शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सम्पत्ति विवरण

कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

हाइड्रोका मालिक बुद्धिकुमारसँग ५६ हजार ३५० कित्ता शेयर
सोमबार, २७ चैत २०७९, १९ : २२
सोमबार, २७ चैत २०७९

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख भएको सम्पत्ति विवरणमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सम्पत्ति २ वर्षमा खासै बढेको छैन । २०७७ साउन ३२ गते बुझाइएको कार्कीको सम्पत्ति विवरणमा भए अनुसारकै सम्पत्ति विवरण मुख्यमन्त्री भएपछिको विवरणमा पनि उल्लेख छ । 

कार्कीले बुझाएको सम्पत्ति विवरणमा आफ्ना दाजु दीपक कार्की र आफ्नो नाममा झापा गौरादह १ मा कट्ठा १० धुरमा बनेको दुई तल्ले पक्की घर, गौरादह ३ मा ३ कट्ठामा बनेको पक्की घर र टहरा तथा श्रीमती अञ्जना पाण्डेको नाममा ललितपुर महालक्ष्मी नगरपालिका ४ मा १ करोड ४० लाखमा किनेको २३२ र २८६ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेका छन् ।

यस्तै ६ तोला सुन, १० तोला चाँदी देखाइएको विवरणमा नगद नरहेको उल्लेख छ । यस्तै कार्कीले श्रीमती अञ्जना पाण्डे कार्कीको नाममा लिभरपुल एजुकेसन नेटवर्क प्रालि मा २१ लाख ३८ हजार ७ सय, आफ्नै नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र सहिद मेमोरियल अस्पतालमा १ लाख ५० हजार रुपैयाँको शेयर रहेको उल्लेख गरेका छन् । उनले महालक्ष्मी नगरपालिकास्थित घरजग्गा खरिद गर्दा लिएको ९० लाख ऋण अझै देखाएका छन् । अघिल्लो विवरणमा उल्लेख गरेको सभ्भावी सहकारी संस्था लि. नयाँ बानेश्वरको ३ लाख रुपैयाँ ऋण तिरेको देखिएको छ  ।

यस्तै उनीसँग २०१२ मोडलको सेन्ट्रो कार २०७० सालमा २३ लाखमा खरिद गरेको र उक्त कारको लोन चुक्ता भएको उल्लेख छ । यस्तै झापामा गौरादह कृषि तथा पशुपक्षी विकास फर्म ३ लाखमा २०७३ सालमा स्थापना गरेर सञ्चालनमा रहेको पनि उनको विवरणमा उल्लेख छ । 

यस्तै खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूले बुझाएको सम्पत्ति विवरणमा ताप्लेजुङको पाथीभरा याङ्वरक २ मा पैतृक सम्पत्ति, फुङलिङ ४ मा ५ रोपनी ३ आना श्रीमतीको नाममा रहेको र इटहरी ६ मा १६ धुर जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तलबबाट खरिद गरेको उल्लेख गरिएको छ । यस्तै ७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले सम्पत्ति विवरणमा विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता शेयर रहेको उल्लेख गरेका छन् । 

यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले पनि आफ्नो सम्पत्ति विवरणमा झापा बिर्तामोड ७ मा विभिन्न कित्तामा गरेर ३० कट्ठा ५ धुर जग्गा रहेको उल्लेख गरेका छन् । सम्पूर्ण जग्गा पैतृक सम्पत्ति रहेको उनको विवरणमा उल्लेख छ । 

सम्पत्ति विवरणमा उनको ५० तोला सुन र ५ सय तोला चाँदी,  ३० लाखको कार र २ लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको उल्लेख गरेका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले बुझाएको सम्पत्ति विवरण भने लामो रहेको छ । उनले ललितपुर, विराटनगर तथा मोरङको बुढीगंगामा घर तथा जग्गा देखाएका छन् । आचार्यको नाममा ललितपुर सुनाकोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा रहेको र उक्त जग्गामा साढे दुई तले पक्की घर रहेको उल्लेख छ । उक्त सम्पत्ति ३६ लाखमा खरिद गरेको र प्राप्तिको स्रोत व्यवसाय र पैतृक रहेको विवरणमा उल्लेख छ । 

यस्तै विराटनगर महानगरपालिका १ (ख) ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गा मा साढे दुई तले पक्की घर रहेको उल्लेख छ । उक्त घरजग्गा व्यवसाय पैतृक सम्पत्तिबाट १३ लाख ५० हजार मा खरिद गरिएको विवरणमा उल्लेख छ ।

यस्तै मोरङको साबिक हात्तीमुढा गाउँपालिका वडा नम्बर ४ मा व्यावसायिक आम्दानीमार्फत २६३० वर्ग मिटर जग्गा खरिद गरेको, साबिक हात्तीमुढा २ नम्बर वडामा १९४७ वर्ग मिटर जग्गा पैतृक सम्पत्ति मार्फत प्राप्त गरेको विवरणमा उल्लेख छ । 

यस्तै हात्तीमुढाकै २ (क) मा २०३१.७१ वर्ग मिटर जग्गा व्यावसायिक आम्दानीबाट ३ लाखमा खरिद गरेको पनि उल्लेख छ । २० तोला सुन र ५० तोला चाँदी पैतृक सम्पत्तीको रूपमा रहेको उल्लेख गरेका आचार्यले ४५ लाख बैंक मौज्दात रहेको विवरण पेस गरेका छन् । 

यस्तै एनस्याट प्रा.लि. काठमाडौँमा ३३ प्रतिशत शेयर ३० लाखमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौँमा ५० प्रतिशत शेयर ५० लाखमा खरिद गरेको पनि उल्लेख छ । उक्त शेयर हात्तीमुढाको जग्गा विक्री तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट आम्दानी गरेको उल्लेख छ । यस्तै प्रभु बैंक लैनचौर शाखाबाट ५ लाख रुपैयाँ र दुहबी ८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख छ । उनको ४१ लाखमा खरिद गरेको हुण्डाइ क्रेटा रहेको पनि उल्लेख छ । 

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले पनि सम्पत्ति विवरण बुझाएका छन् । उनले बुझाएको सम्पत्ति विवरणमा श्रीमती इन्दिरा कार्कीको नाममा झापा बिर्तामोड ३ मा १ कट्ठा जग्गा, मोरङ सुन्दरहरैंचा १ मा १ विगाहा १० कट्ठा जग्गा रहेको उल्लेख छ । जागिर तथा व्यापारको आम्दानीबाट किनेको उक्त जग्गा किनेको उल्लेख गरिएको विवरणमा मोरङ सुन्दरहरैंचाको जग्गा कृषि फर्म सञ्चालनका लागि सामूहिक रूपमा खरिद गरिएको उल्लेख छ । यद्यपि विवरणमा समूहको नाम उल्लेख छैन । उनले ३ तोला सुन, ५ तोला चाँदी र विभिन्न बैंकमा गरेर १ लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । चापागाईंले अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा १.२५ प्रतिशत शेयर  र अपर सोलुमा पनि ०.४८ प्रतिशत शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

उनले इष्टमित्र र आफन्तजनबाट १ करोड २० लाख रुपैयाँ ऋण लिएको पनि विवरण उल्लेख गरेका छन् । ऋण लिनुको प्रयोजन ‘घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्न’ उल्लेख छ । आफ्नी श्रीमती इन्दिरा कार्कीको नाममा एउटा स्कुटर २ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । 

यस्तै सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको मनग्ये सम्पत्ति देखिएको छ । उनले सार्वजनिक गरेको विवरणमा काठमाडौँ ३२ नम्बर वडामा १३७ वर्ग मिटर जग्गा ४६ लाख ५० हजारमा २०५८ सालमा खरिद गरेको र सोलुखुम्बुको सोलुदुधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२.५० वर्ग मिटर जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख छ । 

३ तोला सुन, १० लाख ७६ हजार नगद बैंक रहेको उल्लेख गरेका राजभण्डारीको विभिन्न कम्पनीमा ५६ हजार ३५० थान शेयर रहेको उल्लेख छ । जसमा सबैभन्दा धेरै सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता र बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनले २० लाख रुपैयाँ ऋण देखाएका छन् । उनको साथमा २८ लाखमा खरिद गरेको टाटा सुमो र २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर रहेको उल्लेख छ । 

स्वास्थ्यमन्त्री निर्मला लिम्बूले पनि सम्पत्ति विवरण बुझाएकी छिन् । उनले ताप्लेजुङ फुङलिङ ६ र ललितपुरको सानो हात्तीवन जग्गामा घर रहेको उल्लेख गरेकी छिन् । यद्यपि घर र जग्गाको विवरण खुलाइएको छैन । यस्तै झापामा पनि जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । सुन चाँदी भने अलैँची व्यवसाय र उद्योग मार्फत भएको आम्दानीले खरिद गरेको उनले जनाएकी छिन् । आफ्नो नाममा एउटा स्कुटर रहेको पनि उनले देखाएकी छिन् । आफ्नो युमा कपडा उद्योग पनि रहेको उनको विवरणमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप