आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

आमा भनेकै आमा हुन्...

बिहीबार, ०७ वैशाख २०८०, १२ : २३
बिहीबार, ०७ वैशाख २०८०

एक युवक युवतीसँगको प्रेममा थियो । युवती दुष्ट स्वभावकी थिइन् । एक दिन ती युवतीले युवकसँग केही चिज माग्दै भन्छिन्, ‘तिमीले मलाई केही चिज दिन सक्छौ ?’ युवकले ‘के हो भन न’ भन्दा मलाई तिम्रो आमाको मुटु ल्याइदिनू भन्छिन् । 

प्रेममा अन्धो भएको युवकले आमाको हत्या गर्छ । आमाको मुटु बोकेर घरबाट निस्कन्छ । घरको ढोकामा ठक्कर लागेर युवक लड्छ । त्यति बेला आमाको मुटुले सोध्छ– ‘बाबु कतै तिमीलाई चोट त लागेन ?’ 

पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा बुधवार कवि तीर्थ श्रेष्ठले सुनाएको कथा हो यो । सन्दर्भ थियो आमाको । सञ्चारकर्मी सञ्जयकुमार मल्ल लिखित ‘आमा भनेको आमा हुन्...’ शीर्षक गीतको म्युजिक भिडिओ सार्वजनिक समारोहमा कवि श्रेष्ठले उक्त कथा सुनाएका हुन् । 

सानै उमेरमा आमा गुमाउनुको पीडा भुलाउन आफूले पनि आमा शीर्षक कविता लेखेको श्रेष्ठले सम्झिए । 

उनी त्यतिमै रोकिएनन्, ‘आमा बन्न साह्रै असजिलो छ । हामी सबैले आमा भएको देखेका छौँ । तर साँच्चीकै आमाको सम्मान गर्न सकेका छौँ कि छैनौँ ? हामी सबैजना एउटा असल सन्तान बन्न सकौँ सबैलाई शुभकामना ।’ 

गीतकार सञ्जय मल्ल पेसाले पत्रकार हुन् । तर साहित्य आफ्नो रुचिको विषय भएको उनले बताए । मल्लले लकडाउनको समयमा ‘फेम’ नामक छोटो फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । 

‘आमाको दुःख र अघात मायालाई महसुस गर्न सकिँदैन । जसले आमाको दुःखलाई बुझेको हुँदैन, उसले जीवन चिनेको हुँदैन,’ कार्यक्रममा बोल्दै सर्जक मल्लले भने, ‘बिहीबार आमाको मुख हेर्ने दिन धेरैले आमाका लागि उपहारको जोरजाम पनि गर्दै हुनुहुन्छ होला । तर आमालाई अहिले घडीको भन्दा पनि सन्तानको समयको आवश्यकता छ ।’ 

जीवनमा आमाबुवालाई खुसी दिन सकिएन भने त्यो जीवनको के अर्थ ? सर्जक मल्ल भावुक देखिए ।  ‘म पनि यस्तै कुराको खोजीमा सहर झरेको मान्छे हुँ । यस कारण आज पनि त्यो कुराले पिरोलिरहन्छ । सायद मलाई थुप्रै कुराले बिसन्चो बनाउँछ होला । जति टाढा भए पनि आमाको माया निकै गाढा हुन्छ ।’ गायिका हरिदेवी कोइरालाले आमाको महिमा अपरम्पार रहेको बताइन् । 

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आमा गीत गीत मात्र नभएर अहिलेको वास्तविक जीवन भएको सुनाए । ‘आमा औंसीका दिन हामी बढ्ता भावुक हुन्छौँ । सञ्जालभरि भोलि आमाको तस्बिर देखिन्छन् । तर आमा औैँसीका दिन देखिएका फोटा वृद्धाश्रममा देख्न नपरोस्,’ उनले भने, ‘आमा औँसीमा एक प्याकेट मिठाई र फलफूल र केही रुपैयाँ मात्र हैन । संवेदनाको असीम अनुकम्पा हो । प्रत्येक आमाले बगाएका आँसुले मूल्य पाउनेछ । प्रत्येक आमाले सम्झने पहिलो गाँस सन्तान हो ।’ 

आमा गीतमा स्वर भरेका विनोद बानियाँले आमाको सम्मानका लागि गीत तयार गरेको सुनाए । उनले भने, ‘आज मन भारी भएको छ । कहीँकतै आमाहरूको मन दुखाएको भए । क्षमा माग्न चाहन्छु ।’ 

कार्यक्रमको अध्यक्षता म्युजिक भिडियो निर्देश नेत्र गुरुङले गरेका थिए । कार्यक्रममा सञ्जय र विनोदकी आमाद्वय चिजमाया मल्ल र शान्ति बानियाँलाई सम्मान गरिएको थियो । उनीहरूले भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा मुख्य भूमिकामा देखिएकी खिमकुमारी सुवेदीलाई पनि सम्मान गरिएयो । कार्यक्रम पत्रकार अमृत सुवेदीले सञ्चालन गरेका थिए । ‘मेरो आमा र सम्पूर्ण आमाहरूलाई समर्पण गर्न चाहन्छु । यो गीत खासमा मेरो कविता हो । सन् २०१५ मा आमा औँसीको दिन आमालाई समर्पण गरेर यो कविता लेखेको थिएँ,’ मल्लले भने, ‘आजको समाजको यथार्थ कविता पनि हो । मेरो आमा अनि सबैको आमाले भोगेको सपना हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप