शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सम्पत्ति विवरण

कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

हाइड्रोका मालिक बुद्धिकुमारसँग ५६ हजार ३५० कित्ता शेयर
सोमबार, २७ चैत २०७९, १९ : २२
सोमबार, २७ चैत २०७९

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख भएको सम्पत्ति विवरणमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सम्पत्ति २ वर्षमा खासै बढेको छैन । २०७७ साउन ३२ गते बुझाइएको कार्कीको सम्पत्ति विवरणमा भए अनुसारकै सम्पत्ति विवरण मुख्यमन्त्री भएपछिको विवरणमा पनि उल्लेख छ । 

कार्कीले बुझाएको सम्पत्ति विवरणमा आफ्ना दाजु दीपक कार्की र आफ्नो नाममा झापा गौरादह १ मा कट्ठा १० धुरमा बनेको दुई तल्ले पक्की घर, गौरादह ३ मा ३ कट्ठामा बनेको पक्की घर र टहरा तथा श्रीमती अञ्जना पाण्डेको नाममा ललितपुर महालक्ष्मी नगरपालिका ४ मा १ करोड ४० लाखमा किनेको २३२ र २८६ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेका छन् ।

यस्तै ६ तोला सुन, १० तोला चाँदी देखाइएको विवरणमा नगद नरहेको उल्लेख छ । यस्तै कार्कीले श्रीमती अञ्जना पाण्डे कार्कीको नाममा लिभरपुल एजुकेसन नेटवर्क प्रालि मा २१ लाख ३८ हजार ७ सय, आफ्नै नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र सहिद मेमोरियल अस्पतालमा १ लाख ५० हजार रुपैयाँको शेयर रहेको उल्लेख गरेका छन् । उनले महालक्ष्मी नगरपालिकास्थित घरजग्गा खरिद गर्दा लिएको ९० लाख ऋण अझै देखाएका छन् । अघिल्लो विवरणमा उल्लेख गरेको सभ्भावी सहकारी संस्था लि. नयाँ बानेश्वरको ३ लाख रुपैयाँ ऋण तिरेको देखिएको छ  ।

यस्तै उनीसँग २०१२ मोडलको सेन्ट्रो कार २०७० सालमा २३ लाखमा खरिद गरेको र उक्त कारको लोन चुक्ता भएको उल्लेख छ । यस्तै झापामा गौरादह कृषि तथा पशुपक्षी विकास फर्म ३ लाखमा २०७३ सालमा स्थापना गरेर सञ्चालनमा रहेको पनि उनको विवरणमा उल्लेख छ । 

यस्तै खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूले बुझाएको सम्पत्ति विवरणमा ताप्लेजुङको पाथीभरा याङ्वरक २ मा पैतृक सम्पत्ति, फुङलिङ ४ मा ५ रोपनी ३ आना श्रीमतीको नाममा रहेको र इटहरी ६ मा १६ धुर जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तलबबाट खरिद गरेको उल्लेख गरिएको छ । यस्तै ७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले सम्पत्ति विवरणमा विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता शेयर रहेको उल्लेख गरेका छन् । 

यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले पनि आफ्नो सम्पत्ति विवरणमा झापा बिर्तामोड ७ मा विभिन्न कित्तामा गरेर ३० कट्ठा ५ धुर जग्गा रहेको उल्लेख गरेका छन् । सम्पूर्ण जग्गा पैतृक सम्पत्ति रहेको उनको विवरणमा उल्लेख छ । 

सम्पत्ति विवरणमा उनको ५० तोला सुन र ५ सय तोला चाँदी,  ३० लाखको कार र २ लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको उल्लेख गरेका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले बुझाएको सम्पत्ति विवरण भने लामो रहेको छ । उनले ललितपुर, विराटनगर तथा मोरङको बुढीगंगामा घर तथा जग्गा देखाएका छन् । आचार्यको नाममा ललितपुर सुनाकोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा रहेको र उक्त जग्गामा साढे दुई तले पक्की घर रहेको उल्लेख छ । उक्त सम्पत्ति ३६ लाखमा खरिद गरेको र प्राप्तिको स्रोत व्यवसाय र पैतृक रहेको विवरणमा उल्लेख छ । 

यस्तै विराटनगर महानगरपालिका १ (ख) ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गा मा साढे दुई तले पक्की घर रहेको उल्लेख छ । उक्त घरजग्गा व्यवसाय पैतृक सम्पत्तिबाट १३ लाख ५० हजार मा खरिद गरिएको विवरणमा उल्लेख छ ।

यस्तै मोरङको साबिक हात्तीमुढा गाउँपालिका वडा नम्बर ४ मा व्यावसायिक आम्दानीमार्फत २६३० वर्ग मिटर जग्गा खरिद गरेको, साबिक हात्तीमुढा २ नम्बर वडामा १९४७ वर्ग मिटर जग्गा पैतृक सम्पत्ति मार्फत प्राप्त गरेको विवरणमा उल्लेख छ । 

यस्तै हात्तीमुढाकै २ (क) मा २०३१.७१ वर्ग मिटर जग्गा व्यावसायिक आम्दानीबाट ३ लाखमा खरिद गरेको पनि उल्लेख छ । २० तोला सुन र ५० तोला चाँदी पैतृक सम्पत्तीको रूपमा रहेको उल्लेख गरेका आचार्यले ४५ लाख बैंक मौज्दात रहेको विवरण पेस गरेका छन् । 

यस्तै एनस्याट प्रा.लि. काठमाडौँमा ३३ प्रतिशत शेयर ३० लाखमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौँमा ५० प्रतिशत शेयर ५० लाखमा खरिद गरेको पनि उल्लेख छ । उक्त शेयर हात्तीमुढाको जग्गा विक्री तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट आम्दानी गरेको उल्लेख छ । यस्तै प्रभु बैंक लैनचौर शाखाबाट ५ लाख रुपैयाँ र दुहबी ८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख छ । उनको ४१ लाखमा खरिद गरेको हुण्डाइ क्रेटा रहेको पनि उल्लेख छ । 

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले पनि सम्पत्ति विवरण बुझाएका छन् । उनले बुझाएको सम्पत्ति विवरणमा श्रीमती इन्दिरा कार्कीको नाममा झापा बिर्तामोड ३ मा १ कट्ठा जग्गा, मोरङ सुन्दरहरैंचा १ मा १ विगाहा १० कट्ठा जग्गा रहेको उल्लेख छ । जागिर तथा व्यापारको आम्दानीबाट किनेको उक्त जग्गा किनेको उल्लेख गरिएको विवरणमा मोरङ सुन्दरहरैंचाको जग्गा कृषि फर्म सञ्चालनका लागि सामूहिक रूपमा खरिद गरिएको उल्लेख छ । यद्यपि विवरणमा समूहको नाम उल्लेख छैन । उनले ३ तोला सुन, ५ तोला चाँदी र विभिन्न बैंकमा गरेर १ लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । चापागाईंले अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा १.२५ प्रतिशत शेयर  र अपर सोलुमा पनि ०.४८ प्रतिशत शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

उनले इष्टमित्र र आफन्तजनबाट १ करोड २० लाख रुपैयाँ ऋण लिएको पनि विवरण उल्लेख गरेका छन् । ऋण लिनुको प्रयोजन ‘घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्न’ उल्लेख छ । आफ्नी श्रीमती इन्दिरा कार्कीको नाममा एउटा स्कुटर २ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । 

यस्तै सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको मनग्ये सम्पत्ति देखिएको छ । उनले सार्वजनिक गरेको विवरणमा काठमाडौँ ३२ नम्बर वडामा १३७ वर्ग मिटर जग्गा ४६ लाख ५० हजारमा २०५८ सालमा खरिद गरेको र सोलुखुम्बुको सोलुदुधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२.५० वर्ग मिटर जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख छ । 

३ तोला सुन, १० लाख ७६ हजार नगद बैंक रहेको उल्लेख गरेका राजभण्डारीको विभिन्न कम्पनीमा ५६ हजार ३५० थान शेयर रहेको उल्लेख छ । जसमा सबैभन्दा धेरै सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता र बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनले २० लाख रुपैयाँ ऋण देखाएका छन् । उनको साथमा २८ लाखमा खरिद गरेको टाटा सुमो र २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर रहेको उल्लेख छ । 

स्वास्थ्यमन्त्री निर्मला लिम्बूले पनि सम्पत्ति विवरण बुझाएकी छिन् । उनले ताप्लेजुङ फुङलिङ ६ र ललितपुरको सानो हात्तीवन जग्गामा घर रहेको उल्लेख गरेकी छिन् । यद्यपि घर र जग्गाको विवरण खुलाइएको छैन । यस्तै झापामा पनि जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । सुन चाँदी भने अलैँची व्यवसाय र उद्योग मार्फत भएको आम्दानीले खरिद गरेको उनले जनाएकी छिन् । आफ्नो नाममा एउटा स्कुटर रहेको पनि उनले देखाएकी छिन् । आफ्नो युमा कपडा उद्योग पनि रहेको उनको विवरणमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप