बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

मध्यपहाडी लोकमार्ग : डाँडाकाँडामा होटल, होमस्टे र उद्योग (तस्बिरहरू )

बुधबार, २९ चैत २०७९, ०८ : ५४
बुधबार, २९ चैत २०७९

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६५ फागुन २६ मा अनुमोदन गरेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)ले पहाडी डाँडाकाँडाका बस्तीमा परिवर्तन ल्याएको छ । बसाई सर्ने र पहाडका जमिनहरू बाँझो रहने परिपाटी अहिले पनि कायम छ । तर, यही राजमार्गले छोएका कतिपय स्थानमा भने सर्वसाधारणले होटल, होमस्टे र चिया उद्योग चलाएर उन्नत जीवन यापन गरिरहेका छन् ।

त्यतिमात्रै होइन, सडकको पहुँचका कारण त्यहाँ करोडौँको लगानीमा रिसोर्ट र होटलहरु खुल्ने क्रम पनि सुरु भएको छ । यही सडकले भेट्ने ट्याम्के मैयुँ गाउँपालिका वडा नम्बर ४, चखेवामा गोठेसिंह होमस्टे सञ्चालित छ । प्रकाश राईले ३ वर्ष अगाडिदेखि आधिकारिक रूपमा उक्त होमस्टे दर्ता गरेर चलाएका हुन् । उनलाई ग्राहकको खाँचो छैन । उक्त ठाउँ उनको पुर्ख्यौली थलो हो ।

Lokmarga ra homstay (33)

‘यो ठाउँ पहिले वस्तु पाल्ने चौर थियो,’ प्रकाश सुनाउँछन् । उनका हजुरबुबा गोठेसिंहले धेरै वस्तु पालेका थिए । पछिल्लो पटक प्रकाश आफैँ पैसा कमाउन भन्दै अरबतिर गए । तर, पैसा कमाउन सकेनन् । ‘अरबतिर पनि गइयो आइयो, प्लेन मात्रै चढियो, केही गर्न नसकेपछि अहिले यस्तो थालियो,’ उनी भन्छन् ।

Lokmarga ra homstay (32)

उनले अहिले हजुरबुबाकै नामबाट होमस्टे चलाएका हुन् । ‘होमस्टेमा मात्रै लगानी डेढ करोड भयो,’ उनी सुनाउँछन्, ‘सिजनमा त मैले थेग्न पनि सक्दिनँ । हिउँ झरेको समय, चैत–वैशाखको समय र असोज–कार्तिकको समयमा मानिसको चाप धेरै हुन्छ । असोज–कार्तिकमा चाहिँ विदेशी पर्यटकहरू पनि आउँछन् ।’

Lokmarga ra homstay (27)

कुनै विशेष दिनमा त दैनिक ५–६ सयसम्म मानिसको व्यवस्थापन गरेको उनी सुनाउँछन् । सिजन नहुँदा पनि मानिसको आउने जाने क्रम शून्य हुँदैन । दैनिक २५ जनासम्मलाई राति बस्न सक्ने व्यवस्था छ । भारतको सिक्किमतिरबाट पनि मानिस त्यहाँ पुग्छन् । तिब्बतीहरू पनि जान्छन् ।

समस्याचाहिँ त्यहाँ काम गर्ने जनशक्तिको अभाव हो । त्यही भएर ७४ वर्षीय आमा भीमकुमारी राई, श्रीमती समीक्षा राई आफैँ पाहुनाको स्वागतमा खट्ने गरेको प्रकाश सुनाउँछन् ।

Lokmarga ra homstay (29)

मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) बनेपछि नै होमस्टे सञ्चालनमा ल्याएको उनले बताए । कृषि पेसा नै गर्छु भन्ने सोचेका उनलाई सडक बनेपछि विकल्प खुलेको हो । सडक बनेसँगै पाहुनाको रूपमा मानिसहरू आउने जाने गर्न थाले । त्यसपछि उनले होमस्टे नै चलाउने सोचेर लगानी गरे ।

सिजनमा महिनामा दुई लाखसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । उनको बाहेक त्यस क्षेत्रमा सामुदायिक होमस्टे र होटल पनि छन् । उनकै होमस्टे नजिकै कम्फरटेबल होमस्टे पनि छ । त्यहाँ पनि दर्जनभन्दा धेरै मानिस अटाउन सक्छन् ।

Lokmarga ra homstay (38)

ट्याम्के मैंयु ४ नम्बर वडा, चखेवामै नमूना होटल एण्ड लज पनि सञ्चालित छ । त्यहाँ होटल खोलेको १३ वर्ष भयो । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि भने उक्त लजमा मान्छेको आउजाउ कुनै दिन टुटेको छैन । होटल व्यवसायबाटै आफ्नो परिवार पालिएको होटल सञ्चालक सुशीला राई बताउँछिन् ।

होटल र होमस्टेमात्रै होइन, सो स्थानमा झापाका रञ्जित गिरीले रिसोर्ट एण्ड फन पार्क निर्माण गरिरहेका छन् । १ करोडको लागत अनुमानमा निर्माण भइरहेको रिसोर्टको उद्घाटन नयाँ वर्षको वैशाख महिनाभरमा गरिसक्ने उनको तयारी छ । उनै गिरीले त्यस क्षेत्रमा चिया उद्योग पनि खोलेका छन् । भोजपुरको चिया उद्योगको इतिहास नै आफ्नो उद्योगबाट सुरु हुने उनको दाबी छ ।

Lokmarga ra homstay (31)

२ करोडभन्दा बढी चिया क्षेत्रमा लगानी गरिसकेका उनले केही समयपछि पानी उद्योग पनि खोल्ने योजना बनाएका छन् । ‘हामीले चियामा २ करोडजति लगानी गरेका छौँ । ८० लाखदेखि १ करोडसम्मको रिसोर्ट केही दिनमा सञ्चालनमा आउँदैछ’, उनले भने, ‘अर्को टार्गेट भनेको स्प्रिङ वाटरको हो । झरनाको पानीलाई ब्राण्डिङ गरेर काठमाडौँ र विदेश निर्यात गर्ने मेरो सपना छ ।’

Lokmarga ra homstay (39)

यो सबै योजना पुष्पलाल मार्गकै कारण पूरा हुने तरखरमा रहेको उनको भनाइ छ । मध्यपहाडी लोकमार्ग नेपाल पूर्वदेखि पश्चिमसम्मका मध्य पहाडी जिल्ला जोड्ने राजमार्ग हो । यो राजमार्ग पाँचथरको चियोभञ्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटसम्म १८७९ किलोमिटर लामो छ ।

नेपालका पहाडी जिल्लाको आवागमन सहज गरी त्यहाँको विकासमा तीव्रता ल्याउने उद्देश्यले मध्यपहाडी लोकमार्गको अवधारणा ल्याइएको हो । यो राजमार्ग निर्माणसँगै त्यस क्षेत्रको व्यापार व्यवसाय समुन्नतको अवसर मिल्ने अपेक्षा सरकारको छ । यही राजमार्गका विभिन्न १० स्थानमा आधुनिक १० सहरको विकास गर्ने सरकारको भावी योजना छ ।

Lokmarga ra homstay (2)Lokmarga ra homstay (3)Lokmarga ra homstay (6)Lokmarga ra homstay (7)Lokmarga ra homstay (8)Lokmarga ra homstay (14)Lokmarga ra homstay (16)Lokmarga ra homstay (17)Lokmarga ra homstay (21)Lokmarga ra homstay (23)Lokmarga ra homstay (24)Lokmarga ra homstay (36)Lokmarga ra homstay (37)Lokmarga ra homstay (40)Lokmarga ra homstay (41)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप