सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

महिनावारीका बेला पीडा, यी देशमा छ छुट्टीको प्रावधान

मङ्गलबार, १६ फागुन २०७९, १६ : ४०
मङ्गलबार, १६ फागुन २०७९

महिनावारीको समयमा हुने पीडालाई ध्यानमा राख्दै स्पेनमा महिलालाई महिनामा तीन दिन बिदा लिने अधिकार दिइएको छ । त्यसै गरी महिलालाई तीन दिनको बिदा पाँच दिनमा परिणत गर्ने विकल्प पनि दिइएको छ ।

यही फेब्रुअरी १६ मा देशको संसद्मा यस सम्बन्धमा विधेयक स्वीकृत भएको थियो । स्पेनमा यौन र प्रजनन अधिकारसँग सम्बन्धित धेरै अधिकारहरू स्वीकृत भएका छन्, जसमा यो महत्त्वपूर्ण निर्णय हो ।

स्पेन युरोपको पहिलो देश हो जहाँ महिलालाई महिनावारी हुँदा तलबसहित बिदा दिइनेछ ।

स्पेनकी मन्त्री इरेन मोन्टेइरोले संसद्मा यी अधिकारबिना, महिलाहरू पूर्ण नागरिक हुन नसक्ने र सरकारले महिनावारीको समयमा महिलाहरूले पाउने बिदाको लागि भुक्तानी गर्ने बताइन् ।

डाक्टर र अमेरिकन कलेज अफ ओब्स्टेट्रिशियन्स एन्ड गायनोकोलोजिस्टका अनुसार महिनावारी हुने आधाभन्दा बढी महिलाहरूले प्रत्येक महिना एक वा दुई दिनसम्म पीडा अनुभव गर्छन्, र कसै–कसैको लागि यो पीडा यति गम्भीर हुन्छ कि उनीहरूलाई आफ्नो सामान्य गतिविधिहरू गर्न गाह्रो हुन्छ । 

कुन–कुन देशमा दिइन्छ छुट्टी ?

भारतको बिहारमा पनि महिनावारीका बेला छुट्टी दिने प्रावधान छ । यस्तै, जापान एउटा यस्तो देश हो जहाँ महिनावारीका बेला दिइने छुट्टीलाई श्रम कानुनमा समावेश गरिएको छ । त्यहाँ महिलालाई सन् १९४७ देखि यस्तो छुट्टी दिइने प्रावधान छ । इन्डोनेसियाले सन् १९४८ मा महिलाका लागि यस्तै नीति लिएर आएको थियो ।

यी देशले भनेका छन् – यदि कुनै महिलालाई महिनावारीका बेला समस्या हुन्छ भने उनीहरूलाई काम गराउनु हुँदैन । त्यसैले यहाँ दुई दिन छुट्टी दिइने प्रावधान छ । 

यसबाहेक फिलिपिन्स, अफ्रिकी देश जस्तै जाम्बियामा पनि महिलाले महिनावारीका बेला एक दिन छुट्टी लिन सक्छन् ।

यस्तै, दक्षिण कोरियाको सरकारले सन् १९५३ मा यस्तो प्रावधान लिएर आएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप