बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्तिका कारण सुदूरपश्चिम सरकार ढल्यो : लेखराज भट्ट

बिहीबार, ०४ फागुन २०७९, १५ : ११
बिहीबार, ०४ फागुन २०७९

कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले सुदूरपश्चिम सरकार ढल्नुको मुख्य कारण नागरिक उन्मुक्ति पार्टी रहेको जिकिर गरेका छन् ।

प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएको कारण प्रदेश सरकार ढल्ने अवस्था आएको दाबी गरे ।

एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यथास्थितिमा नागरिक उन्मुक्ति पार्टीले साथ नदिएको अवस्थामा कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको दाबी गरे । 

‘रेशम चौधरीको रिहाइ उहाँहरूको शर्त थियो । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले सरकारले चाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था थिएन । तर हामीले सरकारको तर्फबाट सक्दो पहल गछौँ भनेका थियौँ,’ उनले भने, ‘रेशम जी त्यो कुरालाई बुझ्नुभएन । उहाँले तत्कालै छुटाउनुपर्छ भन्नुभयो । सर्वोच्चमा विचाराधीन मुद्दामा राजनीतिक निर्णय गर्ने प्रचलन छैन । अप्ठ्यारो हुन्छ । सोही कारण नाउपाको साथ पाइएन । हामी र माओवादीले जोगाउन सक्ने अवस्था थिएन ।’

त्यस्तै सचिव भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार राष्ट्रपति चयन हुने बताएका छन् । गठबन्धनको सहमतिअनुसार एमालेकै उम्मेदवार राष्ट्रपतिमा चयन हुने बताए ।

‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ ? भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्नुको अर्थ सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्ति भएको बताउँदै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने दाबी गरे । राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको समेत उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप