शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनको करियर बनाउने मनमोहन देसाई : उनको प्रेममा नन्दा जीवनभर विधवा बनिन्, मृत्युको रहस्य कहिल्यै सुल्झिएन

बुधबार, १७ फागुन २०७९, १२ : १५
बुधबार, १७ फागुन २०७९

मनमोहन देसाईलाई बलिउडमा मसाला फिल्मको मास्टर भनिन्थ्यो । आज उनको २९ औँ पुण्य तिथि हो । उनले ‘लस्ट एन्ड फाउन्ड’ (हराउनु र भेटिनु) को थिममा यति धेरै फिल्म बनाए कि यो आफैँमा बलिउडको नयाँ विधा बन्न पुग्यो । कुली, मर्द, अमर अकबर एन्थोनीदेखि लिएर तुफानसम्म उनका सबै फिल्ममा पारिवारिक बिछोड र पुनर्मिलनको कथा थिए ।

देसाईले अमिताभ बच्चनसँग लगातार ७ सुपर हिट फिल्म बनाए जसले बिग बिको करियरलाई नयाँ उचाइ दियो । मनमोहन देसाईले जम्मा २३ वटा चलचित्र बनाए, जसमध्ये १५ वटा निकै सफल भए । मनमोहन देसाईको आफ्नै कथा पनि कम फिल्मी थिएन । बुबा किकुभाई देसाई एक चलचित्र निर्माता थिए, तर मनमोहन ४ वर्षको मात्रै हुँदा उनको मृत्यु भयो । उनले परिवारका लागि धेरै ऋण छोडे, जसलाई चुक्ता गर्न सबै सम्पत्ति बेचियो ।

मनमोहन देसाई २० वर्षको उमेरमा फिल्म निर्देशक बने । राज कपूर र नूतनलाई लिएर एउटा फिल्म पनि बनेको थियो जसको नाम छलिया थियो । देसाई एक मात्र यस्ता निर्देशक हुन् जसले एकपछि अर्को गरी लगातार ११ वटा फिल्मले जुबली हिट दिए । यीमध्ये चार गोल्डेन जुबली र ७ सिल्भर जुबली थिए ।

देसाईकी श्रीमती प्रभाको पनि सानैमा निधन भएको थियो । केही वर्ष एक्लै बसेपछि उनी अभिनेत्री नन्दासँग प्रेममा परे, त्यसपछि उनीहरूको इन्गेजमेन्ट भयो तर देसाईको विवाहअघि नै दुर्घटनामा निधन भयो । उनको मृत्यु पछि, नन्दाले पनि कहिल्यै विवाह गरिनन्, उनी मनमोहन देसाईकी विधवाको रूपमा बसिन् ।

आज मनमोहन देसाईको २९ औँ पुण्य तिथिमा उनको जीवनका केही नसुनेका कथाबारे जानकारी लिऔँ :

man mohan1४ वर्षको उमेरमा बुबाको छाया हट्यो

मनमोहन देसाईको जन्म २६ फेब्रुअरी १९३७ मा मुम्बईमा भएको थियो तर उनका पुर्खाहरू गुजरातका थिए । उनका पिता किकुभाई देसाई पनि एक चलचित्र निर्माता थिए र सन् १९३१ देखि १९४१ सम्म उनी प्यारा माउन्ट फिल्म स्टुडियोका मालिक थिए । उनले धेरैजसो एक्सन फिल्म नै बनाए ।

मनमोहन देसाई ४ वर्षको हुँदा उनका बुबा किकुभाइको निधन भयो । उनको निधनका कारण यो बताइएको थियो – उनी थुप्रै फिल्म बनाउने तयारीमा थिए, यसका लागि उनले बजारबाट धेरै पैसा उठाएका थिए । उनले ऋण तिर्न सकिरहेका थिएनन् र ब्याज पनि बढ्दै गइरहेको थियो । यसै तनावमा हृदयाघातका कारण उनको निधन भयो ।

man mohan2ऋण तिर्न आमाले जग्गा बेचिन् 

कुनै समय फिल्म क्षेत्रमा देसाई परिवारको नाम ठुलो थियो तर किकुभाइको निधनपछि उनीहरूको परिवार सडकमा आयो । यसपछि मनमोहन देसाईकी आमाले ऋण तिर्नका लागि सबै सम्पत्ति बेचिन् । पछि परिवारले किकुभाइको सानो कार्यालयलाई आफ्नो घर बनाए ।

दाइ सुभाषका कारण चलचित्र क्षेत्रमा काम पाए

मनमोहन देसाईका दाइ सुभाष पनि चलचित्र क्षेत्रका थिए । उनले नै एक्सन फिल्महरूमा सहायक निर्देशकको भूमिकाका लागि मनमोहन देसाईको नाम सिफारिस गरेका थिए । त्यसपछि मनमोहन देसाईले लामो समय सहायक निर्देशकको रूपमा काम गरे ।

man mohan3राज कपुर र नूतनसँग फिल्म बनाउने सपना थियो

एक दिन मनमोहन देसाईका दाइले उनलाई कस्तो फिल्म बनाउन चाहन्छौ भनेर सोधेका थिए । यसको जवाफ दिँदै उनले भनेका थिए, ‘म फिल्ममा राज कपुर र नूतनलाई लिन चाहन्छौँ ।’

राज कपूर २० वर्षको उमेरमा नूतनका निर्देशक बनेका थिए

जब यो कुरा राज कपुरलाई थाहा भयो तब उनले मनमोहन २० वर्षका मात्रै छन् भनेर यो कसरी सम्भव छ भनेर प्रश्न सोधे । यसमा सुभाष देसाईले भनेका थिए, ‘राज साहेब, जब तपाईँले आफ्नो पहिलो फिल्म बनाउनुभएको थियो तब तपाईँ पनि यही उमेरको हुनुहुन्थ्यो । यदि तपाईँ फिल्म बनाउन सक्नुहुन्छ भने मेरो भाइले किन फिल्म बनाउन सक्दैन ।’

यो कुरा राज कपूरलाई एकदमै मन पर्‍यो तर उनले मनमोहनले फिल्मका गीतहरू सही ढङ्गले पर्दामा राख्ने हो भने मात्र फिल्म पूरा गर्ने, नत्र फिल्म छोड्ने सर्त राखे । त्यो फिल्मको नाम थियो छलिया । यसको गीत ‘दम–दम डिगा–डिगा’ मनमोहन देसाईले सुन्दर ढङ्गले खिचेका थिए । त्यसपछि राज कपुरले फिल्म पूरा गरे ।

man mohan4रियल लाइफमा पनि नायकले फिल्ममा गरेजस्तै बिहे गरे

मनमोहन देसाई आफ्नो घरको छेउमा बस्ने केटी प्रभालाई मन पराउँथे । हरेक बिहान प्रभा घरबाट निस्किने समयमा नै उनी घरबाट निस्किन्थे । बसमा पनि उनी बसेको पछाडिको सिटमा बस्ने गर्दथे तर प्रेम व्यक्त गर्न डराउँथे ।

एक दिन उनले हिम्मत जुटाएर प्रभालाई आफू मन परेको र उनीसँग बिहे गर्न चाहेको बताए ।

प्रभाको परिवार यो सम्बन्धको विरोधमा थिए तर प्रभाले उनको विवाह मनमोहनसँग नभए जे जति केटाको कुरा आउँछ, ती सबैलाई साथीसँग मिलेर खेद्ने चेतावनी दिइन् । उनको जिद्दीको अगाडि कसैको केही लागेन र दुवैले विवाह गरे । यी दुईका एक छोरा छन् केतन देसाई । उनी पनि फिल्म निर्देशक हुन् ।

पत्रिका पढेपछि अमर अकबर एन्थोनी फिल्म बनाउने सोच आयो 

यसपछि सन् १९७७ मा फिल्म अमर अकबर एन्थोनी रिलिज भयो । यो चलचित्र सिने इतिहासकै उत्कृष्ट चलचित्रमध्ये एक हो । यो फिल्मको आइडिया मनमोहनलाई एक दिन पत्रिकाको एक खबरबाट आएको थियो । खबर यस्तो थियो – एक व्यक्ति आफ्ना तीन छोरालाई पार्कमा छोडेर आत्महत्या गर्न गएका थिए । खबर पढेपछि उनी पूरा दिन यही सोचिरहे ।

बेलुका उनको भेट लेखक प्रयाग राजसँग भयो । प्रयाग राजले उनको थुप्रै फिल्मको कहानी लेखेका थिए । उनले प्रयाग राजलाई पूरा खबर बताए । त्यसपछि प्रयाग राजले भने, ‘सोच्नुहोस् कि यदि ती व्यक्तिले आत्महत्या गरेनन् र उनी पार्क फर्किएपछि उनको अवस्था कस्तो होला ?’ त्यसपछि प्रयाग राजले कहानीलाई थप तन्काउँदै भने, ‘यदि ती बच्चालाई भिन्न भिन्न धर्मका मानिसहरूले लिएर गए, त्यसपछिको कहानी कस्तो होला ?’

यस्तो भन्दा भन्दै यो खबरमा कहानी बुन्दाबुन्दै आधा रात बित्यो । भोलिपल्ट फेरि दुईको भेट भनो र उनीहरुले कहानीलाई अघि बढाए । यो फिल्मको कहानीमा पनि मनमोहन देसाईकी श्रीमतीले पनि आफ्नो सुझाव दिएकी थिइन् । अन्ततः यसै खबरमा फिल्म बन्यो र यसले सफलताको झन्डा गाडिदियो ।

man mohan5५२ वर्षको उमेरमा अभिनेत्री नन्दासँग इन्गेजमेन्ट भयो

जब नन्दा फिल्म उद्योगमा प्रवेश गरिन्, मनमोहन देसाई उनको काम र सौन्दर्यबाट धेरै प्रभावित थिए । यो कुरा उनका छोरा केतनलाई पनि थाहा थियो । जब श्रीमती प्रभाको मृत्यु भयो, छोरा केतन र वहिदा रहमानले उनलाई र नन्दलाई नजिक ल्याउन मद्दत गरे ।

एक दिन वहिदा रहमानले मनमोहन देसाई र नन्दालाई आफ्नो घरमा डिनरको लागि बोलाइन् । त्यही क्रममा मनमोहन देसाईले नन्दलाई आफ्नो मनको कुरा सुनाए, त्यसपछि उनले ५२ वर्षको उमेरमा १९९२ मा नन्दासँग इन्गेजमेन्ट गरे । नन्दाले पनि उनलाई असाध्यै माया गर्थिन् ।

मनमोहन देसाईको मृत्युपछि नन्दा विधवा जस्तै भइन् 

मनमोहन देसाईको इन्गेजमेन्ट भएको मात्रै २ वर्षपछि घरको बालकनीबाट खसेर उनको मृत्यु भयो । मनमोहन देसाईको मृत्युपछि नन्दा पूर्णतया एक्लो भइन् । उनले घरबाट बाहिर निस्कन पनि छोडेकी थिइन् र बाहिर जाँदा सेतो साडी मात्रै लगाउने गर्थिन् । उनले कहिल्यै कसैसँग विवाह गरिनन् र आफ्नो सम्पूर्ण जीवन विधवा भएर बिताइन् ।

कसैले मृत्युको कारण आत्महत्या भने, कसैले हृदयाघात 

मनमोहन देसाईको १ मार्च १९९४ मा भएको मृत्युलाई रहस्यमय भनिएको थियो । कसैले उनले आत्महत्या गरेको भने त कतिपयले हृदयाघातका कारण उनको मृत्यु भएको बताए । यद्यपि उनको मृत्युको रहस्य भने अझै खुल्न सकेको छैन ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप