शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको निर्देशनपछि दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्दार

आइतबार, २१ फागुन २०७९, १६ : ३६
आइतबार, २१ फागुन २०७९

ओखलढुंगा । ओखलढुङ्गामा सवारी दुर्घटनमा परी  घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्वार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको हो । 

दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं। १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं.२ का ४० वर्षे केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक दीपक केसीले बताए ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट चिशंखुगढी गाउँपालिका–२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका–१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उहाँका दुई वर्षीय छोरा विनय धमला, चिशंखुगढी–३ की चार वर्षीय लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । 

उद्वार गरिएका सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ । अधिकांश घाइतेहरुको टाउको र अनुहारमा गहिरो चोट लागेको छ ।  दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ३५ वर्षीय जानुका धमला र उनका चार वर्षीय छोरा कोशिस धमलाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको हो ।

आज बिहान खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप दियालेमा दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा चिशंखुगढी–३ का ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको छ ।  बोलेरो जीपमा चालकसहित १४ जना सवार थिए । जीप सडकभन्दा करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण लगायतको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप