सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सीमा सुरक्षामा प्रहरी : टहरामा बसेर पहरा

मङ्गलबार, ०७ चैत २०७९, १५ : २१
मङ्गलबार, ०७ चैत २०७९

दाङ । खाँबोले अडिएको खरको छानो, त्यो पनि भत्केला भत्केला जस्तो । बासको भाटा र चिर्पटमा माटोले पोतेको भित्ता । बत्तीका लागि खरको छानामाथि एउटा सोलार बोर्ड । दाङको देउखुरीस्थित अस्थायी प्रहरी पोष्ट डगमराको अवस्था हो यो ।

यो प्रहरी कार्यालयमा ६ जना सुरक्षाकर्मी बस्छन् । जहाँ न खानेपानीको सहज व्यवस्था छ, न टेलिफोन मोबाइलले राम्रोसँग काम गर्छ । न बस्ने घर गतिलो छ । भौतिक संशाधनका दृष्टिले निकै विपन्न अवस्थामा बसेका छन् सुरक्षाकर्मी ।

सीमा सुरक्षा चौकी भनेरसमेत चिनिने यो कार्यालय आफै असुरक्षित छ । नेपाल–भारत सीमा जोडिएका दाङका ३४ वटा सानाठूला नाकामध्ये ६ स्थानमा नेपाल प्रहरी सीमा र सीमावासीको सुरक्षामा बसेका छन् । तीमध्ये २ स्थानमा इलाका प्रहरी कार्यालय, ३ स्थानमा सीमा सुरक्षा चौकी र एक स्थानमा अस्थायी प्रहरी पोष्ट छ ।

सीमा सुरक्षाका लागि डगमरामा रहेको इलाका प्रहरी कार्यालय टहरामा सीमित छ । इलाका प्रहरीका कार्यालय खंग्रा नाकाका इन्चार्ज रमई यादवले भने, ‘सीमा र सीमावासीको सुरक्षा कार्यालयहरू आफै असुरक्षित छन् । भौतिक अवस्था निकै दयनीय छ ।’

ती कार्यालय २०४६ देखि २०५० भित्र स्थापना भएका हुन् । कार्यालय स्थापना भए पनि भौतिक संरचना निर्माणमा खासै ध्यान दिएको देखिँदैन ।

भान्सामै कार्यालय

दाङका सीमा क्षेत्रमा प्रहरी कार्यालयको पूर्वाधार संरचना निकै नाजुक अवस्थामा देखिन्छ । सीमा क्षेत्रमा तैनाथ प्रहरीहरू भाडाको जग्गामा टहरो हालेर बसिरहेका छन् । जसले गर्दा कार्यालय र भान्सा एकै ठाउँमा राख्नुपर्ने बाध्यता छ ।

इलाका प्रहरी कार्यालय खंग्रा नाका, भैसाही, सीमा प्रहरी चौकी मुसी नाका, डकमरा नाका, सिरिया नाका अझै भाडाको जग्गामा टहरा हालेर बसेका छन् । पूर्वाधार संरचना नहुँुदा भान्सा र कार्यालय एउटै थलोबाट चलाउनु परेको इन्चार्ज यादवले बताए ।

भौतिक संरचना अभावका कारण वन्यजन्तुदेखि सर्प–किराको जोखिममा मोलेर बस्नुपर्ने बाध्यता रहेको त्यहाँका प्रहरी बताउँछन् ।

दरबन्दी अनुसार छैन जनशक्ति

इलाका प्रहरी कार्यालय भैसाही नाकामा २२ जनाको दरबन्दी हो, जहाँ अहिले ६ जना सुरक्षाकर्मीमात्र तैनाथ छन् । त्यस्तै इलाका कार्यालय खंग्रा नाकामा २३ जनाको दरबन्दी भए पनि ६ जनामात्र तैनाथ छन् ।

सीमा सुरक्षा प्रहरी चौकी कोइलावासमा २३ जनाको दरबन्दीमा ७ जना, मुसी नाकामा १० जनाको दरबन्दी रहेकोमा ५ जनामात्र छन् । यस्तै सिरिया नाकाका ५ र डकमरा नाकामा ६ सुरक्षाकर्मी तैनाथ छन् ।

नाका क्षेत्रमा सेवा सुविधाका हिसाबले पछि परिरहेकाले दरबन्दी अनुसारको जनशक्ति परिचालन गर्न कठिनाइ देखिएको प्रहरी अधिकारीहरूको भनाइ छ । थोरै जनशक्ति हुँदा बाहिर गस्तीमा जानसमेत कठिनाइ हुने गरेको छ ।

खंग्रा निवासी मोहनलाल सारूले भने, ‘भारतीय सुरक्षाकर्मीले हामीलाई अति दुःख दिन्छन् । हाम्रो सीमामा प्रहरी नै पुग्दैनन् । पुगुन् पनि कसरी ? थोरै प्रहरी छन्, कार्यालय हेर्ने कि सीमा ? सीमा हेर्ने कि गाउँ ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप