शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

मुआब्जा विवादले छोट्टियो चक्रपथ विस्तारको दूरी

दोस्रो चरणमा कलंकीदेखि बसुन्धरासम्म मात्र बन्ने
शुक्रबार, १२ फागुन २०७९, १३ : ४७
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । मुआब्जा विवादका कारण दोस्रो चरणको चक्रपथ विस्तारको काम अब कलंकीदेखि बसुन्धारा खण्ड ८.४ किलोमिटर मात्र निर्माण हुने हुने भएको छ ।  नारायणगोपाल चोकस्थित घर तथा टहरको मुआब्जा विवाद हुदा कलंकी देखि–धोवीखोला (गोपीकृष्ण हल नजिकको पुल) सम्म सडक विस्तार छोट्टिएको हो। 

दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म मात्र सडक विस्तार हुने भएपछि अहिले बिजुलीको पोल सार्ने, ढल हाल्ने काम, मन्दिर हटाउने काम अन्तिम चरणमा पुगेको छ । यसअघि कोभिड–१९ र अरू विभिन्न कारणले गर्दा काम सुरु हुन नसकेको बहाना थियो । चार वर्ष बितिसक्दा पनि पूर्ण रूपमा साइड क्लियर हुन नसकेपछि बिहीबार उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनिया राजदूत चेन सोङ, काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ लगायतको टिम स्थलगत निरीक्षणमा पुगेका थिए। 

काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीका अनुसार विगतमा तयारी नगरी काम सुरु गर्दा सबैले दुःख पाउने, बाटो भत्किने, बन्न समय लाग्ने भएकाले पूर्वतयारी कामहरूको अवस्थाबारे जानकारी लिन अनुगमनको लागि गएको बताइन् ।  उनले अनुगमनका क्रममा दुवै पक्षले साइड क्लियरको काम अन्तिमता पुगेकाले अब छिट्टै काम सुरु गर्ने छलफल भएको जनाइन्। 

यस अघि दोस्रो चरणको सडक खण्डमा स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यलाई हटाएर सडक विस्तार गर्न खोजेपछि स्थानीयले अवरोध गर्दा विवाद भएको थियो। तर, अहिले त्यस क्षेत्रमा बुद्धको मूर्तिलाई यथास्थितिमै राखेर सडकको डिजाइन नै परिवर्तन गरेर निर्माण कार्य अगाडि बढाउने भएको छ । 

त्यसै गरी, चक्रपथ विस्तारका क्रममा दुई हजार भन्दा बढी रुख काट्ने काम सम्पन्न भइसकेको छ। 

कलंकी देखि–धोवीखोला पुलसम्म ११.६ किलोमिटर सडक विस्तार हुने भएता पनि नारायणगोपाल चोकमा मुआब्जाको विवादले गर्दा पहिलो चरणमा कलंकीदेखि बसुन्धारासम्म मात्र सडक निर्माण हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए ।

प्रवक्ता नेपालका अनुसार मुआब्जाको विवादको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले दुई चरणमा निर्माण गर्नु परेको हो । सडक विस्तारका लागि अझै केही कामहरु भइरहेको र काम सकिएपछि चिनिया पक्षसँग डिजाइनको काम गर्नुपर्ने उनले बताए । 

लगभग पूर्वतयारीको कामहरु सकिएकाले अब परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयमा साइड क्लियरको काम सकेको फाइल पठाएपछि मात्र चिनियाँ पक्षले कलंकीदेखि बसुन्धारसम्मको सडक खण्डको डिपीआर तयार पार्ने छ । ‘डिजाइनको काम अझै गर्न बाँकी छ। अब कहिलेदेखि निर्माण सुरु हुन्छ थाहा भएन,’ उनले भने, ‘त्यो अनुमान गर्न सकिँदैन ।’

यस अघि कोटेश्वरदेखि कलंकी खण्डको डिजाइनमा भएको त्रुटि यसमा नदोहोर्‍याउने भन्दै चक्रपथ विस्तारको जिम्मा पाएको चिनिया पक्षले साइट क्लियर गरेर मात्र काम सुरु गर्ने अडान लिँदै आएको छ । 

कुल ६२ मिटर चौडाइ रहने सडकमा केन्द्रबाट दाँयाबाँया दुवैतर्फ ३१ मिटर रहनेछ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २–२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुनेछ । बाँकी १२ मिटर चौडाइमा भने एक–एक लेनको साइकल लेन रहने र यससँगै पैदल यात्रु लेन पनि हुनेछ । 

सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । 

चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकीदेखि नारायणगोपाल चोक सडक खण्ड विस्तारका लागि सरकारले १ अर्ब बजेट विनियोजन गरेको छ। 

नारायण गोपाल चोकको विवाद समाधान नभएसम्म काम अघि अगाडि नबढाउने भएपछि तेस्रो खण्डको चक्रपथ विस्तार अन्योलमा परेको हो। नारायणगोपाल चोकमा सडकको मध्यभागबाट १५ मिटर मात्रै छाडेर बनेका घरहरू भत्काउनुपर्ने देखिएकाले समस्या भएको प्रवक्ता नेपालले बताए। 

अहिलेसम्म भत्काउनु पर्ने घरको सङ्ख्या यकिन नभएता पनि अनुमानमा करिब ५० घर, टहरा रहेको उनको भनाई छ ।  यसका लागि करिब दुई अर्ब मुआब्जा दिनुपर्ने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप