बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई जिताउन लोसपाले खटायो कमाण्डर

शुक्रबार, २४ चैत २०७९, १६ : ००
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले  जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको सो पार्टीले वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा भने यादवलाई सघाउन चुनावी कमाण्डर खटाएको हो । लोसपाले पार्टीका मधेशप्रदेश अध्यक्ष जितेन्द्र सोनललाई सो क्षेत्रका लागि चुनावी कमाण्डरको रुपमा खटाएको हो ।

आम निर्वाचनमा सप्तरी–२ मा यादवलाई हराउनका लागि तत्कालीन पाँच दलीय गठबन्धनले जेपी ठाकुरलाई उम्मेदवारी दिन लगाइएको थियो । सो निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले बाजी मारेका थिए ।  अहिले भने लोसपाले बारामा हुने उपनिर्वाचनमा उम्मेदवार बनेका अध्यक्ष यादवलाई जिताउन कमाण्डर नै खटाएको हो । सो क्षेत्रमा जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ । जनमत पार्टीका शिवचन्द्र कुशवाहा सो क्षेत्रका उम्मेदवार बनेका छन् । जनमत पार्टीे यादवलाई हराउन सारा शक्ति लगाइरहेको छ । लोसपाका कार्यकारिणी सदस्य समेत रहेका नेता सोनल पनि बाराकै हुन् । बारा–२ मा मतदाताहरुसँग समन्वय गर्नका लागि सोनललाई जिम्मेवारी तोकिएको सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । 

‘आवश्यक परे अध्यक्ष महन्थ ठाकुर र अन्य नेता पनि बारा जान सक्छन् तर चुनाव अवधिसम्मका लागि सबै कुराको जिम्मेवारी नेता सोनललाई दिइएको छ’ उनले भने ।  यसअघि लोसपाले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय यादवलाई पनि सघाएको थियो ।

बारा–२ मा लोसपाका नेता राजेन्द्र महतोले पनि उम्मेदवारी दिने इच्छा देखाएका थिए तर अध्यक्ष ठाकुर उनलाई रोकेर उपेन्द्र यादवलाई सघाउन अघि सरेका छन् । पाँच दलीय गठबन्धनले यादवलाई साझा उम्मेदवार बनाएपछि सोही गठबन्धनबाट छुट्टै उम्मेदवार बनाउन नहुने भन्दै अध्यक्ष ठाकुरले यादवलाई सघाउने निर्णय मात्र गरेनन् सोनललाई सो क्षेत्रका लागि चुनावी कमाण्डर समेत तोकेका छन् ।  यसअघि सो क्षेत्रमा लोसपाले गठबन्धनकै उम्मेदवार शिवचन्द्र कुशवाहालाई सघाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप