शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवचन्द्र कुशवाहा भन्छन्– ‘बारा–२ को आधिकारिक उम्मेदवार म मात्र हुँ’

शनिबार, २५ चैत २०७९, १८ : ११
शनिबार, २५ चैत २०७९

काठमाडौँ  । जनमत पार्टीका तर्फबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले आफू स्थानीय भएका कारण आफ्नो जित्त सुनिश्चित रहेको दावी गरेका छन् ।  आफ्नो प्रतिस्पर्धा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रहेको बताउँदै उनले सप्तरीबाट हारेर बारा आएका कारण यहाँका मतदाताले यादवलाई मत नदिने दावी गरे । ‘उपेन्द्र यादव पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन् तर त्यो गठबन्धन केन्द्रमा मात्र रहेको छ, बारामा छैन’ उनले भने, ‘त्यसैले बारा–२ को आधिकारिक उम्मेदवार म मात्र हो ।’ कुशवाहा माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट सो क्षेत्रबाट चुनाव लड्दैछन् ।

‘माओवादी पार्टी मैले सादाका लागि छाडेर जनमत पार्टीमा लागेको छु, अब सो पार्टीमा कहिल्यै पनि फर्किने छैन’ उनले भने, ‘माओवादी पार्टी खस आर्यको पार्टी हो, त्यहाँ मधेशी नेताको कुनै महत्व छैन, त्यसकारण मैले सो पार्टी छाडे ।’ उनले मधेश मुक्तिका लागि संघर्ष गरिरहेको सिके राउतका साथमा आफू लागेको समेत बताए । ‘सिके राउतले मात्र मधेशको मुक्ति गराउन सक्छन्, त्यहीं भएर उनलाई साथ दिन माओवादी छाडेको हुँ’ उनले भने । जनमत पार्टी नयाँ विचार र सिद्धान्तका आधारमा अगाडि बढेको बताउँदै उनले सो पार्टी किसानका लागि मल कारखाना खोल्ने र युवालाई रोजगारी दिलाउने उद्देश्य लिएर अघि बढेको बताए । त्यही भएर आफूलाई जनमत मन परेको उनले बताए । 

बारामा मतदाताले तपाईलाई अस्वीकार गरिसकेका छन्, पाँच वर्ष त्यसलाई स्वीकार गरेर बस्न सक्नुभएन भन्ने रातोपाटीको प्रश्नमा उनले आफू जनताको ‘डे टु डे’ काममा लागि रहेकोले संसदका लागि आवश्यक भएको आवाज जनताबाट आएपछि चुनावमा उठेको दावी गरे । उनले भने, ‘म कुनै झोले नेता होइन, म जनताको नेता हुँ माओवादी पार्टीबाट ममाथि अन्याय भएकै हो, चुनावदेखि लिएर हरेक मोर्चामा मलाई धोका दिइएको हो, त्यही भएर यो निर्णय लिन बाध्य भएको हुँ, मलाई विश्वास छ बाराका जनताले मलाई जिताउँछन् ।’

यसअघिको चुनावमा (मंसिर ४) कुशवाहा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए । उनलाई जसपाका उम्मेदवार रामसहाय यादवले पराजित गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप