शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विराट गोल्डकप : भारतबाट एउटा क्लव सहभागी नहुने

सोमबार, ०६ चैत २०७९, १७ : ४५
सोमबार, ०६ चैत २०७९

विराटनगर । कोशी प्रदेशको नामाकरणसँगै अशान्त बनेको कारण विराटनगरमा आयोजना हुने विराट गोल्ड कपमा भारतको एउटा क्लब सहभागी नहुने भएको छ ।  विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो जानकारी दिएको हो । ‘भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने पक्का भइसकेको थियो ।

पछिल्लो समय राजनीतिक कारणले गर्दा विराटनगर अलि अशान्त जस्तो देखिएकाले दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै आज (६ गते) मात्रै प्रतियोगिताबाट नाम फिर्ता लिएको छ,’ आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले भने, ‘दिल्ली एफसीले सुरक्षाको मात्रै कारण देखाएको र अर्को संस्करणमा सहभागी हुने प्रतिवद्धता जनाएको छ । लुका सकर भने आउने निश्चित छ । दिल्ली एफसीको ठाउँमा ड्ररुक लयुल फुटबल क्लब भुटानले सहभागिता जनाउने छ ।’

आगामी चैत ९ गतेदेखि ९ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमले नकआउट प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालका तीन विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक पक्षले जनाएको छ ।

Tie Sheet (1)

पुरस्कार राशीमा वृद्धि

शहीद रंगशालामा रात्रिकालिन प्रतियोगिताका लागि मैदान मर्मत गर्ने काम  सकिएको छ भने प्याराफिट लगायतका कामहरु पनि पूरा भइसकेको आयोजकले जनाएको छ । आयोजकले पुरस्कार राशीमा पनि वृद्धि गरेको जनाएको छ । ‘यसवर्षको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ’, बानियाँले भने, ‘गत संस्करणको विजेता एपीएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले ७ लाख ५१ हजार प्राप्त गरेका थिए ।’ यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दी म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने पनि उनले जानकारी दिए । 

प्रतियोगिता हेर्न चाहने दर्शकका लागि टिकेटिङ पार्टनरको रुपमा ‘खल्ती एप’सँग साझेदारी गरेको आयोजकको भनाइ छ । खेल हेर्न आउने दर्शकले घरमै बसेर टिकट लिन सक्ने बानियाले बताए । क्वाटरफाइनलसम्मको खेलका लागि प्रति टिक दुई सय निर्धारण गरिएको छ भने सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ति एपबाट किन्दा चार सय र रंगशालाकै स्टलबाट किन्दा पाँच सय टिकट दर निर्धारण गरेको आयोजकले जनाएको छ । 

आयोजकले प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकारका साथै विराटनगर महानगरपालिका र नीजि क्षेत्रबाट आर्थिक सहयोग हुने आयोजकको अपेक्षा छ । 

विराट गोल्डकप नेपाली फुटबल प्रतियोगिताहरू मध्येको सर्वाधिक ठूलो र चर्चित फुटबल प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघ एन्फाले यो प्रतियोगितालाई क्यालेन्डरमै समावेश गरेको छ । साथै प्रतियोगिताका लागि एन्फाको प्राविधिक सहयोग रहेको छ । यसअघि पनि नेपाली घरेलु फुटबल प्रतियोगिताको इतिहासमा काठमाडौँ बाहिर विराटनगरको शहीद रंगशालामा रात्रीकालिन समयमा प्रतियोगिता आयोजना गरिएको थियो । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप