आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

कहिले सम्पन्न होला सिद्धबाबाको वैकल्पिक सडक ?

बिहीबार, २५ फागुन २०७९, ०७ : ०५
बिहीबार, २५ फागुन २०७९

बुटवल  । बुटवल र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा बर्खाले त हत्तुहैरान बनाउँछ नै, हिउँदको धुलेपहिरोले समेत यात्राको कुनै टुंगो हुँदैन । त्यसैले, सोको वैकल्पिक रोड रूपमा प्रदेश सरकारले झुम्सा–चौकीभन्ज्याङ–चरङ्गे सडक निर्माणको कामलाई अगाडि सारेको थियो ।

यस्तै बुटवल, बेलवास, नुवाकोट हुँदै तिनाउ पुग्ने सडकमा पनि सरकारले लगानी गरेको थियो । सिद्धबाबा सुरुङ मार्गको काम पनि सुरु भएपछि ती सडकमा थप चासो बढेको छ । तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सिद्धबाबाको वैकल्पिक मार्ग बनाउन झुम्सा–चौकीभन्ज्याङ–चरङ्गे सडकमा बजेट विनियोजन गरेका थिए । 

प्रदेश गौरवको आयोजनाको रूपमा रहेको २१ किलोमिटर सडकलाई हरेक वर्ष १० करोडका दरले बजेट विनियोजन हुँदै आएको छ । प्रदेश सरकारले हात हाल्नुपूर्व एक दशकअघि नै रुपन्देही र पाल्पाका जिल्ला समन्वय समितिको नेतृत्वमा सडकको ‘ट्रयाक’ खुलेको थियो । तर अझैसम्म  वैकल्पिक सडकको रूपमा  प्रयोग गर्ने अवस्था बनेको छैन । 

siddh baba sadak (3)

चौकीभन्ज्याङ नजिक हरेक वर्ष वर्षाले सडक पूरै भत्काउने गर्छ ।यो खण्डको भू–बनोट पूरै भूक्षय हुने खालको भएकाले यात्रामाकठिनाइ भएको तिनाउको दोभानका स्थानीय तोय लम्साल बताउँछन् ।  अझैसम्म विश्वास लाग्ने गरी वैकल्पिक सडक तयार नभएको उनको भनाइ छ । 

प्रदेश यातायात पूर्वाधार निर्देशनालय रुपन्देहीका इन्जिनियर भीमार्जुन पाण्डेय वर्षा याममा सिद्धबाबाको पहिरो छल्ने गरी बनिरहेको सडकमा अहिलेसम्म बुटवल, नुवाकोटको  साना गाडीहरू  सञ्चालन  गराएको बताए । उनका अनुसार अझै ३ किलोमिटर सडक बीचमा बन्न बाँकी रहेको हुनाले पुरै सञ्चालन हुन नसकेको हो ।

siddh baba sadak (1)

बुटवलबाट नुवाकोट दोभान १४ किलोमिटर दुरीमा पर्छ । जसमा ७ किलोमिटर पिच भैसकेको र बाँकी ग्राभेल रहेको  इन्जिनियर पाण्डेयले बताए। यहाँ अहिले जिप, बस तथा मोटरसाइकल सहज रूपमा चलेका छन् । यसले पाल्पाका बासिन्दालाई केही राहत दिएको स्थानीय बताउँछन् ।

पाल्पाको तानसेन नगरपालिका, तिनाउ, बगनासकाली, रिब्दीकोट गाउँपालिका र रुपन्देहीको देवदह नगरपालिकाको आर्थिक सहयोगमा २०६९ सालमा ‘ट्रयाक’ खुलेको थियो । २१ किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरिसकेको छ ।

त्यसमध्ये २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । पाल्पातर्फ झन्डै १२ करोड खर्च भएको छ भने रुपन्देहीतर्फ पनि सोही बराबरको रकम खर्च भएको छ । झुम्सादेखि चरङसम्म पालान्दर र हेकबारीमा २ वटा पुल र १ कल्भर्ट निर्माण भएको छ ।

पाल्पातर्फ ग्राभेल,नाली, स्तरोन्नति, रिटेनिङ वालका लागि ८ करोड १५ लाख रुपैयाँ खर्च भएको सडक कार्यालयले जनाएको छ ।डोजर लगाएर सडक खनेको क्षेत्रमा माथिबाट भेलसहित आउने लेदोले सडक बगाउने समस्या थपिएर पनिसमयमा निर्माणहुन नसकेको हो ।

सडक पूर्वाधार विकास कार्यालयका अनुसार चुरे क्षेत्रमा पहिरोको समस्या थुप्रै ठाउँमा छ ।आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने क्रममा वैकल्पिक सडकका रूपमा रहेको सो सडकलाई सञ्चालन योग्य बनाउन आवश्यक पर्ने पुल पुलेसाको निर्माणका लागि बजेट विनियोजन गरिएको घोषणा गरिएको थियो  ।

इन्जिनियर पाण्डेले सिद्धबाबाको वैकल्पिक रूपमा सडक लैजान तीव्रता साथ काम गर्न निर्देशन दिएको बताए। यो सडक बनेमा काठमाडौंवाट आउने सवारी साधन बुटवल नआई सिधै पाल्पा लैजान सहज हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप