आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा झोलुङ्गे पुल जीर्ण, स्थानीय जोखिम मोलेर तर्न बाध्य

बुधबार, १० फागुन २०७९, १६ : ३२
बुधबार, १० फागुन २०७९

मुगु । सोरु गाउँपालिकाको कुलाहास्थित झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुका बासिन्दालाई वारिपारि गर्न मुस्किल भएको हो ।

मुगुको कर्णाली नदीमा २०३९ सालमा निर्मित कुलाहा झोलुङ्गे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ । 

खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताए । उनका अनुसार पुलमा बिछ्याइएका पाता सबै उप्किएका छन् भने वरपरको तार जाली खियाले चुँडिएको छ । 

“टाढाबाटै हेर्दा पुल डरलाग्दो छ, एकजनाभन्दा बढीले पुल तर्न सकिँदैन”, उनले भने, “हिँडाइको सन्तुलन नमिले कुन बेला नदीमा खसिने हो थाहै हुँदैन ।” क्षतविक्षत भएको उक्त पुलमा पशुचौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उनले बताए । उनका अनुसार हिउँद लागे पनि कर्णाली नदीको बहाव नघटेकाले अहिले पनि नदी तर्न सकिँदैन ।

स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गर्छन् । योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकको काममा र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए । उनका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छाड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनको गुनासो छ । 

सोरु गाउँपालिकास्थित नेरघाट झोलुङ्गे पुल पनि लामो समयदेखि जीर्ण छ । गत वर्षायाममा माथिबाट ढुङ्गा खस्दा पुलमा क्षति भएको हो । विसं २०५२ मा निर्माण गरिएको उक्त पुलको झन्डै आठ महिनादेखि मर्मत गरिएको छैन । उक्त पुल जीर्ण भएपछि नेर र हुम्लाको जैरगाउँका बासिन्दालाई वारिपारि गर्न समस्या भएको छ । 

बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भए पनि कम बजेट हुँदा समस्या भएको सोरुका अध्यक्ष धर्मबहादुर शाहीले बताए  । उनका अनुसार पालिकाभरि कति पुल जीर्ण भएका छन् र ती पुल मर्मत गर्न कति बजेट आवश्यक पर्छ भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको छ ।

गत असोजमा भएको वर्षाका कारण जिल्लाभरिका १३ पुलमा क्षति पुगेको थियो । पञ्चायतकालदेखि अहिलेसम्म जिल्लामा रहेका विभिन्न खोला र नदीमा ६५ झोलुङ्गेपुल निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप