शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको पक्षमा सरकारको निर्णय

आइतबार, १२ चैत २०७९, १५ : ४०
आइतबार, १२ चैत २०७९

रुपन्देही । कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ । 

लामो समयदेखि अन्यौलमा रहेका एक सय ९३ जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । उनीहरु लामो समयदेखि दरबन्दीविहीन अवस्थामा रहँदा  पारिश्रमिक पनि पाउन सकेका थिएनन् । 

मुख्यमन्त्री लीला गिरीको निर्देशनसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहनसहित व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताए । “कोरोना महामारीको समयमा जोखिम लिएर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई निराश बनाउने कुरा भएन, त्यसैले अस्थायी रुपमै भए पनि तत्काल व्यवस्थापन गर्नेगरी काम गरेका हौँं”, मन्त्री पन्थीले भने ।

कोरोनाकालमा प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्य प्राविधिक समस्यामा पर्दै आएका थिए । कोभिड महामारीका तीनै लहरमा आफूहरुले खेलेको भूमिकाको कदर गर्दै लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गर्न गरेको निर्णयले हौसला थपिएको प्राविधिक भरतजङग क्षेत्रीले बताए । 

लामो समयदेखि प्रदेश सरकारसँग व्यवस्थापनको माग गर्दै आएकोमा अहिले मात्रै प्रदेश सरकारले निर्णय गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्धि भएको र जनशक्ति आवश्यक भएकाले कोरोनाकालमा सेवारत स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णयले महामारीका बेलामा मोलिएको जोखिमको सम्बोधन भएको बताएका छन् ।

कोरोनाकालमा सेवा गर्ने २२ जना मेडिकल अफिसर, एक सय ११ जना स्टाफ नर्स, छ जना ल्याब टेक्निसियन, तीन जना रेडियोग्राफर, दुई जना एनेस्थेटिक, दुई जना अहेब, ३० जना कार्यालय सहयोगी, १४ जना सुरक्षा गार्ड, एक जना वायोमेडिकल टेक्निसियन, एक जना प्लम्बर र एकजना इलेक्ट्रिसियनलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।   

यसैबीच विगत चार महिनादेखि रोकिएको डाक्टर तथा स्वास्थ्य प्राविधिकको पारिश्रमिक निकासा गर्ने निर्णय पनि भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप