शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश

आइतबार, २९ माघ २०७९, १८ : ४१
आइतबार, २९ माघ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेश गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिइन् ।

उनले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएकाले समयमा नै निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने विषयलाई प्रमाणित गरेकामा आयोगलाई धन्यवादसमेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य निरन्तररुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूलाई पायकपर्ने स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न आग्रह गरिन् ।

साथै उनले मतदानस्थलको सुरक्षा र सबै मतदाताले आफ्नो मताधिकार निर्वाधरूपमा प्रयोग गर्नसक्ने स्थितिको सिर्जना गर्न तथा निर्वाचनको समयपूर्व मतदाता शिक्षालाई घर परिवारस्तरसम्म पु¥याउन देशभरका सबै माध्यमिक विद्यालयलाई लक्षित गरी निर्वाचनसम्मबन्धी विशेष जागरण अभियान सञ्चालन गर्न ध्यान दिन आग्रह गरिन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गत आर्थिक वर्षमा भएका मुख्य गतिविधि र प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान तथा कानुनको अधीनमा रही कार्य सम्पादन गर्दै आएको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाका साथै  निर्वाचन आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपथिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप