शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
कृषि

बढेन आलुको उत्पादन, वार्षिक ६ अर्बभन्दा बढीको आयात

सोमबार, १३ चैत २०७९, १५ : ४७
सोमबार, १३ चैत २०७९

काठमाडौँ । भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी हो आलु । तर आलुमा पनि आत्मनिर्भर हुन नसक्दा यसको आयात बढ्दै गएको छ ।  भारत, पेरु, बंगलादेश, चीन, दक्षिण कोरिया, नेदरल्याण्ड, अस्ट्रिया, जर्मनी, पोल्याण्ड, सिंगापुर, बेलायत लगायतबाट नेपालमा आलु आयात हुने गरेको छ । 

यसरी आउनेमध्ये बीउ, ताजा वा चिसो, सुकेको आलुको पिठो, गोली र फ्रेन्च फ्राईलगायतअन्य आलु रहेको छ । कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा आलुको ५.९६ प्रतिशत योगदान रहे पनि आयात भने बढ्दै गएको देखिन्छ । 

केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ६ वर्ष ८ महिनामा एक खर्ब चार अर्ब ७४ करोड २९ लाख ८३ हजार रुपैयाँको आलु आयात भएको छ। 

चालु आर्थिक वर्षमा मात्रै ६ अर्ब ४२ करोड ८४ लाख ३५ हजारको आलु आयात भएको छ। यस क्रममा सबैभन्दा बढी भारतबाट आलु आयात भएको देखिन्छ । भारतबाट  ६ अर्ब ३४ करोड २८ हजार, नेदरल्याण्डबाट एक लाख ६६ हजार, बंगलादेशबाट आठ करोड ५१ लाख ४५ हजार, अमेरिकाबाट ३० लाख ३४ हजारको आलु आयात भएको छ । 

potato

आलुको बीउमा परनिर्भरता 

नेपालमा बार्षिक प्रति व्यक्तिले करिब १११.८ केजी आलु खाने गरेका छन्। विश्वमा सबैभन्दा बढी आलु उत्पादन गर्ने देशमा नेदरल्याण्ड रहेको छ भने नेपाल ८ औं नम्बरमा पर्छ ।

आर्थिक वर्ष २०६८/६९ देखि ५ वर्ष सम्मका लागि आलुको बीउमा आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरेको थियो। तर, एक दशक भइसक्दा पनि आलुको बीउमा आत्मनिर्भर हुन सकेको छैन । चालु आर्थिक वर्षमा २२ स्थानीय तहले ३ करोड ३४ लाखको आलु बीउ कार्यक्रम सञ्चालन गरेका छन् । 

आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्षको ८ महिना सम्ममा एक करोड ६६ लाख एक हजार रुपैयाँको बीउको आलु आयात भएको छ। नेपालमा पहाडका केही जिल्लाहरुमा मात्र आलु बीउ केन्द्र सञ्चालन भएको छ । 

आलुको बीउ भने भारतबाट मात्रै आयात हुने गरेको छ। आलुको बिउ प्रणाली स्थापनाका लागि प्रमाणीकरण हुन नसक्दा आलुको बीउमा आयात बढ्दै गएको राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रको भनाई छ । 

प्रभावकारी हुन सकेन आत्मनिर्भर कार्यक्रम 

सबैभन्दा बढी आयात हुने तरकारीमध्ये आलु र प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले हरेकजसो बजेट भाषणमा तरकारीमा आत्मनिर्भर हुने बताउँदै आएको छ । तर, कार्यान्वयन हुन सकेको छैन । 

चालु आर्थिक वर्षमा सरकारले कृषि क्षेत्रमा ५५ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । सरकारले आगामी वर्ष आन्तरिक उत्पादन बढाउन आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रका अनुसार चालु आर्थिक वर्षमा एक सय ४१ स्थानीय तहमा आलु खेती कार्यक्रम सञ्चालन गरेको छ। त्यसका लागि २० करोड ९८ लाख ७० हजार रुपैंया लगानी गरेको छ। 

potato nepal

गत आर्थिक वर्षमा केन्द्रले २४ स्थानीय तहमा प्रति १० लाखको दरले आलु खेती कार्यक्रम सञ्चालन गरेको थियो। केन्द्रले १७ जोन र दुई सुपर जोन गरी आलु खेती कार्यक्रम सञ्चालन गरेको छ । बेमौसमी बेलामा नेपालमा आलुको भाउ प्रति केजी  ८० रुपैंयासम्म पुग्छ। 

अहिले आलुमा ९० प्रतिशत आन्तरिक उत्पादनले माग धान्दै आएको राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रका प्रमुख वासुदेव काफ्लेले बताए । चिप्सलगायत प्रशोधित उत्पादनका लागि उपयुक्त जात नभएका कारण र व्यावसायिक आलु खेती हुने स्थानमा आलुको उत्पादन बढाउन नसक्दा आयात बढेको उनले बताए। 

सरकारले बीउ उत्पादन वा संकलन गरेर राख्नका लागि थप कोल्ड स्टोर बनाउन सके बीउमा पनि आत्मनिर्भर हुने उनको भनाई छ । पहिलेको भन्दा अहिले उत्पादन बढेको छ । काफ्लेले भने, ‘अबको केही वर्षपछि नेपाल आलुमा आत्मनिर्भर हुनेछ ।’ 

१० वर्षमा ८ प्रतिशतले आलु उत्पादनमा वृद्धि

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार नेपालमा १० वर्षमा ८.५९ प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको छ। 

नेपालमा ३६ लाख ६७ हजार दुई ५६ मेट्रिक टन आलु खपत हुने गरेको छ । तर, उत्पादन भने ३३ लाख २५ हजार दुई ३१ मेट्रिक टन मात्र हुने गरेको छ । अझै नेपालमा वर्षेनी ३ लाख मेट्रिक टन भन्दा बढी आलु आवश्यक रहेको छ। 

कहिले कति आलु उत्पादन ?

आर्थिक वर्ष २०६८/६९ मा एक लाख ९० हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा २५ लाख ८४ हजार तीन सय १ मेट्रिक टन त्यस्तै, आर्थिक वर्ष २०६९/७० मा एक लाख ९७ हजार दुई सय ३४ हेक्टर क्षेत्रफलमा २६ लाख ९० हजार चार सय २१ मेट्रिक टन आलु उत्पादन भएको थियो।

उता आर्थिक वर्ष २०७०/७१ मा दुई लाख ५७ हजार २५ हेक्टर क्षेत्रफलमा २८ लाख १७ हजार पाँच सय १२ मेट्रिक टन, आर्थिक वर्ष २०७१/७२ मा एक लाख ९७ हजार ३७ हेक्टर क्षेत्रफलमा २५ लाख ८६ हजार दुई सय ८७ मेट्रिक टन आलु  उत्पादन भएको थियो। 

आर्थिक वर्ष २०७२/७३ मा एक लाख ९९ हजार ९ सय ७१ हेक्टर क्षेत्रफलमा २८ लाख ५५ हजार ८२ मेट्रिक टन, आर्थिक वर्ष २०७३/७४ मा एक लाख ८५ हजार  ८ सय ७९ हेक्टर क्षेत्रफलमा २५ लाख ९१ हजार ६ सय ८६ मेट्रिक टन, आर्थिक वर्ष २०७४/७५ मा एक लाख ९५ हजार दुई सय ६८ हेक्टर क्षेत्रफलमा ३० लाख ८८ हजार मेट्रिक टन उत्पादन भएको थियो।

त्यसै गरी, आर्थिक वर्ष २०७५/७६ मा एक लाख ९३ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा ३१ लाख १२ हजार ९ सय ४७ मेट्रिक टन, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ८८ हजार ९८ हेक्टर क्षेत्रफलमा ३१ लाख ३१ हजार ८ सय ३० मेट्रिक टन, आर्थिक वर्ष २०७७/७८ मा एक लाख ९८ हजार ७ सय ८८ क्षेत्रफलमा ३३ लाख २५ हजार दुई ३१ मेट्रिक टन आलु  उत्पादन भएको थियो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप