शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुस १० को सहमति कार्यान्वयनमा नआए सरकारमा बस्दैनौँ : योगेश भट्टराई

बिहीबार, ११ फागुन २०७९, २१ : २४
बिहीबार, ११ फागुन २०७९

रुकुम । नेकपा (एमाले) का सचिव योगेश भट्टराइले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने स्पष्ट गरे ।

विभिन्न मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनले बताए । सत्ता समीकरण फेरिनु नहुने उनको भनाइ छ । छिटोछिटो सत्ता समीकरण फेरिँदा देशको छवि नराम्रो हुने उनले बताए ।

यसैबीच उनले गत पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उक्त सहमतिअनुसार नभए एमाले सरकारमा नबस्ने उनले बताए । पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले दाबी गरे । सोही सहमतिअनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उनको भनाइ छ । 

“तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो”, उनले भने, “सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमतिअनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप