मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कुकुरलाई रक्सीको लत लागेपछि अस्पताल भर्ना

मङ्गलबार, २८ चैत २०७९, १५ : ३८
मङ्गलबार, २८ चैत २०७९

एउटा घरपालुवा कुकुरलाई रक्सीको लत लागेको छ । यो खबर सायद हामीमध्ये धेरैले पहिलो पटक सुनेका छौँ । के कुकुरलाई पनि रक्सीको लत लाग्छ त भनेर धेरैलाई जिज्ञासा पनि होला । कतिलाई ‘रातोपाटीले कस्तो वाहियात समाचार लेख्यो ’ भन्ने पनि लागिरहेको होला तर हाम्रा प्रिय पाठकवर्ग, यो खबर साँचो हो ।

बेलायतको प्लिमाउथमा ल्याब्राडोर रिट्रिभर प्रजातिको कुकुरलाई रक्सीको लत लागेको हो । कुकुरलाई रक्सीको लत लाग्नुको कारण पनि निकै रोचक छ । उनका पूर्व मालिकले आफ्नो रक्सी रात भरी बाहिरै राख्ने भएकोले कुकुरलाई यसको लत लागेको डेली मेलले बताएको छ ।

labrador1दुई वर्षको कोको नामको ल्याब्राडोर क्रसलाई रक्सीको लत लागेपछि एक महिनासम्म अस्पतालमा भर्ना गर्नुपरेको थियो । यसको ज्यान पूरै जोखिममा थियो । प्लिमाउथस्थित वुडसाइड एनिमल वेल्फेयर ट्रस्टका कर्मचारीले मालिकको मृत्यु भएपछि कोको र अर्को कुकुरलाई उद्धार गर्‍यो । तर उनीहरूलाई यी दुई कुकुरको अवस्थाबारे केही थाहा थिएन । यी दुई कुकुरका मालिकले आफू सुत्न जानु अघि रक्सीको खुला बोतल बाहिर नै राख्ने गर्दथे । यसरी छोडिएको रक्सी सधैँ खाएपछि दुई वटै कुकुरलाई रक्सीको लत लाग्यो । लत यतिसम्मको थियो कि अर्को कुकुरको रक्सी छुटाउनका लागि गरिएको उपचारको क्रममा मृत्यु भयो भने कोको आफैँ पनि चार हप्तासम्म अस्पतालको आइसियुमा बस्नुपर्‍यो ।

‘हामी निकै खुसी छौँ कि कोकोको अवस्था खतरामुक्त छ । उसले अब साधारण कुकुरले झैँ व्यवहार गर्न थालेको छ,’ कुकुरको सेल्टर होमका कर्मचारीले ट्विटरमा लेखेका छन् । ‘ऊ अझै पनि एडप्सनको लागि तयार छैन । शारीरिक रूपमा ऊ निको भइरहेको छ तर मानसिक रूपमा ऊ कहिलेकाहीँ अझै पनि विचलित हुन्छ ।’

‘उपचारले पक्कै पनि उसको समग्र स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ,’ कुकुरलाई उद्धार गर्ने संस्थाले भन्यो । ‘यसलाई कसरी रक्सीको लत लाग्यो भनेर सटिक जानकारी छैन । तर एउटा कुरा के हो भने उपचार नपाएको भए कोको जिउँदो हुँदैनथ्यो ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप