शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रलाई हराएरै छोड्ने कुशवाहाको उद्घोष

बुधबार, १५ चैत २०७९, १४ : ०८
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । 

माओवादी केन्द्रभित्र भएको अन्तर्घातको कारणले आफूले थोरै मतले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ । 

‘पार्टीभित्र जनतालाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्ति नै गुट र अन्तर्घात भयो । त्यो अन्तर्घातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिनँ,’– उनले भने । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेसी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको भनाई छ । सिके राउतको सम्मानस्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए । 

ck raut and shivachandra kushwaha  (6)

‘सिके राउतजी मधेसको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो । अहिले फेरि बारा–२ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावनाविपरीत सत्ताबिना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौँ । त्यसको सामना मात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीमा प्रवेश गरेको छु,’– उनले भने । 

माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए । जनताको भावनाविपरीत आफूलाई निर्वाचनमा सहभागी हुनबाट वञ्चित गराउन खोजिएको उनले बताए । उनले आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगे पनि जनताको चाहना र आग्रहअनुसार जनमत पार्टीमा प्रवेश गरेको स्पष्ट पारे । 

‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावान्को कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट वञ्चित गर्न खोजेको थियो, जनताको भावना पनि वञ्चित गरिएको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिएँ तर, सो क्षेत्रका जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस् भनेपछि मैले जनताको भावनाअनुरूप जनमत पार्टी रोजेँ,’– उनले भने । 

साथै, अहिलेको लडाई कुनै क्षेत्रको नभएर विचारको भएको उनको दाबी छ । उनले सबै सञ्चारकर्मीलाई यस लडाईमा साथ र सहयोग गर्नका लागि अपिलसमेत गरेका छन् । ‘यो लडाई कुनै क्षेत्रको होइन, विचारको लडाई हो । उपेन्द्रजी जुन विचार लिएर बारा–२ का जनताको भावनाविपरित आउनुभएको छ । जनताले उहाँलाई हराएर पठाउँछन् । हामी हराउँछौं,’–उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप