शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
संसद बैठक

संसदमा चन्द्र भण्डारीको प्रश्न– नेपाललाई ३२ वर्षसम्म एउटा अस्पताल बनाउन कसले रोक्यो ?

बुधबार, ०३ फागुन २०७९, १३ : २२
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपाल विकासको गतिमा झन् पछाडि पर्दै गएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विश्व कृत्रिम सूर्य बनाउने अवस्थामा पुगेको अवस्थामा ६५ वर्षदेखि नेपाली नेताहरू भने खाना, नाना र छानाको आश्वासन दिँदैमा व्यस्त रहेको बताए ।  उनले भने– ‘यति धेरै सांसदहरू, यति धेरै सभासदहरु, यति धेरै मन्त्रीहरू हामी पालेर बसिरहेका छौँ के का लागि ? आज यो प्रश्न हामीसँग आएको छ । आज हामी गम्भीर बन्न सकेनौँ भने जतिसुकै हामीले गणतन्त्रको कुरा गरे पनि, जतिसुकै आधुनिकताको कुरा गरे पनि, जतिसुकै इतिहासका कुरा गरे पनि, आफ्नो पार्टीलाई जतिसुकै बलियो बनाए पनि अब हामी अगाडि बढ्न सक्ने अवस्थामा छैनौँ ।’ 

उनले विश्वमा यति धेरै प्राकृतिक स्रोत र साधनले सम्पन्न देश के भएर पनि किन गरिब भएको भन्ने प्रश्न आउने गरेको बताउँदै नेपालको शिक्षा नीति पनि कमजोर रहेको बताए ।  उनले भने– ‘हाम्रो पाठ्यक्रम, हामीले सञ्चालन गरेको विश्वविद्यालयमा युवाहरू पढ्न जान चाहँदैनन् । हामीले बनाएको शिक्षा २ थरीको छ । धनीले प्राइभेट स्कुल पढ्छ गरिबले सरकारी स्कुल पढ्छ । विश्वमा यस्तो सिस्टम कहाँ छ  ?  कुन देशमा यो स्थिति छ ? पाठ्यक्रम हामीले समयमा निर्माण गर्न सक्दैनौँ । बनाएका पाठ्यक्रमहरू पनि अनुसन्धानमूलक छैनन् । धेरै वर्षअघि बुढानीलकण्ठ स्कुल जहाँ धनी र गरिबको कुनै वर्ग थिएन । त्यो स्कुललाई पनि हामीले मुलुकभरि फैलाउन सकेनौँ ।’
सांसद भण्डारीले स्वास्थ्यका क्षेत्रमा पनि नेपाल झन् कमजोर बन्दै गएको टिप्पणी गरे । 

उनले भने– ‘आज विश्व टेलि एजुकेसनमा गएको छ, टेलिमेडिसिनमा गएको छ । यो अवस्था कसलाई सुनाउने ? हामी क्यान्सरको बिरामी भयौँ, मिर्गौलाको बिरामी भयौँ भने हामी सांसदले त सम्पत्ति बेचेर उपचार गर्न सक्दैनौँ भने गरिबको अवस्था के होला ? आज सबैभन्दा महँगो औषधी छ, औषधी माफियाहरूको जगजगी छ, आज धेरै संरचनाहरू बनाएका छौँ, डाक्टर नर्सहरू उत्पादन गरेका छौँ आज दरबन्दी कहीँ पनि खुल्दैन । जनताले कर तिरेर पढाएका डाक्टरहरू आज नेपाल बस्न चाहँदैनन् ।’

उनले सामान्य शिक्षा पढेकाहरूका लागि लोक सेवाको विज्ञापन खोले पनि इन्जिनियरहरू र डाक्टरहरूका लागि भने विज्ञापन नखोल्ने गरिएको बताए ।  आफूले ३२ वर्षको राजनीतिक अनुभवमा नेपालको जस्तो अवस्था विश्वमा कहिँ पनि नदेखेको बताए । उनले दिल्लीका मुख्यमन्त्री केजरीवालले ६ महिनामा १७ सय बेडको ७ वटा हस्पिटल बनाउन लागेको र त्यसमा दिल्लीवासीका लागि निःशुल्क उपचार गर्न लागेको प्रतिबद्धता जनाएको उल्लेख गर्दै नेपाललाई ३२ वर्षसम्म एउटा अस्पताल बनाउन कसले रोकेको भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप