीकृत समाजवादीको जोडबल छ । 

यसै सन्दर्भमा बिहीबार मात्र प्रधानमन्त्री प्रचण्डसँग कांग्रेसका महामन्त्री गगन थापा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटवार्ता भएको थियो । स्रोतका अनुसार बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापाबीच राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणका विषयमा छलफल भएको थियो । 

भेटमा महामन्त्री थापाले एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीबाट विगतको भएको समानान्तर शक्तिको अभ्यास स्मरण गराएका थिए । ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार निर्वाचित भए समानान्तर शक्तिको अभ्यास हुन्छ । यो बेलामा आजको कुरा मात्र हेरेर हुँदैन,’ थापाको भनाइ थियो । 

‘एमालेसँग सिंगल डिल गरिएको हो । त्यहाँ केपी ओलीजीसँग सहमति भए पुग्छ । कांग्रेसमा त्यस्तो अवस्था मैले देखेको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

आजको सत्ता समीकरण हेरेर राष्ट्रपतिमा एमालेको उम्मेदवार निर्वाचित गराए संविधान दुर्घटना हुन सक्ने थापाले प्रचण्डलाई सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले उक्त कुरा आफ्नो पार्टीभित्र पनि उठेको सुनाएका थिए । राष्ट्रपति एमालेको हुँदा संविधान दुर्घटनामा पर्ने सक्ने खतरालाई मध्यनजर गरेर माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरेको प्रचण्डको भनाइ छ ।

केही दिनमा माओवादी केन्द्रले एमालेलाई राष्ट्रपतिमा सहयोग गर्न नसक्ने संस्थागत निर्णय गर्ने महामन्त्री थापालाई प्रचण्डले संकेत दिएको कांग्रेस स्रोतको दाबी छ । कांग्रेसका एक नेताले भने, ‘विश्वासको वातावरण बन्दै गएको छ । माओवादी चाँडै निर्णयमा पुग्ला ।’

स्रोतका अनुसार सत्ता गठबन्धनभित्र पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमति तोडेर अगाडि बढ्दा आउने परिस्थितिबारे पनि प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापाबीच गहन ढंगले छलफल भएको छ ।

प्रचण्डको जिज्ञासा मेटाउन सभापति देउवाले महामन्त्री थापालाई एक साता अघि बालुवाटार पठाएको कांग्रेस स्रोत बताउँछ ।

माओवादीका नेताहरूका अनुसार सात दलीय गठबन्धन तोड्ने जोखिम उठाइ पुरानो गठबन्धन ब्युँताएर आउँदा कांग्रेसमा सबैको सहयोग हुन्छ कि हुँदैन भन्ने प्रचण्डको गहिरो चासो छ ।

‘एमालेसँग सिंगल डिल गरिएको हो । त्यहाँ केपी ओलीजीसँग सहमति भए पुग्छ । कांग्रेसमा त्यस्तो अवस्था मैले देखेको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । गत मङ्सिरमा भएको स्थानीय र आम चुनावमा कांग्रेसको एउटाको शेखर कोइराला र गगन थापा पक्षले सहयोग नगरेको माओवादी नेताहरूले आरोप लगाउँदै आएको अवस्था छ ।

भोलि गठबन्धन ब्युँताउँदा कांग्रेसको एउटा पक्षले भाँजो हालिराख्ने हो कि भन्ने भय प्रचण्डमा छ । त्यसैले भेटमा थापाले प्रधानमन्त्री प्रचण्डलाई सिंगो कांग्रेसको पूर्ण सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन ब्युँताउन तीन कुराको प्रष्टता चाहेका थिए । कांग्रेस स्रोतका अनुसार सत्ता गठबन्धनको विकल्प खोज्दा आगामी पाँच वर्ष सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने, त्यसमा कांग्रेसले लिखित सहमति नै गर्नुपर्ने र यसमा कांग्रेसको सिंगो पंक्तिको साथ हुनुपर्ने प्रचण्डको अपेक्षा थियो । त्यसमा पनि कांग्रेसको संस्थापन इतर पक्षको मनोविज्ञान बुझ्न प्रधानमन्त्री प्रचण्डले आफै उनीहरूसँग संवाद गर्न चाहेका थिए ।

प्रचण्डको सोही जिज्ञासा मेटाउन सभापति देउवाले महामन्त्री थापालाई एक साता अघि बालुवाटार पठाएको कांग्रेस स्रोत बताउँछ । महामन्त्री थापाले राष्ट्रपति निर्वाचन र आगामी सत्ता सहकार्यका लागि कांग्रेस एकमत रहेको सन्देश प्रचण्डसमक्ष पुर्‍याइसकेका छन् ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनपछि पुरानो गठबन्धन ब्युँताएर जाँदा भोलि फेरि आफूविरुद्ध छिमेकीको चलखेल हुने हो कि भन्ने प्रचण्डलाई चिन्ता छ । किनभने पहिलो चरण प्रधानमन्त्री छाड्ने वचनबाट देउवा ब्याक हुनुमा अन्तर्राष्ट्रिय शक्तिको चलखेलको मुख्य भूमिका रहेको प्रचण्डको बुझाइ छ ।

अब सुदूरपश्चिमबाट नै पुरानो गठबन्धन ब्युँतिने कांग्रेस नेताहरूको दाबी छ ।

माओवादी नेताहरूका अनुसार पाँच दलीय गठबन्धन भत्किनुमा कांग्रेस नेता विमलेन्द्र निधि र तत्कालीन प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदी पनि जिम्मेवार छन् । निधि र सुवेदीले एमाले र शक्ति केन्द्रको ढाडस दिँदा देउवा प्रधानमन्त्री छाड्न तयार नभएको नेताहरूको बुझाई छ । 

अहिले भने विगतमा भएको कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न प्रचण्डसँग कांग्रेसले प्रतिबद्धता जनाएको स्रोतको दाबी छ । अबको केही दिनमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा ‘तपाईंको उम्मेदवारलाई सहयोग गर्न सक्दिनँ’ भन्ने अवस्था सिर्जना हुने कांग्रेस नेताहरूको रिडिङ छ । त्यो अवस्थामा सत्ता गठबन्धनमा उथलपुथल आउन सक्ने र त्यही बीच एमाले सरकारबाट बाहिरिए कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा इन्ट्री लिन सक्ने उनीहरूको विश्वास छ ।

‘राष्ट्रपतिको निर्वाचनबाट राष्ट्रपति मात्र प्राप्त हुन्थ्यो र अरू केही प्राप्त हुने अवस्था थिएन भने कांग्रेसले यत्रो धेरै ‘पापड’ पेल्दैनथ्यो,’ कांग्रेस स्रोत भन्छ । राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किन्छ भन्नेमा कांग्रेसका अधिकांश नेता आशावादी छन् । 

बिहीबार साँझ गठबन्धन ब्युँताउने विषयमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पनि लामै छलफल भएको थियो । अध्यक्ष नेपालका अनुसार सात दलीय गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनमा असहजता महसुस गरेका छन् । प्रचण्डलाई भेटेपछि नेपाल शुक्रबार नै देउवा निवास धुम्बाराही पुगेका थिए ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकारलाई माओवादीले पनि विश्वासको मत दिने अध्यक्ष नेपालको दाबी छ । एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् ।

कांग्रेस र एकीकृत समाजवादी सम्मिलित शाह सरकारमा माओवादी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराउने तयारी छ । अब सुदूरपश्चिमबाट नै पुरानो गठबन्धन ब्युँतिने कांग्रेस नेताहरूको दाबी छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखक सुदूरपश्चिम प्रदेशको पराकम्प केन्द्र सरकारसम्म पुग्ने बताउँछन् । 

शुक्रबार (आज) बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक हार्दिकता पूर्ण हुन नसकेको सङ्केत देखिएको छ । एमालेका अध्यक्ष केपी ओलीले आज संसद् भवनबाट बाहिरिँदा गठबन्धनको भविष्यबारे प्रस्ट जवाफ दिएनन् । सञ्चारकर्मीले ‘सुदूरपश्चिम सरकार जोगाउन सक्नुभएन, काठमाडौँको सरकार के होला अध्यक्षज्यू’ भनेर प्रश्न गर्दा ‘हेर्दै जाऔँ’ भन्ने ओलीको टिप्पणी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप