शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रदूषण बढेपछि विज्ञको सुझाव–मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ

आइतबार, ०३ वैशाख २०८०, १४ : ५१
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ विश्वकै बढी प्रदूषण हुने सहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । 

हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौँलाई संसारकै प्रदूषित सहरको सूचिको पहिलो स्थानमा राखेको हो । 

शनिवार साँझबाट काठमाडौँ संसारमा नै बढी प्रदूषण भएको सहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ । वायु प्रदूषणहरू बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ । पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तर प्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौँसहित नेपालका विभिन्न सहरहरूमा परेको विज्ञहरूले बताएका छन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले बागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौँ प्रदूषित सहरमा पहिलो नम्बरमा परेको बताए ।   उनले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताए । विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदूषण बढेको बताए ।  

आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएपनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने बताए । उनले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदूषण काठमाडौँमा रहेको उल्लेख गरे ।  

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदूषणबाट बच्नका लागि सरकारले आम नागरिकहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए । उनले केही दिनको लागि धुवाँ निकाल्ने सवारी साधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे । उनले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताए । वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरू बढ्ने उनले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप