बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा गोल्डकप : पहिलो खेलमै भरतपुरसँग ३–१  ले पराजित

बिहीबार, ०९ चैत २०७९, २३ : ०२
बिहीबार, ०९ चैत २०७९

बारा । बिहीबारदेखि सिमरा रंगशालामा शुरु भएको १३ औ जीतपुरसिमरा गोल्डकपमा आयोजक नव–जनजागृती यूवा क्लब भरतपुर फुटबल क्लबसँग ३–१ को अन्तरले पराजित भएको छ । घरेलु मैदानमा पहिलो दिन भएको खेलमै आयोजक समुह प्रतियोगिताबाट निरीह भएर बाहिरिनु स्थानीय खेलप्रेमी दर्शकहरुका लागि भने दुखद भएको  दर्शकहरुले बताएका छन् ।

भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापामगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मलेले टिमलाई अग्रता दिलाएका थिए । सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनेटमा बराबरी गोलको अवसर  बनायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसको केहि मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

खेलको अन्तिम समय सम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा सुनील श्रेष्ठकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता गरेको हो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा सुनीलले गोल गरेका थिए ।

आयोजक विरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहित ट्रफी प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे । शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ । खेल अघि नेपाल सरकारका पूर्व मन्त्री एवं बाराका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले  प्रतियोगिताको उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप