शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

देशभर डढेलो : काठमाडौँ उपत्यकामा अझै केही दिन प्रदूषण

आइतबार, ०३ वैशाख २०८०, १३ : ३०
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा डढेलो लाग्दा काठमाडौँ उपत्यकासहित देशैभर प्रदूषण बढेको छ । सुख्खा मौसम सुरु भएसँगै डढेलो लाग्दा विश्वका सबै देशलाई उछिन्दै काठमाडौँ सबैभन्दा बढी प्रदूषित सहरमा सूचीकृत भएको छ ।

विश्वभरका सहरको वायु प्रदूषणको मात्रा नाप्ने आइक्युययरका अनुसार आइतबार सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा काठमाडौँ पुगेको हो । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको आकलन गरेको छ । बादल लागे पनि पानी पर्ने सम्भावना नभएकाले प्रदूषणले मानव स्वास्थ्यलाई असर पार्न सक्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘डढेलो लाग्दा आकाशको तल्लो तहमा तुवाँलोसहित धुवाँ छ, त्यो भन्दामाथि बादल लागेको छ’ मानन्धरले भनिन्, ‘अहिले तत्काल पानी पर्ने वा ठुलो हावाहुरी चल्ने अवस्था छैन । यो प्रदूषण अझै कायम हुने देखिन्छ ।’ प्रदूषणले गर्दा हवाई उड्डयन क्षेत्रमा समेत असर पारेको मानन्धरले बताइन् ।

पछिल्लो समय लुम्बिनी प्रदेशसहित गण्डकी, बाग्मती, मधेस र कोसी प्रदेश क्षेत्रमा डढेलो लाग्दा प्रदूषण भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले बताए । देशका पूर्वी क्षेत्रमा ४ सयभन्दा बढी क्षेत्रमा आगलागी भइरहेको शर्माले बताए । ‘यो वर्षको हिउँदमा पानी परेन । अलि सुख्खा भयो । सुख्खा हुँदा छिट्टै आगोले टिप्दा व्यापकै भइहाल्छ’ शर्माले भने, ‘सरकारले नियन्त्रण गर्न नसक्दा ४ सयभन्दा बढी क्षेत्रमा डढेलो लागेको छ । आजभन्दा केही दिनअघि ६ सयभन्दा बढी क्षेत्रमा आगो लागेको थियो । पछिल्लो चरणमा कम डढेलो लागेको छ ।’ सानो सङ्ख्यामा आगो लाग्दा खास्सै समस्या नभए पनि व्यापक मात्रामा डढेलो लाग्दा अत्यन्तै प्रदूषण भएको शर्माले बताए ।

डढेलोबाट उत्पन्न प्रदूषणले दीर्घ रोगीलाई समस्या गराउन सक्ने भएकाले सजग रहन शर्माले आग्रह गरे । ‘प्रदूषणले पोखरा, भरतपुर भैरहवा सिमरा क्षेत्रमा उडान प्रभावित पारेको भन्ने सुनियो । डढेलो व्यापक मात्रामा लागि रहेकाले रोकिने अवस्था छैन’ शर्माले भने, ‘यस्तो अवस्थामा दीर्घ रोगीजस्तै दम, मुटु, फोक्सो, मिर्गौला र छालाका बिरामी सजग हुनुपर्छ । सकेसम्म बाहिर ननिस्किौं । यदि निस्किए पनि पुरा लुगा लगाएर मास्कको प्रयोग गरौँ ।’

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा पिएम २ दशमलव १० र न्यूनतम २५ माईक्र्रोग्राम हुनु पर्ने व्यवस्था छ भने नेपालमा ४० माईक्र्रोग्राम हुनुपर्ने व्यवस्था छ । तर, उपत्यकासहित तराईमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा सय पिएम प्रदूषण भएको छ । आँखाले देख्न नसक्ने स–साना धुलोका कणहरू अक्सिजनको माध्यमबाट फोक्सो हुँदै रक्त कोषसम्म पुग्ने भएकाले अत्यन्तै हानिकारक मानिन्छ । आज काठमाडौँको रत्नपार्कमा १४३ पिएम, कीर्तिपुर १५२ पिएम, भैसेपाटी १६५ पिएम, खुमलटार १८१ पिएम छ । जुन विश्व स्वास्थ्य संगठनले तोको भन्दा तेब्बर भन्दा बढी प्रदूषण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप