शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रहरीमा नियमित सरुवा छलेर धमाधम काज

सोमबार, २२ फागुन २०७९, २२ : ५०
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले फागुन १६ मा  १३९ जना इन्स्पेक्टरको काज सरुवा गर्‍यो । २०७९ वैशाखमा सरुवा भएर इलाका र वडा कार्यालयमा इन्चार्ज खटिएका धेरै इन्स्पेक्टरलाई काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ वर्षमा सरुवा गर्ने निति लिए पनि आईजीपी धिरज प्रताप सिंहले १० महिना पुगेका इन्स्पेक्टरलाई सरुवा गरेका छन् ।

ठुलो सङ्ख्यामा इन्स्पेक्टर काज गर्नुभन्दा दुई दिन अघि पनि प्रहरी प्रधान कार्यालयले फागुन १४ मा दुई जना इन्स्पेक्टरलाई इलाका इन्चार्जमा काज सरुवा गरेको थियो । इन्स्पेक्टर प्रकाश रेग्मीलाई मोरङको ईप्रका रानी र शिवराज थापालाई सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयमा काज गरिएको थियो ।

 १३९ जनाको काज सरुवा गर्दा काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण मानिने प्रभागका इन्स्पेक्टरहरु पनि परिवर्तन भए । प्रहरी प्रहरी प्रभाग कपनमा स्मृति सिलवाल, प्रहरी प्रभाग साँखुमा इन्स्पेक्टर फुलमाया घिसिङ, प्रहरी प्रभाग कोटेश्वरमा बिनोद सुवेदी र इप्रका मेलम्चीमा नवराज सापकोटालाई सरुवा गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय बिरगञ्जमा मणिराम थापालाई सरुवा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहामा मिन बहादुर बस्नेतलाई सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा शेखरजंग मल्ल र प्रहरी प्रभाग सानेपा ललितपुरमा सचिता थापा मगरलाई काज सरुवा गरिएको छ ।

फागुन ५ मा प्रहरी प्रधान कार्यालयले ५ जनाको काज सरुवा गरेको थियो । त्यतिवेला काठमाडौँ बाहिर कार्यरत इन्स्पेक्टरहरूलाई काज मार्फत काठमाडौँ उपत्यकामा ल्याएको प्रधान कार्यालयले गरेको काज सूचीबाट देखिन्छ ।

२०७९ माघ २० मा प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरेको थियो । त्यो पनि दुई किस्तामा । माघ १९ मा प्रहरी प्रधान कार्यालयले १३ जना डीएसपीहरुको काज सरुवा गरेको थियो । त्यसैदिन १५० जना डिएसपीको नियमित सरुवा गरियो ।

माघ १९ मा पहिले काज सरुवा गरिएका ४२ जना एसपीहरूको नियमित सरुवा सूची प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको थियो । ती एसपीहरू लामो समयदेखि काजमा खटिएर काम गरिरहेका थिए ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शक्तिकेन्द्रबाट नाम आएका र आफू निकटहरूलाई नियमित सरुवा छलेर काज गर्ने गरेका छन् । कुनै कारणले युनिट इन्चार्ज परिवर्तन भएर छोटो समयमा अधिकृत पठाउनुपर्ने अवस्थामा काज गर्न पाउने व्यवस्था प्रहरी नियमावलीमा छ । तर, प्रहरी नेतृत्वले सो व्यवस्थालाई दुरुपयोग गर्ने गरेका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी दीपेन्द्र जिसीले आवश्यकता अनुसार काज सरुवा गरिएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘सङ्गठनको आवश्यकता अनुसार काज सरुवा गर्ने गरिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप