आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कांग्रेसले प्रचण्डलाई धोका  दिँदैन, दुई तिहाइ मत पुग्छ’

आइतबार, १४ फागुन २०७९, १७ : २६
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै पनि हालतमा धोका नदिने बताएका छन् । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुई तिहाइ बहुमत पुर्‍याउने आफूहरूको तयारी रहेको पनि सुनाए । 

आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । फागुन २५ गते कांग्रेसले राष्ट्रपति पाएपछि ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने पनि चर्चा भएको छ भन्ने प्रश्नमा विश्वकर्माले भने, ‘विगतमा अप्रत्यासित कुरा भएका हुन् । प्रधानमन्त्री प्रचण्डज्यूको अभिव्यक्तिमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो । अहिले यही आधारमा अघि बढ्छौं । कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीपनि छैन् । विश्वास नै नहुँदा त विश्वासको मत दियौं भने विश्वासको यात्रा सुरु भएको छ, अब आठ दलको मत हुन्छ । दुई तिहाईको विश्वास अघि पुर्‍याउने पक्षमा छौं ।’

उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने सुझाए । उनले भने,‘फागुन २५ गतेको राष्ट्रपतिको लागि हुने मतदानको प्रकृतिअनुसार सरकारको स्वरुप निर्धारण हुन्छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमति गराउँछु भन्नुभएको छ । राष्ट्रिय सहमतिको समय अझै छ । सहमति भएन भने सरकार बनाउने कुरा र भत्काउने कुरा त चलिरहन्छ । यो कुरा अघि एमालेका साथी माधवजीले पनि भन्नुभएको छ, म भन्छु बरु यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’

उनले नेपालको राजनीति चुनावअघि र पछि फर्केर हेर्नुपर्ने पनि बताए । 

यसैगरी कार्यक्रममा नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने जिकिर गरे । उनले उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास दिलाए । उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा चमत्कार हुने पनि दाबी गरे । 

यसैगरी जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्ने बताए । उनले भने,‘नेपालको राजनीतिमा सबैभन्दा दुःखद् कुरा अवसर र फाईदाको राजनीति धेरै हुँदै गयो । निर्वाचन अघि र पछि समिकरण फेरबदल हुने प्रक्रिया भए । वैचारिक र राजनीतिक रुपमा कसरी अघि बढ्नुपर्छ भन्ने बहस अझै जारी छ । लोकतन्त्रको आन्दोलन समय समयमा धरापमा पर्ने गरेको छ । ००७ सालमा आन्दोलन भयो, ०१७ मा धरापमा पर्यो । नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्छ ।’

उनले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दापनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको स्मरण गराए 

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई अस्थिर बनेर लगाईएको आरोपको खण्डन गरे ।  उनले नेपालको संसद्को बनोटअनुसार सहमति र सहकार्यको राजनीति अघि बढाउनुपर्ने बाध्यतालाई प्रचण्डले आत्मसात् गरेको र सोहीअनुसार भूमिका निर्वाह गरेको दाबी गरे । 

यसैगरी नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरे  । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको स्पष्टोक्ति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप